२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

गैरआवासीय नेपाली संघको घोषणापत्र : मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधान प्राथमिकतामा

२०८२ वैशाख २२ गते ०६:१०
गैरआवासीय नेपाली संघको घोषणापत्र : मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधान प्राथमिकतामा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिले अन्य समस्याहरूसँगै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानलाई पनि प्राथमिकतामा राखेको छ । आइतबार सम्पन्न एकताको महाधिवेशनमा जारी ६ बुँदे काठमाडौं घोषणापत्रमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानलाई पनि मुख्य जोड दिइएको छ ।

काठमाडौं घोषणापत्रको बुँदा नं. ३ मा भनिएको छ, ‘यो महाधिवेशनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीका यावत् समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।’

गैरआवासीय नागरिकताको समस्या समाधान, विदेशमा रहेका नेपालीको मतदानको अधिकारको सुनिश्चितता, भूतपूर्व ब्रिटिश गोर्खाको पेन्सन समस्यालगायतका विषय तत्कालै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गरिने घोषणापत्रमा समेटिएको छ ।

आइतबार सम्पन्न महाधिवेशनले जापानबाट प्रतिनिधित्व गर्ने महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बद्री केसी पक्ष सहभागी नभएको भएपनि महाधिवेशनलाई एकताको महाअधिवेशन भनिएको छ । प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार कार्यसमितिमा ७ उपाध्यक्ष निर्वाचित भएका छन् । ७ उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार साह, बुद्धि सागर सुवेदी, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बू (तिगेला) र जुनु गुरुङ रहेका छन् ।

महासचिवमा बाबुराम (बीआर) लामा, सचिवमा चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, सचिवमा देवकी खत्री गुरुङ, सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल र महिला संयोजक रश्मि थापा निर्वाचित भएका छन् । क्षेत्रीय संयोजकमा एसिया प्रशान्त डा. बलराम श्रेष्ठ, युरोप प्रेमबहादुर गुरुङ, मध्यपूर्व रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका डिलुराम पराजुली, ओसेनिया इर्सद अहमद र युवा संयोजक भीमसेन थापा निर्वाचित भए ।

एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व  सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियानका लागि रामप्रसाद कँडेल र प्रताप राना निर्वाचित भएका छन् ।

ADV

सम्बन्धित खबर