२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

दसैं : एक भावनात्मक समय

Nada
नीलम कार्की 'निहारिका'
२०८३ कार्तिक ३ गते ०९:०२
Shares
दसैं : एक भावनात्मक समय

नेपालीहरू जहाँ–जहाँ पुगेका छौं, सकेसम्म आफ्नो संस्कृति, आफ्ना संस्कार र चाडपर्वलाई आफूसँगै लिएर हिँड्छौं । आज मात्र होइन तीन–चार पुस्ताअघिदेखि फिजी अनि बर्मा, भुटानका नेपालीले मनाउने गरेको चाडपर्वलाई हेर्दा पनि थाहा हुन्छ । हामी सन् २००७ मा अमेरिका आउँदा सुरुका तीन वर्ष न्युयोर्कमा रह्यौं । त्यो वर्ष मेरो जीवनको पहिलो अभिभावकबिनाको दसैं थियो । नेपालमा दसैंको टीका भनेको निधारमा अक्षता र रातो टीका मात्र होइन, त्यससँग हर्ष आशीर्वाद मिसिएको हुन्छ, आफन्तको माया र आत्मीयता मिसिएको हुन्छ । तर परदेशमा टीका त लाइयो तर अभिभावकको हातबाट टीका ग्रहण गर्न नपाउँदा अर्थपूर्ण भएन त्यो दसैं ।

ncell

पछि  नेपालीहरू निकै कम भएको ठाउँमा पुगियो । त्यहाँ झन् दिक्क लाग्दो हुने नै भयो । अहिले फेरि ठुलो नेपाली समुदाय भएको ठाउँमा आइपुगेका छौं । यहाँ नेपाली संस्था पनि छ । रगतको नाता नपरे पनि नेपालीहरू एक–अर्कालाई परिवार सम्झेर भेटिन्छन् । टीका लाइन्छ, आशीर्वाद साटिन्छ र परदेशमा आफ्नो घरदेशको अनुभूति खोज्ने असफल प्रयास गरिन्छ ।

म ग्रामीण परिवेशमा हुर्किएकी हुँ । गाउँमा दसैं भनेपछि एउटा घर मात्र होइन, सिंगो गाउँ नै आफन्त जस्तो हुन्थ्यो । सबैका घरमा जाने, टीका लगाउने, ठुलाबडाबाट आशीर्वाद लिने र घर–घरमा पुगेर रमाइलो गर्ने चलन थियो । सहरमा त्यही आत्मीयता अलि फरक हुन्छ, त्यो पनि अनुभव गरेँ । र, परदेशमा त झन् फरक हुने नै भयो । यो फरक पनि अनुभव आत्मसात् गर्दै बाँचेको छु । 

जीवनसँगै  दसैं  पनि हामीसँगै यात्रा गर्दै आयो । गाउँबाट सहर, सहरबाट अर्को सहर, जिल्लाबाट, अञ्चल, राजधानी र राजधानीबाट घरदेश नै छोडेर परदेशसम्म । ठाउँ फेरिएसँगै दसैं मनाउने तरिका केही बदलिँदै गयो । तर मनभित्रको त्यो दसैं भने उस्तै रहिरह्यो । 

परदेशमा दसैं आउँदा नेपालीहरू एक–अर्काको घरमा बोलाउँछन्, भेटघाट गर्छन्, नाचगान गर्छन् र सामूहिक रूपमा चाड मनाउँछन् । नेपाली संघ–संस्थाहरूले पनि दसैं, तिज र नेपाली नयाँ वर्षजस्ता अवसरमा सांस्कृतिक कार्यक्रम तथा ठुला जमघट आयोजना गर्ने गर्छन् । यस वर्ष नेपालको विपद्का घटनाका कारण तिजका कार्यक्रम स्थगित गरिएका थिए । म बस्ने नर्थ क्यारोलाइनामा दसैंका अवसरमा नेपालबाट केही कलाकार निम्त्याएर कार्यक्रम आयोजना हुँदै छ । 

यतातिर आफ्नो चाड मनाउनु छँदै छ । अनि अर्को  उद्देश्य बालबच्चाका लागि दसैंको अर्थ अझ महत्त्वपूर्ण रूपमा बुझाउनुपर्ने दायित्व परदेशमा हुन्छ । उनीहरूलाई टीका लगाइदिने, आशीर्वाद दिने र आफ्ना संस्कार तथा संस्कृति परम्पराहरूलाई निरन्तरता दिनको निम्ति महत्त्व बुझाउने अवसर हो ।

तर परदेशमा जति प्रयास गरे पनि घरदेशको दसैंको मिठास कहाँ आउँछ र ? आफ्नै देशभित्र पनि कुनै वर्षको दसैंमा कामविशेषले गाउँघर जान नपाएका बेला एक किसिमको खालीपन हुन्छ भने घरदेशबाट टाढा परदेशमा हुँदा त्यो अनुभूति झन् गहिरो हुन्छ नै । त्यसैले सकेसम्म दसैंको बेला आफ्नो घरदेश फर्किने कोसिस धेरैको हुन्छ ।

अघिल्लो वर्ष नेपालमा जेनजी आन्दोलनका क्रममा भएको दुःखद घटनाले परदेशमा दसैंको खुसी थिएन । चाड आयो, टीका त लगाइयो, भेटघाट पनि भयो, तर मनले खोजेजस्तो रमाइलो हुन सकेन । यो वर्ष पनि त्यही पीडाको स्मृति ताजा नै छ । अझ भोटेकोशीको बाढीले धेरै नेपालीको मनमा उल्लास छैन ।

समयले एकपछि अर्को गर्दै हामीसँग जोडिएका आफ्ना मान्छेहरू टाढा बनाउँदै लगेको छ । त्यसैले हामी चाडपर्व मनाउँछौं, खुसी हुने प्रयास गर्छौं, आफ्ना बालबच्चालाई संस्कृति सिकाउँछौं र एक–अर्कासँग आत्मीयता बाँड्छौं । तर त्यो बाल्यकालको दसैं अभिभावकको हातबाट पाएको टीका र घरदेशको आँगनमा हुने त्यो खुसी, त्यो मिठास परदेशमा जति खोजे पनि भेटिँदैन । अभिभावक गुमाएकाहरूका लागि चाडपर्व भनेको मान्ने होइन मनाइदिने बाध्यताजस्तो हुने रहेछ ! यो अनुभव पनि छ मसँग । अनि, परदेशको दसैं धार्मिक आस्थासहितको चाड मात्र होइन, सम्झनाको एउटा लामो यात्रा पनि हो । टाढाको घर, गाउँ, अभिभावक, आफन्त र बाल्यकालको त्यो संसारतिर फर्किरहने एउटा भावनात्मक समय हो । 

uae

सम्बन्धित खबर