२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

अपराध अनुसन्धानको दायरा विस्तार गर्न गृहमन्त्रीको निर्देशन

मध्यान्ह
२०८२ वैशाख २१ गते १३:०४
अपराध अनुसन्धानको दायरा विस्तार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिएका हुन् । उनले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए ।

उनले २५-३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरु अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताए । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताए ।

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताए । समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको उनले बताए । अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरु सिक्न जरुरी रहेको उनले उल्लेख गरे । 

गृहमन्त्री लेखकले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स सुरु भएको हो । स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नयाव उपरीक्षक (डिएसपी) मात्रै उत्तिर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको छ ।

प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउनेछ । अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ । प्रस्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायव उपरीक्षक (डिआईजी) बन्न पाउने छैनन् । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ ।

ADV

सम्बन्धित खबर