२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

शितगंगा–शिवराज सीमा विवाद : लाखौं रुपैयाँ राजस्व तिरेका निर्माण व्यवसायी संकटमा

मध्यान्ह
२०८२ वैशाख २१ गते २२:१६
शितगंगा–शिवराज सीमा विवाद : लाखौं रुपैयाँ राजस्व तिरेका निर्माण व्यवसायी संकटमा

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाबीच सीमा विवाद भएपछि  नदीजन्य पदार्थ निकासीमा समस्या देखिएको छ ।

सीमाका कारण सुकबेल खोला चोरखोलाबाट  नदीजन्य पदार्थ निकासीमा समस्या देखिएपछि यो विवाद प्रदेश सरकारसम्म पुगेको थियो ।  

उक्त विवाद समाधानका निम्ति दुबै जिल्लाका समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहित सरोकारवालाहरूको उपस्थितिमा  आइतवार कपिलवस्तु समन्वय समितिका प्रमुखको कार्यकक्षमा छलफल भएपनि निकास निस्कन सकेन  ।

बैठकमा  सहभागी भइ बीचमै असहमति जनाइ पालिका फर्किएका शिवराज नगरपालिकाका  नगरप्रमुख अजय थापाले  मध्यान्हसँग कुरा गर्दै दुई जिल्लाका डिभिजन  वन कार्यालयले सीमाना स्पष्ट नगरेकोले समस्या उत्पन्न भएको बताए ।

अर्घाखाँचीलाई काम गर्न दिने शिवराजलाई नदिने खालको वनका कर्मचारीले काम गरेको र मुख्यमन्त्रीबाट समेत पक्षपात भएको उनले बताए  ।  

उनले शीतगंगा नगरपालिकाले सीमाना मिचेर ढुंगा गिट्टी निकाल्ने टेन्डर लगाएको  र अहिले शिवराजलाई अनावश्यक दोष दिएको बताउँदै कपिलवस्तु हुँदै ढुंगा  गिट्टी लैजान नदिने चेतावनी दिए ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले  सुकबेल खोला र चोरखोलामा  सीमा विवाद रहेको र यसको समधानका लागि कपिलवस्तुमा बैठक बसेर समाधानका लागि पहल गरिएको बताउँदै नदीजन्य पदार्थ निकासीमा कसैले अवरोध गर्न नमिल्ने बताए । 

शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले सुकबेल खोलामा आफ्नो पालिकाले ठेक्का लगाइ सकेकाले निर्माण व्यवसायीले ठेक्का बापतको कबोल रकम सरकारको खातामा दाखिला गरेकोले उनीहरु समेत समस्यामा परेको बताए  ।

शितगंगा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले भने, ‘विगतदेखि नै हामिले नै ठेक्का लगाउँदै आएका  थियौं । विवाद थिएन, हाम्रो क्षेत्रमा ठेक्का लगाउन हामिले पाउनुपर्छ ।’

बैठकमा सहभागी अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख  जीवनारायण कोईरालाले  शिवराज नगरपालिकाले अनावश्यक विवाद निकालेर अर्घाखाँचीलाई दुःख दिएको बताए ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले नियम कानुन अनुसार स्थानीय सरकार चल्नुपर्ने बताए । 

डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले माथिल्लो क्षेत्रमा शितगंगाले ठेक्का लगाइरहेको तर डिभिजन वन कार्यालयले कपिलवस्तुलाई कुनै कुरामा समस्या नपारेको  बताए । 

डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले  सुकबेल खोलामा विवाद रहेको उल्लेख गर्दै सीमा विवादका सवालमा वन कार्यालयमार्फत कुनै कार्य गर्ने क्षेत्राधिकार नभएको बताए । 

ADV

सम्बन्धित खबर