२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

रास्वपालाई भोट हालेर गल्ती गरिएछ भन्ने जनताले बुझ्न थालेका छन् : प्रचण्ड

Nada
२०८३ कार्तिक १६ गते १२:५१
Shares
रास्वपालाई भोट हालेर गल्ती गरिएछ भन्ने जनताले बुझ्न थालेका छन् : प्रचण्ड

बर्दिबास : नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गर्ने जनताले आफूहरूले गलत निर्णय गरेको महसुस गर्न थालेको टिप्पणी गरेका छन् ।

महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार अलोकतान्त्रिक ढङ्गले अघि बढिरहेको आरोप लगाए ।

उनले आम नागरिकले समेत सरकारको काम गर्ने शैली बुझ्न थालेको दाबी गरे । बौद्धिक वर्गले सरकारप्रतिको धारणा बनाइसकेको उल्लेख गर्दै गाउँगाउँका नागरिकलाई पनि सरकारका गतिविधिबारे सचेत गराउन बाँकी रहेको बताए ।

प्रचण्डले भने, “आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन् । बौद्धिक समुदाय त स्पष्ट भइसकेको छ । नेपालका बुद्धिजीवीहरूले हावामा भोट हालिएछ, हुरीबतास मात्रै रहेछ भन्ने बुझिसकेका छन् । तर गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम हामी गर्छौँ ।”

उनले पार्टीले सञ्चालन गर्ने जागरण अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्ने बताए । सरकारविरुद्ध आवश्यकताअनुसार आन्दोलनमा उत्रिने तयारीसमेत भइरहेको उनको भनाइ थियो ।

त्यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूसँग सघन छलफल भइरहेको उनले जानकारी दिए। यस विषयमा चाँडै सहमति र निष्कर्षमा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

सम्बन्धित खबर