काठमाडौं : संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (साधारण सेयर) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र संयुक्त ऊर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ४१ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्नेछ । यसबाट कुल ४१ करोड ६० लाख रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्य राखिएको छ । संयुक्त ऊर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा अवस्थित २१.३ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।