काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलमार्फत आन्तरिक र वैदेशिक रोजगारीलाई प्रवर्द्धन गरिने बताएका छन् । विश्व मजदुर दिवसका अवसरमा मन्त्रालयले उक्त पोर्टल सार्वजनिक गरेको हो ।
आइतबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३०औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले उक्त पोर्टल ७५३ स्थानीय तहसम्म विस्तार गर्न लागिएको बताए । रोजगारीका अवसर, सीपमूलक तालिम, कामदारको माग तथा आवश्यक सम्पूर्ण सेवाहरु प्राप्त हुने मन्त्री भण्डारीको भनाइ छ । एकद्वार प्रणालीमार्फत डिजिटाइसेजन सेवा सुरुवात गरिएको बताउँदै उनले त्यसमा आबद्ध हुन सबैलाई आह्वानसमेत गरे ।
रोजगारी पाउनका लागि हातमा आवश्यक सीप हुनुपर्ने बताउँदै मन्त्री भण्डारीले भने, ‘देशभित्र पनि सीपयुक्त कामदारका धेरै माग छन्, तर सीप नहुँदा बाहिरबाट आएका मान्छेहरू नेपालमा काम गरिरहेका छन् । तर हाम्रा युवाहरु थोरै सेवा सुविधामा विदेशिएका छन् । आवश्यक तालिम र सीप दिएर तिनीहरुलाई रोजगारसँग जोडनुपर्ने अवस्था छ ।’