डोल्पा : डोल्पाका यार्सा पाटन जेठ ५ गतेदेखि खुला गरिने भएको छ । आइतबार डोल्पा सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षतामा बसेको जिल्लाको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लाका सबै यार्सापाटनहरु जेठ ५ गते आम संकलकहरुका लागि खुला गर्ने निर्णय गरेको हो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यलय तथा डिभिजन वन कार्यलयको आयोजनामा बसेको बैठकले यार्सा पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका विभिन्न निर्णय गरेको छ ।
डोल्पा जिल्लाका सयौं बुकी पाटनहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि एक महिनाको समयावधि तोकेर सर्वासाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । जेठको ५ गते खुला हुने यार्सा पाटनहरु असारको ५ गते पुन: बन्द हुने गर्छन् । तर यार्सा पाउने समय अलि पछिसम्म रहेमा डिभिजन वन र निकुञ्जको नियमानुसार हेरेफेर हुने गरेको छ । वैशाखको मध्यदेखि नै यार्सागुम्बा टिप्न मानिसहरु लुकेरै पाटन जाने गरेकाले यो वर्ष चोरी गर्नेहरुलाई नियन्त्रण गर्न निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रका पाटनहरुमा कडा सुरक्षा व्यवस्था गरिएकाले यो वर्ष यार्सा चोरी कम हुने निकुञ्जको दाबी छ ।
यार्सा पाटनहरु सर्वसाधारणका लागि खुला गर्नु पूर्व नै चोरी हुने भएकोले वन र निकुञ्ज दुवै निकायले सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । जेठ ५ गते डोल्पा जिल्लाका सबै यार्सा पाटन खुला हुनेछन् र यार्सा संकलकले उक्त एक महिनाको समयमा सबै पाटनहरुमा प्रवेश शुल्क काटेर यार्सा संकलन गर्न पाउनेछन् । निकुञ्ज क्षेत्रका वन प्रवेशका लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले सेवा शुल्क वापतको छुट्टै शुल्क लिन पाउनेछन् ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका नागरिकले रु ५ सय, डोल्पा जिल्लाभित्रका नागरिकले रु २ हजार र जिल्ला बाहिरका नागरिकले रु ३ हजार प्रवेश शुल्क तिरेर मात्र वन प्रवेश गर्न पाउनेछन् । यसरी लिएको प्रवेश अनुमति पत्र रसिदबट सबै वन क्षेत्रमा यार्सा संकलन गर्न पाउनेछन्, तर एक सामुदायिक वनबाट अर्को सामुदायिक वनमा यार्सा संकलनका लागि प्रवेश गरेमा उक्त सामुदायिक वनले संकलकबाट सेवा शुल्क वापतको छुट्टै ५ सय रकम लिन पाउने छ । डिभिजन वन अन्तर्गतका यार्सा पाटनहरुमा भने सामुदायिक वनले प्रवेश शुल्क लिने गरेका छन् ।