
नेपाली फुटबलको गतिविधि यतिवेला शून्यको स्थितिमा रहेको छ । सहिद स्मारक ए डिभिजन लिग २०८० सालदेखि हुन सकेको छैन । ठूला प्रतियोगिताहरू निरन्तर रूपमा सञ्चालन हुन नसक्दा फुटबल खेलका मुख्य सरोकारवाला खेलाडीहरूको भविष्य अन्धकार जस्तो छ । फुटबल खेलेर राष्ट्रको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन सम्पूर्ण जीवन अर्पण गरेका खेलाडीहरू अहिले पूर्ण बेरोजगारीको अवस्थामा रहेका छन् । अधिकतम खेल खेलेर सीप बढाउनु पर्ने समयमा उल्टै खस्कदो सीप र अनावश्यक तनाव झेल्न बाध्य भएका छन् । नेपालमा फुटबलको भविष्य राम्रो नहुँदा वर्षेनी खेलाडीहरू देश छाड्न बाध्य हुनुपरेको छ । आफ्नो हुर्कंदो उमेरमा फुटबलमा बिताउनु र त्यसमा खेल गतिविधि शून्य हुँदा भोको पेट पाल्न खेलाडीलाई धौधौ हुन गएको छ ।
यही फुटबलका गतिविधि तथा सहिद स्मारक ए डिभिजन लिगको निरन्तरताको लागि वरिष्ठ, पूर्व तथा नयाँ खेलाडी र यससँग सम्बन्धित सरोकारवालाहरू एवं समर्थकले नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)मा केही दिन अघि धर्ना तथा विरोध प्रदर्शन गरे । विरोध कार्यक्रममा खेलाडीले फुटबल खेल्दा पाएको तक्मा एन्फा गेटमा नै झुण्ड्याएर एन्फा पदाधिकारीको ध्यानाकर्षण गराएका छन् । नेपाली फुटबल खेलाडी संघको अगुवाइमा भएको विरोध प्रदर्शनले एक हप्ता भित्र सहिद स्मारक ए डिभिजन लिग सञ्चालन मिति तोक्न अल्टिमेटम दिएको छ । एन्फा पदाधिकारीले कहिले भूकम्प, नाकाबन्दी, कोभिड–१९, राजनीतिक अस्थिरता र आर्थिक अभावको कारण देखाउँदै विभिन्न समयमा प्रतियोगिताहरू रोक्ने गरेको पाइन्छ ।
एन्फाले क्लबलाई लिग खेल्न तयार नभएको आरोप लगाएको छ भने क्लबले अघिल्लो संस्करणको लिगको पैसा नदिएकोले खेल्न नसकिने आरोप लगाएका छन् । आरोप–प्रत्यारोपबाट नै लिग अन्यौलमा परेको देखिन्छ । विभिन्न निउँमा प्रतियोगिता रोक्ने र फुटबललाई ठप्प पार्ने नियत पदाधिकारीमा देखिन्छ । सहिद स्मारक ए डिभिजन लिगमा चौध क्लबहरू आवद्ध छन् । जसमा यी १४ क्लबमा खेल्ने खेलाडीको रोजगारी गुमेको तीतो यथार्थ छ । स्वास्थ्यका लागि खेल भन्ने नारा यतिबेला फरक शैलीबाट बुझ्नुपर्ने भएको छ । खेलाडी र खेलप्रेमीलाई तनाव दिने सर्वोच्च संस्थाको रूपमा एन्फालाई बुझ्नु जायज हुन सक्छ ।
मुलुकमा आधिकारिक ए डिभिजन लिग भएमा ‘बी’ र ‘सी’ डिभिजनहरू सञ्चालनमा आउने छन् । जसले फुटबलमा प्रतिस्पर्धाको अभ्यास स्थापित गराउँछ । फुटबल क्लबहरू बढुवा–घटुवा हुने हुँदा क्लबहरूमा जीत र प्रतिस्पर्धाको भावना स्थान पाउने गर्छ । हजारौं खेलाडीले रोजगारी पाउने गर्छन् । प्रत्यक्ष होस् वा अप्रत्यक्ष रूपमा व्यापार व्यवसाय हुने गर्दछ । तर प्रतियोगिताहरूको निरन्तरताको लागि सरोकारवालासँग छलफल गर्ने, राज्यलाई गुहार्ने एवं फिफासँग सरसल्लाह लिने कार्य एन्फाबाट भएको पाइँदैन । यदि फुटबललाई निरन्तरता दिन नसकेको खण्डमा फिफाले प्रतियोगिता सञ्चालन गर्न दिने रकम कटौती पनि गर्न सक्छ अथवा केही वर्ष एन्फालाई दण्डित गर्न पनि सक्छ । तर यसप्रति एन्फाको ध्यान जान सकेको छैन ।
नेपाली फुटबल क्लबहरू एकातर्फ चरम आर्थिक संकटमा रहेका छन् भने अर्कोतर्फ क्लबमा आवद्ध खेलाडीहरूलाई तोकिएको तलब, भत्ता समयमा नै दिन सकिएको पाइँदैन । कतिपय क्लबहरूले एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को मापदण्ड पूरा गर्न सकेका छैनन् । जसले सहिद स्मारक ए डिभिजन लिग जिते तापनि खेल्न नपाउने र अर्को बरियताक्रममा रहेको क्लबले खेल्ने परिस्थिति नेपाली फुटबल जगतमा रहेको छ । विगतमा नेपाली फुटबललाई व्यवसायिक प्रतिष्ठान, संघ–संस्थाले प्रायोजन, सहयोग गर्ने परिपाटी थियो । जब नेपाली फुटबलमा शून्यता छायो तब क्लबलाई सहयोग गर्ने व्यवसायिक प्रतिष्ठानहरू टाढिन थाले । स्वयं सहिद स्मारक ए डिभिजन लिगलाई प्रायोजन गर्ने व्यवसायिक प्रतिष्ठानहरू भेटिन छाडेका छन् । यसले के देखाउँछ भने नेपाली फुटबलमा लगानी गर्दा व्यवसायिक प्रतिष्ठानले प्रतिफल नपाउने तथा प्रचार–प्रसार नहुने मानसिकताको विकास भएको पाइन्छ ।
नेपाली फुटबलको खेलस्तर हेर्दा जोसुकै व्यक्तिको मन धमिलो हुन्छ । फुटबललाई फोहोरी राजनीतिको अखडा बनाउँदा खेलभन्दा बढी राजनीति हुने गरेको छ । एन्फामा सीमित व्यक्तिको हालीमूहाली रहेको छ, जसले फुटबलको विकासभन्दा पनि आफ्नो स्वार्थ परिपूर्तिमा तल्लिन रहेको देखाउँछ । नेपाली फुटबल जगतमा खेलाडीहरूको तलब निकै न्यून रहेको छ । एन्फा पदाधिकारीको तलब र खेलाडीहरूको तलबको तुलनामा पदाधिकारीको तलब धेरै गुणाले बढी देखिन्छ । तलब अत्यन्तै न्यून भए पनि खेलाडीलाई अन्य गैर–मौद्रिक तवरबाट उत्प्रेरित गरेको देखिँदैन । खेलाडीहरूको स्वास्थ्य उपचार, बीमा, घाइते खेलाडीको पुनस्र्थापना र संरक्षणको विषयमा एन्फाले कुनै योजना बनाएको पाइँदैन । फुटबल प्रतियोगिताका लागि पर्याप्त खेल मैदान तथा भौतिक पूर्वाधारहरूको अभाव छ । खेलाडीलाई पर्याप्त तालिम प्रदान गर्ने, आफू भन्दा अब्बल टिम र राष्ट्रसँग मैत्रीपूर्ण खेल आयोजना गरी नेपाली फुटबलको स्तर बढाउने एवं खेलाडीमा नयाँ रणनीतिक सीपको विकास गर्ने परिपाटीको विकास गर्नु जरुरी छ ।
एन्फाभित्र हुने गुण्डागर्दी, अपारदर्शिता र निरंकुशतालाई निष्पक्ष छानबिन गरी सुशासनयुक्त एन्फा निर्माण गर्नु जरुरी छ । खेलमा म्याच फिक्सिङ (मिलेमतो)लाई सूक्ष्म ढंगले विश्लेषण गर्न खेल विज्ञहरूलाई छनोट गरी स्वच्छ निष्पक्ष खेल नतिजा ल्याउने प्रयत्न गर्नु पर्दछ । मोफसलमा हुने फुटबल प्रतियोगिताहरूलाई एन्फाका विभिन्न विभाग, शाखा अन्तर्गत सञ्चालनमा ल्याउने प्रयत्न गर्नुपर्दछ । विश्व फुटबल जगतमा फुटबल सम्बन्धी विभिन्न प्रविधिहरू भित्रिएका छन् तर नेपाली फुटबलमा ती कुनै प्रविधिहरू अवलम्बन गर्न खोजिएको छैन । तसर्थ, नेपाली फुटबललाई प्रविधिमैत्री बनाई प्रतिस्पर्धात्मक बनाउनु जरुरी छ । खेल मैदानको संरक्षण र रेखदेखमा एन्फाले आफ्नो जनशक्ति परिचालन गर्नु पर्दछ । फुटबल खेलको मूल मर्मलाई ध्यानमा राखी सम्पूर्ण खेलाडीको जीवनलाई परिष्कृत गराउनु एन्फाको अनिवार्य दायित्व हो । एन्फा पदाधिकारी, नेपाली फुटबल खेलाडी संघ, खेलाडी, रेफ्री र समर्थकहरूको समन्वय र सहकार्यबाट नै नेपाली फुटबलका प्रतियोगिताको निरन्तरता दिनुका साथै फुटबलमा देखिएको समस्याको निकास निकाल्नु आवश्यक हुन्छ ।
नेपाली फुटबललाई क्रियाशील बनाई खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्ने, फुटबलकै माध्यमबाट खेल पर्यटनको विकास गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । एन्फा नेतृत्वले खेलाडीको पीर–मर्का, समस्याको तत्काल समाधान गर्न पहल गर्नु पर्दछ । खेलकुदले खेलाडीको भविष्य उज्ज्वल बनाउने मात्र होइन, यसले त अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, समन्वय र भाइचारा कायम राख्न सहयोग पुर्याउँछ । खेल प्रतिष्ठाको विषय पनि भएकोले अन्तर्राष्ट्रिय समुदायमा यसले राष्ट्रको प्रतिनिधित्व गराउँछ । तसर्थ नेपाली फुटबल र अन्य खेलकुदका गतिविधिलाई निरन्तरता दिन एवं परिणाममुखी नतिजा हासिल गर्न राज्यबाट नै पहलको खाँचो पर्दछ ।