 
    
    
        
        
  
 
                  
निर्णायक अवस्थामा नरहेका जेनजी आन्दोलनकारीहरूको व्यवहार यति टाढासम्म पुग्छ भनेर कसैले सोचेको थिएन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको हिंस्रक व्यवहारले देशलाई फेरि एकपटक राजनीतिक सहिष्णुताको कठघरा अगाडि ल्याइदिएको छ । भिडले गलत नियतका साथ कानुनलाई आफ्नै हातमा लिँदै अमर्यादित हातपात र अनुशासनहीन व्यवहार प्रदर्शन गर्यो । व्यक्तिगत रिसइवी, योजनाबद्ध साजिस र उन्मादले गर्दा घटनाले सामान्य विरोधको सीमाना पार गर्यो । न त त्यहाँ विवेक बाँकी रह्यो, न मानवीय मर्यादा । हदभन्दा बाहिर गएका ती कार्यहरूले केवल व्यक्तिलाई होइन, सम्पूर्ण समाजको सभ्यता र कानुनी संस्कृतिलाई पनि प्रश्नमा ल्याइदिएका छन् ।
लिबियाका पूर्वशासक मुअम्मर गद्दाफीलाई निर्मम रूपमा मारियो तर आज लिबियालीहरूले त्यस घटनाको पछुतो मानिरहेका छन् । सद्दाम हुसेनलाई झुन्ड्याएर मारियो तर इराकी जनता अहिले पनि ‘गलत गर्यौं’ भन्दै अल्लाह पुकारिरहेका छन् । देउवामाथि भएको व्यवहारले पनि हामीलाई सोध्छ– हामी किन बारम्बार भावनाको उन्मादमा विवेक गुमाउँछौं ?
पञ्चायतले, राजाले र जेनजी आन्दोलनले नमार्न सकेका एक घाइते आज उपचारका लागि विदेशतिर लागेका छन् । उनको अवस्थाभन्दा पनि समाजको मानसिकता अहिले परीक्षामा परेको छ– हामी किन विरोधका नाममा मानवीयताको सीमा भुल्छौं ?
आजको नेपाली समाजमा सामाजिक चेतनाको आवश्यकता यतिबेला सबैभन्दा बढी देखिन्छ । तर हामी ‘ली क्वान यु’ वा ‘महाथिर मोहम्मद’ जन्माउने बाटोमा होइन, बरु सामाजिक सञ्जालका भीडभाडमा ‘आक्रामक मिलिट्यान्स’ जन्माउने बाटोमा हिँडिरहेका छौं । ‘डिस्कोर्ड’, ‘फेसबुक’, ‘टिकटक’जस्ता डिजिटल प्लेटफर्महरूले एक किसिमको विचारगत भीड–संस्कृति सिर्जना गरिदिएका छन्, जहाँ विवेकभन्दा भावना बलियो बन्छ । हिजो देउवाको टाउकोमा परेको प्रहार भोलि हाम्रै टाउकोमा नपरोस् भन्ने ग्यारेन्टी छैन ।
अर्जुनको पुत्र अभिमन्यु मात्र १६ वर्षका युवक थिए । उसले चक्रव्युहभित्र पस्ने उपाय जान्थ्यो तर बाहिर निस्कने उपाय नजानेकाले कुरु पक्षका वीरहरूले युद्धको नियम तोडी उसमाथि आक्रमण गरे । युद्धपछि तीमध्ये धेरै जना पछुतो मान्न पुगे । आज पनि हामी त्यही अवस्थाको पुनरावृत्तिमा छौं– भावनाले विवेकमाथि आक्रमण गर्दा समाज नै दिशाहीन बन्छ ।
नेतृत्वको उत्तरदायित्व र समाजको स्मृति शासनमा बस्नेहरूलाई गाली, आलोचना र दोष पर्नु स्वाभाविक हो । तर समस्या तब सुरु हुन्छ, जब समाजले राम्रा काम बिर्सेर केवल नराम्रा कुरा मात्र सम्झन्छ । त्यही कारणले सार्वजनिक पद धारण गर्नेहरूले दीर्घकालीन सोच, सर्वमान्य निर्णय र कानुनी शासनको आदर्शमा अडिनु जरुरी छ । किनकि नेतृत्वको मूल्य केवल लोकप्रियतामा होइन, दीर्घकालीन संस्थागत सोच र कानुनी मर्यादामा नापिन्छ ।
अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका मुलुकका सबै तह र तप्काबाट हाम्रो समाज फेरि विवेक, सहिष्णुता र स्मृतिको न्यायमा फर्कियोस् ।