काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र 'हेल्थ याद आयो'ले स्वास्थ्य सेवा आदान प्रदानमा सहकार्य गरेका छन् । अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छे र हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत विमल बरालले उक्त सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा चिकित्सा उपचार र स्वास्थ्य सेवाका साथै विश्वस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हेल्थ याद आयोले नेपालमा डिजिटिल प्लेटफर्ममार्फत विशेषज्ञ परामर्श तथा घरबाटै उपचार खोजिरहेका सर्वासाधारणलाई सहज पहुँचको व्यवस्था गर्दछ ।
सम्झौता पत्र अनुसार हेल्थ याद आयोमार्फत नेपालमा उपचारका लागि आउने विदेशी व्यक्तिहरुलाई ग्राण्डी अस्पतालमा सर्वसुलभ ढंगबाट उपचार प्रदान गरिने छ । कार्यक्रममा अस्पतालका निर्देशक डा. विजुक्छेले नेपालमा मेडिकल टुरिजम प्रवर्द्धन गर्न यो सहकार्यले उत्साहा जगाएको बताए । नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रवेश गराउन यो सम्झौतापत्र सशक्त प्रयास भएको हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी गराए ।
नेपालमा रहेका आफन्तजनलाई विदेशबाट नै हेल्थ याद आयोमार्फत ग्राण्डी अस्पतालमा ओपिडी, बिरामी भर्ना, वेलनेश प्याकेज तथा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।
हेल्थ याद आयोको एपमार्फत प्रयोगकर्ताले आफूले चाहेको अस्पताल वा चिकित्सक छनोट गर्न सक्ने सुविधा पाउँछन् । टेलिमेडिसिन सेवा, डाक्टरसँग राय परामर्श, डायग्नोस्टिक सेवा, मेडिकल रिपोर्ट ट्र्याकिङ, फार्मेसी सेवा र घरमै औषधि पुर्याउने व्यवस्था यसमा उपलब्ध छ । बिरामीको सुविधाका लागि रक्त आपूर्ति तथा एम्बुलेन्स सेवासमेत समावेश गरिएको छ । यो एपले बिरामीको सम्पूर्ण उपचार प्रक्रियालाई एउटै डिजिटल छातामुनि ल्याएको छ, जसले गर्दा अब अस्पताल पुग्नुपूर्व नै धेरै कुरा निश्चित गरी पूर्वतयारीका साथ अगाडि बढ्न सकिने अस्पतालले जनाएको छ ।
कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिफ अपरेटिङ अफिसर कर्णेल अमृत खन्ना, सहायक महाप्रबन्धक अर्चना प्रधान र हेल्थ याद आयोको तर्फबाट प्रबन्ध निर्देशक प्रज्वल चुके, डिजिटल हेल्थ तथा टेलिमेडिसन निर्देशक अनिश ढोडारीको उपस्थिति रहेको थियो ।
दुई वर्षअघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा सुरु गरिएको हेल्थ याद आयोका संस्थापक प्रबन्ध निर्देशक मोबाइल हेल्थ एपका परिकल्पनाकार कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोबाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याब परीक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसँग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रबन्ध निर्देशक चुकेले बताए ।
चुकेका अनुसार बिरामीले उपचारको योजना बनाउन सकून् भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुबारे पूर्व जानकारी यसमार्फत् पाउनेछन् । त्यति मात्र होइन, विदेश जाने बिरामीका लागि आवास व्यवस्थापन, यात्राको समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।
‘देशभित्र होस् या बाहिर जानुपर्ने परिस्थितिमा नै किन नहोस्, हरेक बिरामीले हेल्थ याद आयोलाई सम्झन सक्नुहुन्छ । हामी उपचारको प्रक्रियालाई एकदमै सहज र छरितो बनाउन सघाउँछौं,’ इन्जीनियर चुकेले विश्वास दिलाए ।
प्रबन्ध निर्देशक चुके र कार्यकारी अधिकृत विमल बरालको नेतृत्वमा सञ्चालित यो प्लेटफर्मको उद्देश्य केबल एउटा एप उपलब्ध गराउनु मात्र नभइ आमनागरिकलाई आफ्नो स्वास्थ्यको विषयमा निर्णय लिन क्षमतावान र सशक्त बनाउनु पनि हो । ‘हेल्थ याद आयो’ भन्नासाथ अब झन्झट, लाइन, टोकन, फाराम भन्ने सम्झना होइन, सहज, छरितो र विश्वासिलो सेवा प्राप्तिको अनुभूति हुने चुकेले बताए ।
स्वास्थ्यप्रति सचेत नागरिक, सजिलो सेवा र समयको बचत, यी तीन कुरा हेल्थ याद आयोको मूलमन्त्र बन्न पुगेको बरालले बताए । उनका अनुसार हेल्थ याद आयो नेपालको स्वास्थ्य क्षेत्रको वर्तमान समस्यालाई बुझ्दै, भविष्यको समाधानको दिशामा अघि बढेको एउटा डिजिटल रुपान्तरण हो । ‘हेल्थ याद आयो अब केवल विरामीले स्वास्थ्य सेवा लिन प्रयोग हुने एप मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रवेश गराउने एउटा सशक्त प्रयास पनि हो,’ बरालको दृढ विश्वास छ ।