काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधका बीच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् ।
उनले संसदमा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताए । उनले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताए ।
उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गरे । सांसद शाहीले आन्दोलनका बीच संसद् चलाउनु संसदीय अभ्यास नभएको बताउँदै यो दादागिरी भएकाले दादागिरी बन्द गर्न आग्रह गरे ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आइतबारको प्रतिनिधिसभामा पनि रास्वपाका सांसदहरुले नाराबाजी गरिरहेका छन् । रास्वपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडी बढाएका छन् ।