२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

सबाल्टर्न वर्ग र बुर्जुवा लोकतन्त्र

shivam cement
लोकबन्धु घिमिरे
२०८२ कार्तिक २४ गते ०६:०५
Shares
सबाल्टर्न वर्ग र बुर्जुवा लोकतन्त्र

विषय प्रारम्भ

इतिहास कसरी लेखिन्छ ? प्रायः शासक, धनाढ्य, कुलीन र माथिल्लो सामाजिक वर्गले राजनीतिक इतिहास लेखनलाई सधैँ आफ्नै पक्षमा मोड्न सफल हुन्छन् । तर समाजको सबैभन्दा तल्लो तहमा रहेका वर्ग– मजदुर–किसान, सीमान्तकृत, जनजाति, पिछडिएको, दलित, आदिवासी र महिलाजस्ता वर्ग अर्थात् सबाल्टर्न वर्ग सधैँ विभेदको सिकार बन्छन् । राष्ट्रनिर्माण, जनक्रान्ति, जनआन्दोलन, उपनिवेशपछिका प्रतिरोधी संघर्ष, वर्ग संघर्ष वा मुक्ति आन्दोलनमा उनीहरूले खेलेको भूमिका इतिहासमा प्रायः हराउँछ । यस्तो किन हुन्छ ? उनीहरूको आवाज किन दबाइन्छ ? 

यी प्रश्नको उत्तर खोज्ने क्रममा सन् १९८० को दशकमा भारतीय इतिहासकार प्रा. रनजीत गुहाले सबाल्टर्न स्टडीज शृङ्खला सुरु गरे । यो श्रृंखलामा उनले दक्षिण एसियाको आधुनिक इतिहासले किन र कसरी सबाल्टर्न वर्गलाई उपेक्षा ग¥यो भन्ने विषयमा विमर्श अघि सारे । यसै क्रममा दक्षिण एसियाका नामी इतिहासकार र समाजशास्त्री–ज्ञानप्रकाश, विनायक चतुर्वेदी, रामचन्द्र गुहा, गायत्री स्पिवाक, दिपेश चक्रवर्ती, पार्थ चटर्जी लगायतले यो अध्ययनलाई विश्वव्यापी रूपमा विस्तार गरे र विश्वविद्यालयीय समाजशास्त्रीय अध्ययनमा सबाल्टर्न अध्ययनलाई महत्वपूर्ण विषयको रूपमा स्थापित गरे । डा. रामचन्द्र गुहाले भारतको उत्तराखण्डमा सबाल्टर्न वर्गकै नेतृत्वमा भएको चिप्को आन्दोलनलाई पर्यावरणीय चेतनासँग जोडेर इतिहास निर्माणको वैकल्पिक दृष्टिकोणका रूपमा प्रस्तुत गरे ।

नेपालमा पनि डा. हर्क गुरुङ, परशुराम तामाङ, आहुतीलगायतका विद्वानहरूले जनजाति, आदिवासी, दलित र रैथाने समुदायको आन्दोलनलाई सबाल्टर्न दृष्टिकोणबाट अध्ययन गरेका छन् । सामुदायिक वनको सफलता र पर्यावरणीय चेतनाको पुनर्जागरण पनि यिनै सबाल्टर्न वर्गबाट सम्भव भएको मत पाइन्छ । हालै क्यारेबियन सन्दर्भमा केभिन ओल्सनले ‘सबाल्टर्न साइलेन्स’ (२०२४) नामक पुस्तकमा सबाल्टर्न वर्गको धीमी राजनीतिक गतिको कारण र विश्लेषण गरेका छन् । यसबाट देखिन्छ विश्वव्यापी राजनीतिमा सबाल्टर्नहरू सहनशील र शक्तिहीन छन्, तर लोकतन्त्रप्रति सबैभन्दा इमानदार वर्ग यही हो । यही वर्गको इमानदारी र श्रमको ‘रगत–पसिना’ बुर्जुवा लोकतन्त्रले सित्तैमा चुसिरहेको छ ।

एन्तोनियो ग्राम्स्की (१८९१)ले प्रिजन नोट बुक्समा सबैभन्दा पहिले ‘सबाल्टर्न’ शब्द प्रयोग गरेका थिए । त्यसपछि एडवर्ड सईदले ओरियान्टलिज्म (१९७८) मा पनि यो शब्द प्रयोग गरे । ग्राम्स्कीका अनुसार शासक वर्गले आफ्नो राजनीतिक शक्ति र प्रभुत्व कायम राख्नका लागि बौद्धिक र सांस्कृतिक औजार निर्माण गर्छ, जसले उसको प्रभुत्वलाई समाजमा वैधता दिलाउँछ । ग्राम्स्कीले माक्र्सको आर्थिक विश्लेषणलाई सांस्कृतिक दृष्टिबाट विस्तार गर्दै देखाएका छन् कि सबाल्टर्न वर्ग सांस्कृतिक प्रभुत्वको जालमा फसेर शक्तिहीन बन्छ ।

रनजीत गुहाका अनुसार भारतीय समाजमा सबाल्टर्न वर्ग केवल आर्थिक शोषणको मात्र सिकार होइन, बरु सामाजिक विभेदीकरण र सिमान्तकरणका कारण झन् पिढीपिढी शक्तिहीन बनेको छ । यही शक्तिहीनताको फाइदा उठाएर शासक–धनी वर्गले उनीहरूको राजनीतिक आवाज दबाउँदै आएको छ । भारतमा सबाल्टर्न वर्गको निर्माणमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, उपनिवेशिक र लैङ्गिक कारण सबैले योगदान दिएका छन् । गुहाका अनुसार भारतीय समाजलाई केवल वर्गीय द्वन्द्वको दृष्टिले बुझेर पुग्दैन; यसलाई सबल्टर्निटीका दृष्टिले हेर्दा मात्रै शक्तिहीन वर्गको वास्तविक अवस्था देखिन्छ ।

वर्गीय संरचना र सबाल्टर्नको स्थिति

कार्ल माक्र्सका अनुसार सर्वहारा वर्ग भनेका पुँजीपति वर्गलाई आफ्नो श्रम बेचेर जीवन निर्वाह गर्ने मानिसहरू हुन् । यी वर्गसँग कुनै निजी सम्पत्ति हुँदैन । औद्योगिक पुँजीवादपछि जन्मिएको यो वर्ग मेसिनसँगै काम गर्छ, ज्याला पाउँछ, तर सामाजिक शक्ति हुँदैन । धनी वर्ग जसले उत्पादनका साधन र पुँजीमा नियन्त्रण राख्छ, त्यो बुर्जुवा वर्ग हो । यी दुई वर्गबिचको संघर्ष नै इतिहास निर्माणको मूल प्रक्रिया हो । तर यी दुई बिचमा अर्को वर्ग पनि छ– मध्यम वर्ग जसमा साना किसान, कर्मचारी, शिक्षक, साना व्यापारी, पेशेवर, प्राध्यापक, वकिल, लेखक, वैज्ञानिक आदि पर्छन् । उत्पादन र बजार विस्तारसँगै यी मध्यम वर्गहरू पुँजीवादी प्रतिस्पर्धामा टिक्न नसकी क्रमशः सर्वहारा वर्गमा परिणत हुन्छन् । यही मध्यम वर्ग नै सबाल्टर्न वर्गको प्रतिनिधि हो, जसमा निम्न पुँजीवादी चेतना रहन्छ । यस वर्गलाई निजी सम्पत्तिको सुरक्षा चाहिन्छ र लोकतन्त्र र स्वतन्त्रताको आवश्यकता महसुस हुन्छ । तर उच्च सबाल्टर्न वर्ग बुर्जुवासँग पनि आकर्षित हुन्छ, र सर्वहारा वर्गसँग पनि सहानुभूति देखाउँछ–तर क्रान्तिकारी बन्न सक्दैन । यो वर्ग अवसरवादी र दोधारे चरित्रको हुन्छ ।

नेपाल र भारतमा जस्ता देशमा मध्यम वर्ग (सबाल्टर्न) वर्गको दोधारे प्रवृत्तिका कारण धेरै क्रान्तिहरू अधुरो रहँदै आएका छन् । मध्यम वर्गले अझै पनि बुझ्न सकेको छैन कि ऐतिहासिक उत्पादन–विकास चक्रमा ऊ पनि अन्ततः सर्वहाराकरण हुँदै छ । ग्राम्स्कीका शब्दमा पुँजीवादी वर्गले यसै वर्गमाथि सांस्कृतिक प्रभुत्व कायम गरेर आफ्नो राजनीतिक वैधता बढाउँछ र ‘रुलिङ क्लास ठिक छ’ भन्ने सहमति समाजमा फैलाउँछ ।

बेइमान पावर एलिट र बफादार सबाल्टर्न

२०६३ सालपछि नेपालको अर्थ–राजनीति निरंकुश र एकात्मक प्रणालीबाट सहभागितामूलक लोकतन्त्रतर्फ गएको छ । संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य तोकेको छ । तर व्यवहारमा हामी लोकतान्त्रिक पुँजीवादभित्र सबाल्टर्न वर्गको समावेशीकरणको नाममा सुधारवाद मात्र पछ्याइरहेका छौँ । अर्थात् पूर्ण क्रान्ति अझै बाँकी छ । 

नेपालमा सामन्तवादका अवशेष अझै जीवित छन् । भूमिसुधार नहुँदा कृषि अर्थतन्त्र पुँजीवादी उत्पादन प्रणालीमा रूपान्तरण हुन सकेको छैन । यसले सबाल्टर्न वर्गलाई निम्न उत्पादकत्व र बहुआयामिक गरिबीको खाडलमा फसाएको छ । नेपालको प्रमुख राजनीतिक शक्ति अझै पनि जमीन्दार, ठूला किसान, सहरी धनाढ्य र दलाल पुँजीपति वर्गकै हातमा केन्द्रित छ । यही बुर्जुवा वर्गले प्रजातन्त्र, लोकतन्त्र र नवउदारवादको मिश्रित संरचना बनाएको छ, जुन सुधारवादी भए पनि प्रगतिशील छैन । सबाल्टर्न वर्ग, विशेषतः वामपन्थी मध्यम वर्ग, अहिले यही दलाल बुर्जुवा शक्तिसँग नजिकिएको छ । भूमि, स्वास्थ्य, शिक्षा, र कृषि नीतिहरू जनमुखी नभई व्यापारी र ठालू वर्गमुखी बनेका छन् । यसले सबाल्टर्न वर्गको रगत चुसेर बुर्जुवा लोकतन्त्रलाई पालिरहेको छ ।

लोकतन्त्र र समावेशिता : पाखण्ड र अवसरवाद

परम्परागत युरोपेली लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता प्रमुख मूल्य थियो । तर १९३०–७० को दशकमा कल्याणकारी लोकतन्त्र आउँदा सामाजिक न्याय र आर्थिक समानतालाई पनि जोड दिइयो । तर नीति निर्माणमा सबाल्टर्न वर्गको वास्तविक प्रतिनिधित्व कहिल्यै भएन । नेपालमा संविधानले समावेशी लोकतन्त्रको ढाँचा निश्चित गरेको छ– दलित, महिला, मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्गका लागि आरक्षण र कोटा व्यवस्था गरिएको छ । तर व्यवहारमा सबाल्टर्न वर्गको प्रतिनिधित्व अझै जातीय र औपचारिक स्तरमै सीमित छ । सत्ता र अवसर फेरि पनि सम्पन्न, पावर–एलिट र ठालू वर्गकै हातमा छ ।

यसरी उपल्ला सबाल्टर्न वर्गले बुर्जुवा लोकतन्त्रको अवसरवाद र पाखण्डलाई मजबुत बनाइरहेका छन् । साँचो सबाल्टर्न–अर्थात् गरिब, दलित, सीमान्तकृत, श्रमजीवी वर्ग अझै राजनीतिक मूलधारबाट बहिष्कृत छन् । त्यसैले यस्तो अन्याय र विभेद अन्त्य गर्न फेरि पनि सम्पूर्ण दक्षिण एशिया, लाटिन अमेरिका, अफ्रिका र नेपालका उत्पीडित सबाल्टर्नहरूबाट आउने पूर्ण क्रान्तिको आवश्यकता छ । त्यो क्रान्तिले मात्रै साँचो सबाल्टर्न आन्दोलन र उनीहरूको योगदानलाई इतिहासमा सुनौलो अक्षरमा लेख्नेछ ।

ADV

सम्बन्धित खबर