२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

पार्टी एकता र फुटका सम्बन्ध

shivam cement
नारायण शर्मा
२०८२ कार्तिक २५ गते ०६:००
Shares
पार्टी एकता र फुटका सम्बन्ध

नेपाली राजनीतिमा विशेषगरी कम्युनिस्ट नामधारी पार्टीहरू फुट्ने र जुट्ने होडबाजीमा छन् । एकता र फुटबिचमा द्वन्द्वात्मक अन्तरसम्बन्ध रहन्छ । यी दुई विपरीत प्रवृत्तिहरू एक अर्कामा अन्तर्निहित छन् । एकता हुनका लागि फुट हुनुपर्छ र फुटको अर्थ रहनका लागि पहिले एकता हुनुपर्छ । द्वन्द्ववादका अनुसार, तल्लो अस्तित्व वा आधारबिना माथिल्लो अस्तित्वको अर्थ हुँदैन । त्यसैगरी, एकता र फुट पनि परस्पर विरोधी देखिए तापनि अभिन्न रूपले गाँसिएका छन् । जहाँ जन्म हुन्छ, त्यहाँ मृत्यु पनि हुन्छ र जहाँ मृत्यु हुन्छ, त्यहाँ नयाँ जन्म पनि सम्भव हुन्छ । यी विपरीत प्रवृत्तिहरूले एक अर्कालाई प्रभाव पार्छन्, परिवर्तन गर्छन्, निषेध गर्छन् र कहिलेकाहीँ एक अर्कामा रूपान्तरण समेत हुन्छन् ।

ग्रीक दार्शनिक हेरेक्लाइटसले यस सत्यलाई यसरी व्याख्या गरेका छन्– सबै कुरा निरन्तर परिवर्तनशील छ र सबै चीजहरू दुई विपरीत तत्वहरू मिलेर बनेका छन्, जुन एक अर्कामा परिवर्तन हुन्छन्– जसरी रात दिनमा, उज्यालो अँध्यारोमा, जीवन मृत्युमा परिवर्तन हुन्छ । सामान्यतया, जसरी जन्म हुँदा खुसी लाग्छ, त्यसरी नै पार्टी एकता हुँदा पनि हर्ष लाग्छ । र, जसरी मृत्यु हुँदा दुःख लाग्छ, त्यसरी नै पार्टी फुट्दा पनि दुःख हुनु स्वाभाविक हो । तर दृष्टिकोणका आधारमा यसको अनुभूति उल्टो पनि हुन सक्छ । असल मानिसको मृत्यु दुःखद हुन्छ, तर दुष्ट मानिसको मृत्युमा राहत अनुभव हुन्छ । त्यसरी नै खराब पार्टी फुट्दा राहत लाग्न सक्छ, तर देश, जनता र क्रान्तिको हितमा लागेका क्रान्तिकारी पार्टी फुट्दा दुःख लाग्नु स्वाभाविक हो ।

यस अर्थमा, एकता र फुटका परिणामहरू पनि विपरीत अनुभूतिमा परिणत हुन्छन् । फुट हुँदा दुःख लाग्छ, तर फुटेका पार्टीहरू पछि सही दिशामा एकता हुँदा त्यो दुःख हर्षमा बदलिन्छ । यही कुरा एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति ‘प्रकृतिको द्वन्द्ववाद’ मा रूपान्तरणको सिद्धान्तद्वारा स्पष्ट गरेका छन्–प्रकृतिको द्वन्द्ववादमा प्रस्तावित एउटा नियम मात्रालाई गुणमा रूपान्तरण गर्ने नियम हो र यसको विपरीत पनि । जसरी पानी उमाल्दा बाफ बन्छ, बाफ चिस्याउँदा पानी र अझ चिस्याउँदा बरफ बन्छ, त्यसरी नै पार्टीभित्र सचेत, सुनियोजित र सशक्त प्रयास हुँदा फुट र एकता तीव्र रूपमा देखा पर्छ ।

तर कतिपय अवस्थामा न फुट्दा बिस्मात हुन्छ, न जुट्दा हर्ष । अहिले नेपालका केही पार्टीहरूको फुटजुटको प्रक्रिया यस्तै स्तरमा पुगेको छ– जहाँ विचार, नीति, कार्यक्रम, लक्ष्य वा कार्यदिशामा कुनै मौलिक भिन्नता छैन । त्यहाँ व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थ हाबी भएको छ ।

आजको परिस्थिति हेर्दा, दलहरू पार्टी दर्ता वा नवीकरणका लागि हतारिँदै फुट–जुट गरिरहेका छन् । तर यो सब केवल चुनावको प्रायोजनका लागि हो । यस्तो फुट– एकतामा न सिद्धान्त छ, न दीर्घ दृष्टि–केवल व्यक्तिगत महत्वाकांक्षा र पद–प्रतिष्ठाको दौड मात्र छ । क्रान्तिकारी दृष्टिले हेर्दा, यस्तो एकता र फुट ‘कौवाको बेल पाकेर हर्ष न बिस्मात’ जस्तै हो । यिनै दल र नेताहरूले एमसीसी सम्झौता, खुकुलो नागरिकता विधेयकजस्ता राष्ट्रघाती प्रस्ताव पारित गर्नेदेखि लिएर भ्रष्टाचार र अनियमिततालाई चरममा पु¥याएका छन् । वैदेशिक शक्तिकेन्द्रको दलाली र चाकरीमा पल्ने यी नेताहरूले राज्यसत्ताको दुरुपयोग गर्दै जनतालाई अस्तित्व संकटतर्फ धकेलेका छन् ।

यस्तो पुँजीवादी व्यवस्थामा गरिब किसान, मजदुर, दलित, महिला वा इमानदार राजनीतिक शक्ति चुनावमा सफल भएर जनताको हित गर्न सक्ने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले प्रतिक्रियावादी व्यवस्थाभित्र केवल पदको लागि चुनावमा भाग लिनु अर्थहीन छ ।

तर, ‘चुनावमा भाग लिनु हुँदैन’ भन्ने कुरा पनि सैद्धान्तिक रूपले पूर्ण सत्य होइन । चुनाव कार्यनीतिक प्रश्न हो– जहाँ पार्टी, क्रान्ति र जनताको हित जहाँ छ, त्यही बाटो अपनाउनुपर्छ । चुनावका बेला जनतासँग सम्पर्क बढाउने, उनीहरूका समस्या बुझ्ने, पार्टीका नीति–कार्यक्रम प्रचार गर्ने अवसर पनि प्राप्त हुन्छ । तर यस्तो प्रतिक्रियावादी सत्ताको सरकारमा सामेल हुँदा पार्टीहरू प्रायः विकृति, विचलन, भ्रष्टाचार र विघटनतर्फ लम्किन्छन्, जसको प्रमाण नेपाल र विश्वका कैयौँ उदाहरण हुन् । 

आज क्रान्तिकारी आन्दोलनलाई सुदृढ र प्रभावकारी बनाउन देश–विदेशमा विभाजित कम्युनिस्ट शक्तिहरू, संघ–संस्था, मंच–मोर्चा र व्यक्ति–व्यक्तिहरूबिच क्रान्तिकारी एकता र मोर्चा बन्धन अपरिहार्य छ । यो आजको ऐतिहासिक आवश्यकता हो, जसका लागि सबै सच्चा र जिम्मेवार क्रान्तिकारीहरूले पहल गर्नुपर्छ ।

हामीले पनि लामो समयदेखि यही दिशामा प्रयास जारी राखेका छौं र त्यसको केही सफलता देखिन थालेको छ । पछिल्ला पहलहरूले यो प्रक्रिया गुणात्मक रूपमा अघि बढ्ने संकेत दिएका छन् । त्यसैले अहिलेको मुख्य जिम्मेवारी भनेको क्रान्तिकारी शक्तिहरूबिचको एकीकरण, ध्रुवीकरण र शुद्धीकरणसहितको रुपान्तरण लाई पूर्णता दिनु हो । यही नै देश, जनता र क्रान्तिप्रतिको हाम्रो ऐतिहासिक अभिभारा हो ।

ADV

सम्बन्धित खबर