२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

गण्डकी कोटीहोमबाट ‘जय श्रीराम’को भिडियो सार्वजनिक हुने

मध्यान्ह
२०८२ वैशाख २१ गते २०:१०
गण्डकी कोटीहोमबाट ‘जय श्रीराम’को भिडियो सार्वजनिक हुने

पोखरा : आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको ‘जय श्रीराम’ भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटीहोमबाट सार्वजनिक गरिने भएको छ । भजनलाई ‘विष्णुमाया पौडेल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्न लागिएको हो ।

आरबी केसीको शब्द, संगीत एवं निर्देशनमा आधारित भजनको सुरुवात ‘हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सीताराम’ भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ ।

मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर बीसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन् । हेमन्त भट्टराई, आरबी केसी र स्वयं  गायक, गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको छ । 

गायक, गायिकाहरूले भिडियोमा पनि जीवन्त अभिनयमार्फत आफ्ना भावना अभिव्यक्त गरेका छन्, जसले भजनको दृश्यात्मक प्रभावलाई अझ प्रभावशाली बनाएको छ । पिक स्टुडियोमा रेकर्ड गरिएको यो भजन शुद्धता र श्रद्धाको प्रतीक भएको बताइएको छ ।

भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा देखिएका छन्, जसको अभिनयले काठमाडौंका मेयर जस्तै ऊर्जावान् र प्रेरणादायी प्रभाव पार्ने विश्वास निर्माण पक्षले लिएको छ । उनका दृश्यहरू प्रत्येक दर्शकको मनमा गहिरो छाप छाड्ने छन् ।

पोखरा, काठमाडौं र जनकपुरका आध्यात्मिक स्थलहरूमा रेड क्यामराले ३ दिनसम्म छायांकन गरेको भिडियो टेकेन्द्र शाहको सम्पादन र एसके श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको हो । यसमा पवित्रता र भक्ति भावनाको जीवन्त अनुभूति गराइन्छ ।

भजनको अडियो केही दिनअघि गण्डकी कोटीहोमबाटै सार्वजनिक गरिएको थियो । अडियो विमोचन विजय कृष्णमूर्ति महाराज र श्रीमद्भागवत अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाबाट गरिएको थियो । उनीहरूले दिएका आध्यात्मिक आशिष र सन्देशले भजनलाई झन् गहिरो बनाएको छ । ती दृश्यहरू पनि भिडियोमा समावेश गरिएको छ ।

शुक्रबार हुने सार्वजनिक कार्यक्रममा गीतकार, संगीतकार एवं निर्देशक, गायक, गायिका, कलाकारहरू, संचारकर्मी, धर्मप्रेमी तथा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । भजनको विमोचनले श्रीरामप्रतिको भक्ति, प्रेम र समर्पणको उचाइलाई छुन सक्ने विश्वास लिइएको छ ।

निर्माण पक्षका अनुसार यो भजन हालसम्मकै सबैभन्दा उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो ।

ADV

सम्बन्धित खबर