
अहिले जेनजी विद्रोहले खोजेको परिवर्तन केवल सत्ताको फेरबदल होइन, मनोविज्ञानको क्रान्ति पनि हो । यो पुस्ता, जसलाई प्रविधि र चेतनाले सशक्त बनाएको छ, पुराना दलहरूको चाकरी संस्कृतिबाट थाकिसकेको थियो । दसकौंदेखि ‘दलको निष्ठा’ भन्दै पद र शक्ति बाँड्नेहरूको मनोविज्ञानलाई यस आन्दोलनले नंग्यायो । अब दलको सदस्यता र नेताको कृपा सुरक्षाको कवच होइन, सजायको कारण बन्न थालेको छ ।
विगतका आठ दशकको राजनीतिक अभ्यास हेर्दा, नेतृत्वको सोच एउटै ढर्रामा देखिन्छ– पदमा पुग्यो भने सबै जायज । पार्टीका कार्डधारीहरूका लागि नियम छुट्टै, आमनागरिकका लागि नियम अर्कै । कानुन र न्यायको अर्थ शक्तिशालीका लागि ढाल, कमजोरका लागि हतियार बनेको थियो । त्यही कारण, दलहरू सत्ता कब्जाको साधन बने । सिद्धान्त पुस्तिकामा मात्रै सीमित भए । जनयुद्ध, आन्दोलन र परिवर्तनका नारा बोकेका दल सत्तामा पुग्नेबित्तिकै पुरानै मानसिकता दोहोर्याउँदै गए ।
जेनजी विद्रोहले यस सोचलाई तहसनहस गरिदियो । जनताले महसुस गरे– दलको आडमा राज्य चलाउनेहरूको नैतिक वैधता समाप्त भइसकेको छ । अब शासनको मूल्य ‘धन र बल’ होइन, इमान र त्याग हो भन्ने बोध पलायो ।
नेपालको इतिहासमा सत्ता हातमा पाउने जो कसैले त्यसलाई आफ्नै परिवार र समूहको सम्पत्ति ठाने । तर यसपटकको आन्दोलनले नयाँ मूल्य जन्मायो– त्याग । जसले परिवर्तन सम्भव बनायो, उसले शासन आफ्नै हातमा लिएन । बरु शक्ति अरूलाई हस्तान्तरण गर्यो । त्यो सानो कुरा होइन– यो राजनीतिक संस्कारको पुनर्जन्म हो । जुनबेला काठमाडौंका मेयरलाई प्रधानमन्त्री बन्न आग्रह गरिँदै थियो, उनले ‘म होइन, नयाँ पुस्तालाई मौका दिनुपर्छ’ भनेका थिए । यही मनोविज्ञान– सत्ताभन्दा सेवा ठुलो हो भन्ने चेतनाको अभिव्यक्ति हो ।
जेनजी विद्रोहले राजनीतिक दलहरूको आधारभूत मनोविज्ञान नै उल्ट्याइदियो । कांग्रेसमा अब ‘धनीले आफ्नो सम्पत्ति जोगाउने’ सोच घट्दै छ । कम्युनिस्ट पार्टीभित्र ‘गरिबको सुरक्षाको नाममा आफ्नै स्वार्थ’ गर्ने बानी प्रश्नमा परेको छ । क्षेत्रीय दलहरूले पनि अब जातीय वा भूगोलको राजनीति होइन, समान अवसरको नारा दिन थालेका छन् । यो रूपान्तरण केवल नेतृत्वको होइन– जनताको सोचकै स्तरमा भएको परिवर्तन हो । अब नागरिक दलको झन्डा हेरेर होइन, नेताको चरित्र हेरेर साथ दिन तयार छन् ।
विगतमा अकुत सम्पत्ति कमाउनेहरूलाई कानुनले कहिल्यै छोएन । तर अहिले परिस्थिति उल्टिएको छ । जसले अर्बाैं सम्पत्ति जोडे, उनीहरू घरभित्र लुक्न विवश छन् । विदेश भाग्ने बाटो बन्द छ । यो कुनै कानुनी सजाय होइन, जनभावनाको कारागार हो– जहाँ अपराधीलाई समाजले अस्वीकार गरेको छ । पहिलोपटक नागरिकले महसुस गरे– ठुलो व्यक्तिलाई पनि दण्डित गर्न सकिन्छ । यो अनुभूति नै नयाँ नेपाल निर्माणको पहिलो ढुंगा हो ।
विगतमा नेताले पदमा मरेर मात्र छोड्थे । अहिले भने परिस्थिति बद्लिएको छ । साना दलका नेताहरूले स्वेच्छाले पद त्यागेका छन्, ठुला दलहरूमा पनि जनदबाबले नेतृत्व हल्लाउन थालेको छ । यो केवल राजनीतिक फेरबदल होइन, आत्ममूल्यांकनको मनोविज्ञान हो । पहिले दलभित्र नेताको आलोचना ‘विद्रोह’ ठानिन्थ्यो, अहिले ‘सुधारको संकेत’ ठानिन थालिएको छ । यसैले अब कुनै पनि पार्टीमा नेतृत्व परिवर्तन माग्नु अपराध होइन, लोकतान्त्रिक अधिकार भएको बुझाइ पलाएको छ ।
भदौ २३ र २४ का घटनाले धेरै घाउ छोडे । तर त्यसका बीचमा पनि आशाको किरण थियो– सर्वोच्च अदालतमा लागेको आगो निभाउने जेनजी उमेरका कानुन विद्यार्थीहरू । उनीहरूले देखाएका आँसु र साहसले सन्देश दियो– यो पुस्ता हिंसामा होइन, न्याय र जिम्मेवारीमा विश्वास गर्छ । विद्रोहको मनोविज्ञान अब ध्वंस होइन, निर्माण हो । उनीहरू पुरानो राजनीतिक जालो जलाउन होइन, नयाँ विश्वास निर्माण गर्न सडकमा उत्रिएका हुन् ।
आन्दोलनले संविधान जलाएन– बरु संविधानको आत्मा जगायो । जसरी बेलायतबिना संविधान चलिरहेको छ, भारतले सयौंपटक संविधान संशोधन गरे पनि संविधानको आत्मा बचाएको छ, त्यसरी नै नेपालले पनि संविधानलाई गतिशील दस्ताबेजका रूपमा बुझ्न थालेको छ । अब जनताले बुझेका छन्– संविधानभन्दा माथि जनताको इच्छा हुन्छ । तर जनताले नै संविधान बनाए, त्यसैले त्यसलाई जोगाउने जिम्मेवारी पनि उनीहरूकै हो । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउने माग अस्वाभाविक होइन । तर त्यस प्रक्रियालाई हिंसाभन्दा संवादको बाटोले अघि बढाउनुपर्छ– जेनजी पुस्ताको चेतना यही हो ।
यो विद्रोहले पुराना दलहरूको दम्भलाई हल्लायो, सत्ता सुविधामा रमाउनेहरूको सुखहरण गर्यो । तर त्यससँगै, देशले एउटा नयाँ मनोवैज्ञानिक पुनर्जागरण पायो– राजनीति अब लाभको व्यवसाय होइन, त्यागको जिम्मेवारी हो । पद अब सत्ताको प्रतीक होइन, सेवाको अवसर हो । नेतृत्व अब भाषण होइन, व्यवहारबाट मापन गरिन्छ । अब जनता नेताको पार्टी होइन, जीवनशैली र निष्ठा हेरेर समर्थन गर्छन् । ओबामा, मोदी वा आडवानीजस्ता नेताहरूको सामान्य जीवनशैली नेपाली जनताका लागि उदाहरण बनेको छ ।
जेनजी विद्रोहले नेपाललाई केवल नयाँ सरकार होइन, नयाँ सोच दियो । अब राजनीतिमा प्रवेश गर्नेहरूलाई जनताको सेवा, इमान र त्यागका मूल्यहरू आत्मसात् गर्नुपर्नेछ । दलहरूलाई पनि वर्गीय, क्षेत्रीय र व्यक्तिगत स्वार्थ त्यागेर नयाँ पुस्तासँग सहकार्य गर्न सिक्नुपर्नेछ । यो पुस्ताले शक्ति हातमा लिँदै पनि दमन होइन, संवाद रोजेको छ । संसारका इतिहासमा दुर्लभ यस्तो आन्दोलन हो, जसले शासन जितेर पनि शासन अरूलाई दिएको छ । यसैले, जेनजी आन्दोलन कुनै समाप्ति होइन– यो राष्ट्रको मानसिक पुनर्जन्म हो । पुराना नेताहरू अझै पनि सत्तामा टाँसिएर बस्न सक्छन् तर जनताको मनोविज्ञान फेरिएको छ । अब परिवर्तन केवल राजनीतिक होइन, मनोवैज्ञानिक स्तरमा स्थायी रूपमा स्थापित भइसकेको छ ।