काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
काठमाडौंमा जारी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका पारेका हुन् । उनले एकीकृत समाजवादीको निम्ति जनताको मतको कमी नरहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘अझै म भन्छु, हाम्रा साथीहरु लाखौंको संख्यामा सहकारी संगठनमा आबद्ध छन् । एनजीओ, आइएनजीओमा संलग्न छन् । तिनीहरूको लाखौं भोट यो पार्टीमा ल्याउनका लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौं । हामीसँग जनताको मतको कमी छैन ।’
अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उनको भनाइ थियो ।
अध्यक्षले नेपालले अगाडि भने, ‘अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालीकोटको रास्कोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौंको जुलुस कार्यक्रममा सहभागिता देखें । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौं, हजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो। अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ ।’