
स्टार्टअप व्यवसायमा युवा व्यवसायीको रुचि बढीरहेको देखिन्छ । स्वदेशमै केही नयाँ उद्यम गर्ने युवा पुस्ताको चाहना बढेपनि नेपालको राजनीतिक परिस्थितिले भने उनीहरूलाई निराश बनाइरहेको छ । देशमा विभिन्न कारणले लगानीको वातावरण बन्न नसक्दा युवा जनशक्ति पलायन भइहरहेको धेरैले विश्लेषण गरेका छन् । व्यावसायिक घरानामा रहेका नयाँ पुस्तामा समेत राजनीतिक अस्थिरताले नकारात्मक प्रभाव पारेको देखिन्छ । यसै सन्र्दभमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेसँग मध्यान्हका छबि सापकोटाले अर्थतन्त्र र देशको पछिल्लो परिस्थितिलाई युवा उद्यमीले कसरी लिएका छन् भन्ने विषयमा कुराकानी गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको प्रहारलाई युवा व्यवसायीले कसरी लिएका छन् ?
युवा व्यवसायी मात्र होइन अहिले सम्पूर्ण निजी क्षेत्र अन्योलको स्थितिबाट गुज्रिरहेको अवस्था छ । जेनजी आन्दोलनपछि युवा उद्यमीलाई डर उत्पन्न भएको छ । नेपालमै लगानी गरेर रोजगार र अर्थन्त्रमा योगदान दिएका लगानीकर्ताले सुरक्षाको प्रत्याभूति पाएका छैनन् । स्वदेशमै सानो ठूलो व्यवसायमा केन्द्रित रहेका युवा पुस्तामा थप अन्योलको वातावरण बनेको छ ।
युवा व्यवसायीमा अब देशले कस्तो राजनीतिक कोर्स लिन्छ ? लगानी गर्ने कि नगर्ने ? व्यवसायीलाई कसरी बचाउने भन्ने चिन्ता थपिँदै गएको छ । नयाँ अन्तरिम सरकारले नीतिगत तहमा व्यवसायमैत्री निर्णय गर्ने सम्भावना कम छ । जसले गर्दा व्यवसाय गर्ने जो केहीमा पनि अहिले एकदमै अन्योल र त्रासको स्थिति देखिएको छ ।
हसोत्साहित र त्रासमा रहेको युवा उद्यमीको लागि सरकारले गर्नुपर्ने के हो ?
आन्दोलनमा उद्योग तथा व्यवसाय गर्नेलाई निशाना बनाइयो । अझै पनि आन्दोलन के हुने हो ? फेरि कसले के गर्ने हो भन्ने प्रकारको चिन्ता देखिएको छ । आन्दोलनबाट बनेको सरकारको समेत स्थायित्व देखिँदैन । अहिले देशमा लगानीको वातावरण छैन भन्ने नै छ । आन्दोलन अघि समेत लगानीकर्ताको मनोवल कमजोर नै थियो । बैंकले सस्तोमा ऋण दिँदा समेत लिने लगानीकर्ता थिएनन् । अहिले झनै अस्थिरता देखिएको अवस्थामा कसैले थप लगानी गर्छ भन्ने छैन । त्यसैले अब उद्यमशीलताको विकास गर्ने हो भने व्यवस्थित नीतिगत निर्णय गरेर आत्मविश्वासको वातावरण बनाउन आवश्यक छ ।
उद्योगीले गरेको योगदानको मापन छैन । व्यवसायी, उद्यमी बदमास हुन् भन्ने भाष्य खडा गराईको छ । व्यापार व्यवसाय, उद्यम गर्नेलाई सम्मान गर्ने जबसम्म वातावरण बन्दैन लगानीकर्तामा आकर्षण आउँदैन । उद्यमीले प्यान÷भ्याट नम्बर लिएर कर तिर्छ । तर, यहाँ नाफा गर्नु, व्यवसाय गर्नुलाई कुनै अपराध जस्तो वातावरण सिर्जना गरिएको छ । त्यसैले यस्ता प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । जेनजी आन्दोलनमा पनि व्यवसायिक प्रतिष्ठानहरूमाथि भएको आक्रमण हेर्दा व्यवसाय गर्नु चाहिँ ठूलो अपराध हो जस्तो देखाइएको छ । अब युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति बनेन भने देश धेरै पछि पर्छ ।
भनेपछि युवा उद्यमीहरूको मनोविज्ञान पछिल्लो समय थप कमजोर बनेको छ ?
ठ्याक्कै अहिलेको अवस्था हेर्दा कुनै पनि व्यवसाय गर्नको लागि सकारात्मक वातावरण छैन । देशमा ठूलो लगानी गरेर सञ्चालनमा रहेका २६ वटा उद्योगमा विद्युत्को लाइन काटेपछि बन्द छन् । आन्दोलनमा समेत निजी क्षेत्र टार्गेट गर्दा ठूलो लगानीमाथि आगजनी, तोडफोड, लुटपाट भयो । लगानीकर्ताले कसरी आफ्नो लगानीलाई सुरक्षित गर्ने मात्र सोच्नुपर्ने अवस्था छ ।
यसअघि व्यवसाय गर्ने पुस्ताले द्वन्द्वकाल र विभिन्न आन्दोलनमै संघर्ष गरे । कति पलायन भए, कति अब राम्रो होला कि भनेर मात्र टिक्ने काम गरे । नेपालको उद्यम व्यवसाय अहिले संक्रमणबाट गुज्रिँएदै आएको छ । अहिले नयाँ पुस्ता केहि राम्रो होला कि भनेर व्यवसायमा होमिएका छन् । तर, अहिलेको परिस्थिति हेर्दा अस्थिरताले अझै व्यवसायिक वातावरण बिग्रिने हो की भन्ने चिन्ता थपिएको छ ।
२०६२÷६३ को जनआन्दोलनपछिको ट्रान्जिसनको पिरियड पाँच÷सात वर्ष राजनीतिक अस्थिरता व्यावसायिक वातावरण खराब भएको अवस्था थियो । अहिले ठ्याक्कै त्यही अवस्था देखिएको छ । त्यस कारणले गर्दा अब नयाँ पुस्तामा .अब व्यवसाय गर्न सकिन्न कि भन्ने निराशा हाबी भएको देखिन्छ । अन्य देशहरूमा नयाँ व्यवसाय गर्नेलाई कसरी अगाडि बढाउने, कसरी लगानीकर्ता आकर्षित गर्ने भन्ने सोचमा लागिरहेको अवस्थामा नेपालमा भने कसरी व्यवसायी बाँच्ने ?, कसरी टिक्ने ? भन्ने चिन्ता मात्र छ ।
यो परिस्थितिले देशको अर्थतन्त्रलाई कस्तो असर गर्छ ?
नेपाल अथाह सम्भावना भएको मुलुक हो । देशमा अवसर धेरै छन् । त्यसलाई हामीले क्यापिटलाइज गर्न सकिरहेका छैनांै । राजनीतिक, सामाजिक, आर्थिक लगायत विभिन्न कारणले गर्दा हामीले नेपालको भर्जिन ल्याण्डलाई क्यापिटलाइज गर्न सकिरहेका छैनौं । देशमा विकासको प्रचुर सम्भावना भएकले अर्थतन्त्र माथि लैजान धेरै समय लाग्दैन । व्यावसायिक क्षेत्रको लागि गर्न सक्ने धेरै नै ठाउँ छ । तर, अहिले जुन जटिल परिस्थिति सिर्जना भएको छ, त्यसले चाहिँ अलिकति वातावरण बिग्रिएको छ, अर्थतन्त्रलाई अवश्य असर पुर्याएको छ । साथै, समयमा नै राज्यले सुधारको पहल नगर्ने हो भने थप बिग्रन सक्छ ।
अब व्यवसाय तथा उद्यमीमैत्री वातावरण बनाउन के गर्नुपर्छ ?
मुलकमा लगानीको वातावरण बनाउनको लागि पहिला देशले राजनीतिक निकास पाउनुपर्छ । यो वा त्यो बाहानामा देशलाई प्रयोग गर्नु हुँदैन । नेपाल लगानी गर्न सुरक्षित छ भनेर हरेक व्यक्तिलाई ढुक्कले काम गर्ने वातावरण बन्नुपर्छ । नेपालमा लगानी गरे राम्रो प्रतिफल प्राप्त गर्ने अवस्था बन्ने हो भने विदेशमा गएका नेपाली समेत फर्केर लगानी गर्न सक्छन् ।
अरु देशले लगानी गर्नेलाई फूलमाला लगाएर स्वागत गरिहेका छन् तर, हाम्रोमा भएका लगानीकर्तालाई कसरी हतोत्साहित बनाउने सोचको विकास भइरहेको छ । अहिले मुलुक संक्रमणकालीन समयमा छ । जबसम्म देशको राजनीतिक निकास ठिक ढंगले हुँदैन, लगानी हुने वातावरण बन्दैन । अब सबै जनाले व्यक्तिगत फाइदा भन्दा मुलुकलाई कसरी स्थायी निकास दिने भनेर लाग्नुको विकल्प छैन ।