३ दिने काठमाडौं बसाइ टुंग्याउँदै भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वदेश फर्किएका छन् । उनी काठमाडौं हुँदा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसँग उच्च रफ्तारमा भेटवार्ता गरे । छोटो बसाइमा चौथाइवालेले नेपाली कांग्रेसकै मात्र ८ जना नेतासँग भेटवार्ता गरेका थिए । सभापति शेरबहादुुर देउवा, महामन्त्री गगन थापा, संस्थापनइतर नेता डा. शेखर कोइराला, परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रवक्ता डा. प्रकाशशरण महतदेखि केन्द्रीय सदस्य उदयशम्शेर राणासमेतलाई उनले भेटे । प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित संसद्का साना दलका प्रमुखहरूलाई पनि भेटे । भेटपछि नेताहरूले चौथाइवालेको भ्रमण पाकिस्तानसँग बढ्दो तनाव र नेपालमा राजावादी गतिविधिमा केन्द्रित रहेको बताएका छन् ।
चौथाइवालेको काठमाडौं भ्रमणबारे सत्ता र विपक्षी नेताहरूको साझा निष्कर्ष देखिन्छ । कश्मीरमा १ नेपालीसहित २७ पर्यटकको ज्यान लिएको आतंकवादी हमलाविरुद्ध नेपालको समर्थन जुटाउन आएका चौथाइवालेले नेपालमा भइरहेको राजावादी गतिविधिमा भारतको साथ नहरने पनि विश्वास दिलाएको नेताहरूको साझा प्रस्टोक्ति छ । तर, सँगसँगै अर्को निष्कर्ष पनि नेताहरूले लुकाएका छैनन् । विशेषगरी मुख्य सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले चौथाइवालेको भ्रमण नेपालको आन्तरिक राजनीतिसँग जोडिएको सन्देश दिइरहेका छन् । केही दिनअघिसम्म ‘आवश्यक परे सरकारबाट बाहिरिनुपर्ने’जस्ता अभिव्यक्ति दिन थालेका कांग्रेस संस्थापनइतर नेताहरू अहिले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउन थालेका छन् ।
प्रधानमन्त्री ओलीले पनि चौथाइवालेको काठमाडौं भ्रमण र कांग्रेस सभापति देउवा बैंककबाट फर्किएपछि राजनीतिक परिस्थिति बदलिएको ब्रिफिङ निकटस्थहरूसँग गरेका छन् । कांग्रेस संस्थापनइतरकै भाषा संभवतः विपक्षी नेताहरूले पनि चाँडै प्रकट गर्न सक्ने टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ । सत्तारूढ शक्ति र राजनीतिक स्थायित्व चाहनेहरूका निम्ति बदलिएको परिस्थिति सुखद् नै होला । राजनीतिक स्थायित्व मुलुककै निम्ति पनि हितकर होला । तर, छिमेकी देशको नेताको भ्रमण अथवा बाह्य शक्तिको समर्थनलाई आधार मानेर यस्तो राजनीतिक परिस्थितिको निर्माण सार्वभौम मुलुकका निम्ति शुभसंकेत होइन । सार्वभौम जनताका प्रतिनिधिहरूकै विवेकमा आधारित राजनीतिले देशको नेतृत्व गर्नुपर्छ । यसको अर्थ छिमेक र छिमेकी शक्तिविरुद्ध तिक्ततापूर्ण सम्बन्ध स्थापित गर्नुपर्छ भन्नेचाहिँ होइन ।