२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

‘केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौं’

मध्यान्ह
२०८२ वैशाख २१ गते १३:४७
‘केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौं’

काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’  दिन नहुनेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । 

नेकपा एकीकृत समाजवादीका सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।    

आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले  निरन्तर पहल गर्नुपर्ने माग गरे । 

घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गंगाकुमारी बेल्वासे र नेकपा एमालेका सुमित्रा विसी थिए ।

ADV

सम्बन्धित खबर