काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
करिब ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उनले उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे । उनले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गरे ।
सचिव पौडेलले भने, ‘इजरायल र इरानबीच भीषण लडाईं भइरहेको छ । ७ हजार भन्दा बढी नेपालीहरु इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरु रहेका छन् । उहाँहरुको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल भइरहेको छ ? उहाँहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’
उनले बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गरे ।