काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले ‘मध्य–पहाडी लोकमार्ग अभियान’ २ जेठदेखि सुरु गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हालै सम्पन्न भएको हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ को समीक्षा गर्दै मध्य–पहाडी लोकमार्ग अभियानको मिति तय गरेको हो ।
अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा ठोस निर्णय नभइसकेको तथा विस्तृत कार्यक्रमलाई मूर्तरूप दिन अर्को बैठकले गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ ।
बैठकले ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको र उक्त अभियान माओवादीको मात्रै नभएर सम्पूर्ण राष्ट्रकै अभियान बनेको निष्कर्ष निकालेको छ ।
त्यस्तै, बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको बताइएको छ ।
सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष पार्टीले निकालेको छ ।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।