
काठमाडौं : ११औं महाधिवेशन आउन डेढ महिना बाँकी रहँदा नेकपा एमालेमा नयाँ धुव्रीकरण देखिन थालेको छ । जेनजी विद्रोह र विध्वंशबाट सत्ता गुमाएका अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब छ । तर उनी अध्यक्षमा तेहेरिने तयारीमा छन् ।
जेनजी विद्रोह (२३–२४ भदौं)का कारण राजीनामा गर्न बाध्य भएका ओली केही समय चुपचाप बसे । त्यसबीच ओलीलाई महाधिवेशनअघि नै हटाउन संस्थापनइतर समूहले पूरै शक्ति लगायो । तर अर्ली महाधिवेशनको प्रस्तावले त्यो योजना तुहियो । अर्को, ओलीको विकल्पमा दुई कार्यकाल राष्ट्रपति भइसकेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई अघि सारेका कारण पनि नेतृत्व हस्तान्तरणको मुद्दा कमजोर बन्न पुग्यो । ‘हामी अध्यक्ष कमरेडले अब छाड्नुपर्छ भनिरहेका छौं । उहाँको विकल्प पूर्वराष्ट्रपति होइन, अरू नै नेता हुनुपर्छ,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘सदस्यता नै नवीकरण नभएपछि विद्याजीको च्याप्टर क्लोज भइसकेको छ । अब यसमा लाग्नुहुन्न ।’
गत साउन ५–६ गतेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भइसकेका व्यक्तिको सदस्यता नवीकरण नगर्ने निर्णय लिएको थियो । त्यसलाई विधान महाधिवेशनले पनि उल्ट्याएन । तैपनि, संस्थापनइतर समूह भण्डारीलाई पार्टीमा फर्काउने कसरतमा छन् । उनको पक्षमा सचिवालय बैठकमै बहुमत पुगिसकेको दाबी सो समूहको छ । पछिल्लो बैठकमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेलसमेत भण्डारीलाई रोक्न नहुने पक्षमा उभिए । त्यसले एमालेमा नयाँ ध्रुवीकरणको संकेत पनि गरेको छ । अघिल्लो सरकारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका उपाध्यक्ष पौडेलले ओलीलाई छाडेका रूपमा पनि त्यसलाई अथ्र्याइएको छ । तर संस्थापनइतर समूहले विकल्पमा अर्को नेता अघि नसार्दा एमालेमा नेतृत्व हस्तान्तरणको विषयमै ओझेलमा परेको छ । ‘अब ओली वा विद्याभन्दा अरूबाटै विकल्प खोज्नुपर्छ । अन्यथा पार्टी पुनर्गठन र रूपान्तरणको एजेन्डा नै ओझेलमा पर्छ,’ शाक्यले भनिन् ।
पार्टी पंक्तिमा महाधिवेशनको सरगर्मी बढिरहेका बेला संस्थापनइतर पक्ष पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादलाई पुनः एकपटक बैठकमा उठाउने तयारीमा देखिन्छ । कात्तिक १५ गते महाधिवेशन तयारीका लागि बस्ने सचिवालय बैठकमा सदस्यताको विषय उठ्ने उपाध्यक्ष सुरेन्द्र पाण्डे बताउँछन् । ‘पूर्वराष्ट्रपतिको सदस्यताको विषय च्याप्टर क्लोज भइसकेको होइन । पर्सीको बैठकले टुंगो लगाउँछ,’ उनले मध्यान्हसँग भने ।
संस्थापनइतर पक्षले महाधिवेशन तयारी बैठकमा रणनीतिक रूपमा सदस्यता नवीकरण मुद्दा उठाउन लागेको हो । ओली पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न तयार भए उनैलाई ११औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउने तयारी छ । पार्टीमा फर्किए पनि उनी चुनाव लड्ने छैनन् । प्रधानमन्त्री हुने लोभमा उनी सक्रिय राजनीतिमा फर्किन लागेको आरोप चिर्न संस्थापनइतर समूहले यो प्रस्ताव अघि सारेको हो । ‘चुनाव नलडेर पार्टी चलाउँछु भन्न त पाइन्छ होला नि,’ भण्डारीनिकट एक नेताले भने ।
महाधिवेशनअघि भण्डारीलाई सदस्यता नदिइए यसैलाई मुद्दा बनाएर ओलीसँग भिड्न अर्को नेता तयार पार्ने रणनीतिमा यो समूह छ । महाधिवेशन नजिकिँदै जाँदा उपाध्यक्ष पौडेलसमेत भण्डारीको सदस्यताको पक्षमा उभिनुले ओलीसँग प्रतिस्पर्धा गर्ने नेताको खोजी भइरहेको सन्देश पनि दिएको छ । ‘अबको नेतृत्व कसले गर्ने भन्नेमा हामी छलफलमै छौं । केही दिनमै त्यसको टुंगो लाग्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘त्योभन्दा पहिले विद्या भण्डारीको सदस्यता नवीकरण टुंग्याउँछौं ।’
उपाध्यक्ष शाक्य सकेसम्म अध्यक्ष ओलीलाई ससम्मान बिदा गरेर पार्टी पुनर्गठन गर्नुपर्ने बताउँछिन् । ‘एमाले अप्ठेरोमा छ । हामीले अध्यक्ष कमरेडलाई पनि साथ सहयोग र माया गरेकै हो । माधव नेपालहरूले छाडेर जाँदा पनि अन्तरसंघर्ष गरेर बसेकै हो,’ शाक्य भन्छिन्, ‘तर अब अध्यक्षले ससम्मान बिदा लिनेबेला भयो । उहाँले नमाने विधि र प्रक्रियाबाटै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ ।’
पार्टी संस्थापन भने ११औं महाधिवेशनअघि पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने पक्षमा छैन । केन्द्रीय कमिटीले गरेको निर्णय सचिवालयले उल्ट्याउन नसक्ने तर्क गर्दै स्थायी कमिटी सदस्य राजन भट्टराई सिंगो पार्टी अब महाधिवेशनमा जुट्ने बताउँछन् । ‘हामीले केन्द्रीय कमिटीका ३ सय २८ जनाको विचार सुनिसकेका छौं । महाधिवेशन आउन अब धेरै समय छैन, सिंगो पार्टी त्यसैमा जुट्छ,’ उनले भने, ‘पर्सीको सचिवालय बैठक महाधिवेशको तयारीमै केन्द्रित हुनेछ ।’
पछिल्लो केन्द्रीय कमिटी बैठकमा बोल्ने ८५ प्रतिशतभन्दा धेरै सदस्यले ओलीको पक्षमा मुख खोलेका थिए । जेनजी विद्रोह र विध्वंशमा विदेशी षडयन्त्र रहेको भन्दै संस्थापनले पार्टी पंक्तिलाई सर्कुलर गरेको छ । अध्यक्ष ओली पुनः उठ्नेगरी अगुवा कार्यकर्तासँग भेटघाट तीव्र पारेका छन् । उनीनिकट एक नेताको दाबीअनुसार राष्ट्र र पार्टीका लागि असामान्य संकटका बेला नेतृत्व परिवर्तन गर्नु घातक हुने आममान्यता पार्टी पंक्तिमा विकास भइरहेको छ । त्यसले महाधिवेशनमा जोसुकै प्रतिस्पर्धामा आए पनि आफूले जित्नेमा ओली ढुक्क छन् । संस्थापनइतर दोस्रो तहका नेताहरू पनि ओलीले आफैं नछाडे प्रतिस्पर्धाबाट हटाउन कठिन हुने निष्कर्षमा छन् । त्यसले महाधिवेशनलक्षित ध्रुवीकरणसमेत प्रभावित हुने देखिन्छ ।