२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

भारतमाथि अमेरिकी भन्सार नेपाललाई अवसर, लगानीका लागि नेपाल आउन थाले भारतीय व्यवसायी

shivam cement
छबि सापकोटा
२०८२ भदौ २० गते ०६:३०
भारतमाथि अमेरिकी भन्सार नेपाललाई अवसर, लगानीका लागि नेपाल आउन थाले भारतीय व्यवसायी

काठमाडौं : अमेरिकाले छिमेकी मुलुक भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएसँगै तयारी पोसाक र गलैंचा उद्योगमा भारतीय व्यवसायी चासो देखाउन थालेका छन् । भारतबाट अमेरिकामा निर्यात हुने तयारी पोसाक, गलैंचा, जडीबुटी, पस्मिना, हस्तकलाका सामान निर्यात गर्दा महँगो पर्ने भएपछि भारतीय लगानीको कर्ताको नजर नेपालमाथि पर्न थालेको छ ।

अमेरिकाले भन्सारदर बढाएसँगै भारतमा उत्पादित तयारी पोसाकदेखि हस्तकलाका समानको मूल्य निकै नै महँगो हुने भएपछि भारतीय व्यवसायीले नेपालको तयारी पोसाक, गलैंचा, हस्तकलालगायतका उद्योगमा लगानी गर्न चासो देखाएको व्यवसायी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाली गार्मेन्ट क्षेत्रका लागि अमेरिकी कर नीतिले स्वर्णिम युग बन्ने बताए । उनले भने, ‘सरकारले अब लगानी प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ । तयारी पोसाक र गार्मेन्ट क्षेत्रलाई विस्तार गर्ने सही समय भएकाले उपयोग गर्नुपर्छ । 

नेपालको गार्मेन्टको व्यापार कुनै समय १ खर्ब थियो तर अहिले घटेर १० अर्ब मात्र रहेको व्यवसायी बताउँछन् । अमेरिकी कर नीतिले अब त्यसलाई १० गुणासम्म वृद्धि गर्न सकिन्छ र त्यसका लागि एक्पोर्ट लोन, इन्सेन्टिभ, लजेस्टी कष्ट घटाउने विषयमा ध्यानु दिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको भनाइ छ । 

ट्रम्पले भारतमा लगाएको कर नीतिले भारतका तयारी पोसाक उद्योगलाई ठुलो क्षति हुने देखिन्छ । कतिपय निर्यातमा आधारित उद्योग बन्द नै गर्नुपर्ने अवस्था आएपछि भारतीय व्यापारीको नजर नेपालतर्फ देखिएको हो । भारतबाट व्यापार गर्न असहज हुने भएपछि अहिले भारतीय नेपालमा प्रत्यक्ष लगानी ल्याउने वा नेपालकै उद्योगमा लगानी थपेर उत्पादन क्षमता बढाउने योजना आइरहेको व्यवसायी बताउँछन् । 

अमेरिकामा अहिले धेरै निर्यात हुने वस्तुमा नेपाली गलैंचा, तयारी पोसाक, पस्मिना, हस्तकलामा सामग्री, अदुवालगायतका वस्तु पर्छन् ।  नेपालका यी वस्तुका मुख्य प्रतिस्पर्धी भारत र बंगलादेश हुन् । भारत र बंगलादेशकै कारण नेपालको निर्यातमा असर गर्ने गरेको  छ । अमेरिकाले बंगलादेश र भियतनाममाथि २०/२० र नेपालमाथि १० प्रतिशत भन्सार शुल्क लगाएको छ । भारतबाट भन्दा ४० प्रतिशत र बंगलादेश, भियतनामभन्दा १० प्रतिशत नेपालबाट अमेरिका निर्यातमा सस्तो पर्ने भएकाले नेपाली व्यवसायीले समेत अवसर लिन सक्ने देखिन्छ । अमेरिकाले आयात गर्ने तयारी पोसाकमध्ये ५ दशमलव ८ प्रतिशत र गलैंचामध्ये ८३ प्रतिशत भारतबाट निर्यात हुन्छ । भारतबाट हुने निर्यातलाई नेपालबाट गर्न सक्ने हो भने स्वदेशी उद्योगको विस्तार र रोजगारीमा समेत अवसर आउने देखिन्छ । 

ADV

सम्बन्धित खबर

Advertise