२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

जेनजी आन्दोलन र कांग्रेसको रोडम्याप

shivam cement
रामगोपाल न्यौपाने
२०८२ कार्तिक ९ गते ०६:००
जेनजी आन्दोलन र कांग्रेसको रोडम्याप

संगठनको शक्ति एकतामा हुन्छ । नेपाली कांग्रेसका सिपाहीहरू जब सकारात्मक सोच, सहकार्य र सम्मानको संस्कृतिसँग अघि बढ्छन् तब मात्रै संगठन बलियो हुन्छ । जुन संगठनले समाजमा अपेक्षाकृत भूमिका पनि खेल्न सक्छ । २०४६ को जनआन्दोलनदेखि आजको डिजिटल युगसम्म, नेपाली कांग्रेसले लोकतन्त्रको बाटोमा नेतृत्व गरेको छ । अब नयाँ पुस्ता जेनजीले त्यस यात्रामा नयाँ सोच, प्रविधि र जनमूलक दृष्टिकोण ल्याएको छ ।

पुराना नेताहरू अनुभव, मार्गदर्शन र स्थायित्वका प्रतीक हुन्, यदि पार्टीले उनीहरूलाई उचित सम्मान र पदीय भूमिकामा राखेर सल्लाह, मार्गदर्शन र सहकार्यको वातावरण सिर्जना गर्न सक्यो भने हिजोको कांग्रेसको सकारात्मक सोच आज पनि निरन्तर रहन्छ । भनिन्छ– नेतृत्वको निरन्तरता र पुस्ताको समन्वय नै संगठनको बल हो । व्यक्ति नहुन सक्छ तर नेपाली कांग्रेस रहिरहन्छ, किनकि कांग्रेस विचार, मूल्य र जनसेवाको धरोहर हो । 

जेनजी पुस्ता (वि.सं. २०५५ पछि जन्मिएका युवा) अब केवल दर्शक होइन, परिवर्तनका चालक हुन् । तिनीहरूको सोच पारदर्शी, परिणाममुखी र राष्ट्रिय आत्मनिर्भरता केन्द्रित छ । त्यसैले कांग्रेसका लागि यो पुस्ता ‘सकारात्मक चुनौती’ हो । उनीहरू दलको सोचभन्दा माथि उठेर देश, इमान र नतिजा खोज्छन् । जेनजीबाट कांग्रेसले सिक्नुपर्ने तीन कुरा छन् – प्रविधिमैत्री पारदर्शिता, डिजिटल प्लेटफर्ममार्फत जनतासँग सीधा संवाद, कामको परिणाममा आधारित राजनीति र स्वतन्त्र सोच, सहिष्णुता र सामाजिक न्यायप्रति प्रतिबद्धता । जेनजीले कांग्रेसलाई आलोचना होइन, पुनर्जागरणको अवसर दिएको छ ।

देशमा राजनीतिक अस्थिरता, अविश्वास र युवा निराशा बढ्दै गएको छ । तर, यो नै कांग्रेसका लागि नयाँ अवसर पनि हो । यदि पार्टीले आफ्ना पुराना कमजोरी आत्मसमीक्षा गरेर नयाँ पुस्तासँग सहकार्य गर्न सक्यो भने, फेरि कांग्रेस नै राष्ट्रिय नेतृत्वको केन्द्र बन्न सक्छ । यद्यपि, कांग्रेस कस्तो हुने भन्ने कु्रा कांग्रेसको रणनीतिक रोडम्याप (आगामी बाटो)मात्रै तय गर्नसक्छ । जसबारे संक्षिप्तमा चर्चा गरिएको छ ।

संगठनात्मक एकता र सुधार गुट–उपगुट अन्त्य गरी साझा नीति र निर्णयमा कार्यान्वयन सुनिश्चितता, सबै तहका समितिहरूमा युवाको न्यूनतम ४० प्रतिशत सहभागिता अनिवार्य छ । संगठन–नीति–कार्यक्रम लाई जनस्तरसम्म पु¥याउने डिजिटल संवाद संयन्त्र सञ्चालन गर्नुपर्छ । यसैगरी, युवालाई कृषि, उद्यम र प्रविधिको लगानीका अवसर दिँदै शिक्षा र स्वास्थ्यमा समान पहुँचको नीति अबलम्बन गरिनुपर्छ । सार्वजनिक–निजी साझेदारीको नयाँ मोडेल, भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता नीति आवश्यक छ । वातावरणीय रूपान्तरण र हरित अर्थतन्त्रमार्फत युवाहरूलाई जोड्नुपर्छ ।

पुराना नेताको अनुभव र नयाँ पुस्ताको नेतृत्व संयोजन, पूर्व नेताहरू सल्लाहकार परिषद् मार्फत नीति निर्देशनमा रहने परिपाटी अपनाउनुपर्छ । सामाजिक र जन स्तरीय पहल, स्थानीय तहमा नागरिक सहभागितामूलक विकास योजना, समुदायमा आधारित सामाजिक सेवा अभियान (रक्तदान, वृक्षारोपण, सरसफाइ, सहकारी सशक्तीकरण) चलाइनुपर्छ । 

भनिन्छ, एकता हाम्रो शक्ति हो, सम्मान हाम्रो संस्कार हो । पुराना नेताको अनुभव दिशा हो, नयाँ पुस्ताको जोश गति हो । जेनजीले प्रश्न त गर्छ, तर उत्तर पनि खोज्छ– कांग्रेसले त्यो उत्तर दिनुपर्छ । जब कांग्रेस सकारात्मक सोच र सहयोगी मनले अघि बढ्छ– संगठन कमजोर हुँदैन, अझ बलियो हुन्छ ।

हिजोको कांग्रेसले देशलाई लोकतन्त्र दियो, आजको कांग्रेसले युवालाई आशा दिनुपर्छ । कांग्रेसजन सबै मिलेर यदि सम्मान, सहकार्य र परिणाममुखी सोचका साथ अघि बढ्यो भने कांग्रेस पुनः देशको विश्वासिलो शक्ति र भविष्यको आधार बन्नेछ । व्यक्ति नहुन सक्छौँ, तर कांग्रेस रहन्छ; कांग्रेस रहिरहन्छ, जबसम्म कांग्रेसजनले एकताको संस्कारलाई जीवित राख्नेछन् ।

(लेखक न्यौपाने, नेपाल किसान महासंघ पूर्व केन्द्रीय सदस्य हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise