२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

पहुँचवाला चौथाइवाले, २४ घण्टामै सके ‘हेभिवेट’ भेट

दिवाकर अधिकारी
२०८२ वैशाख १९ गते ०६:३५
पहुँचवाला चौथाइवाले, २४ घण्टामै सके ‘हेभिवेट’ भेट

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले बुधबार काठमाडौं ओर्लिए । बिहीबारसम्म उनले नेपालका शीर्ष राजनीतिक नेतृत्वसँग भेटघाट सकेका छन् ।

२४ घण्टाभित्रै उनले काठमाडौंमा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ३ पूर्वप्रधानमन्त्रीसँग भलाकुसारी गरे । यति मात्र होइन, प्रमुख ३ राजनीतिक दलका दोस्रो तहका नेताहरूले समेत चौथाइवालेसँग भेटवार्ता गरे । 

चौथाइवालेले बुधबार नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेट गरेका थिए । देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । गृहमन्त्री लेखकलाई भेट्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । 

बिहीबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न दलका नेताहरूसँग भेटघाट गरेका हुन् । 

प्रचण्डलाई भेट्न चौथाइवाले उनकै निवास खुमलटार पुगेका थिए । चौथाईवालेले बिहीबार नै नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट गरे । अध्यक्ष नेपाललाई भेट्न चौथाइवाले नेपाल निवास कोटेश्वर पुगेका थिए ।

चौथाइवालेले नेपाली कांग्रेसका नेताहरू डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता उदयशम्शेर जबरासँग पनि भेटे । चौथाइवालेले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग पनि भेट गरेका छन् । 

शेखर र गगन थापासँग भाजपाका विदेश विभाग प्रमुखले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री ओली र चौथाइवालेबीच भएको भेटमा २ देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको छ । 

गृहमन्त्री लेखकको सचिवालयका अनुसार गृहमन्त्री लेखकसँगको भेटमा चौथाइवालेले नेपाल–भारत सम्बन्धबारे कुराकानी भएको थियो । त्यस क्रममा चौथाइवालेले २ देशको सम्बन्ध दृढ रहेको र यसलाई कुनै विषयले असर नपर्ने बताएका थिए ।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार चौथाइवालेले अगाडि भनेका छन्, ‘नेपाल–भारतबीचको सम्बन्ध दृढ छ । कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन ।’

चौथाइवालेले २ देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास र प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

चौथाइवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने पनि बताएका छन् । 

चौथाइवाले र नेपालका नेताहरूबीचको भेटमा भारतको जम्मु–कश्मीरमा भएको आक्रमणको विषयमा कुराकानी भएको छ । उक्त घटनाको नेपाली नेताहरूले निन्दा गरेका छन् । 

चौथाइवालेसँग भेटेका कांग्रेस नेता उदयशम्शेर जबरा नेपाल र भारतबीच रहेको सम्बन्धको निरन्तरताकै रूपमा उक्त भेट भएको बताउँछन् । उनी भन्छन्, ‘नेपाल र भारतका बीचमा सदिऔंदखि गहिरो सम्बन्ध छ । यही सम्बन्धअन्तर्गत दुवै देशका नेताहरू आउजाउ गरिरहेका हुन्छन् । चौथाइवालेको नेपाल भ्रमण पनि त्यसकै निरन्तरता हो ।’

ADV

सम्बन्धित खबर