२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

स्थानीय चुनाव : शक्ति सञ्चयको रणनीतिमा कांग्रेस, एमाले र नेकपा

Nada
जीवन शर्मा
२०८३ कार्तिक ९ गते ०६:४०
Shares
स्थानीय चुनाव : शक्ति सञ्चयको रणनीतिमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं : ‘विगतका कमजोरी र उपलब्धिको समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन, जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्ने र  त्यसलाई आत्मसात् गर्नुपर्छ,’ शनिबार नेकपाका संयोजक प्रचण्डले भने । राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले देशका तमाम अप्ठ्यारालाई पार गर्न नयाँ संकल्पसहित अघि बढ्ने बताए ।   

ncell

सत्तासीन र प्रतिपक्षी सबै राजनीतिक दलहरू बिस्तारै स्थानीय तहको निर्वाचन केन्द्रित अभियानमा अघि बढेका छन् । त्यसैको तयारीस्वरूप नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान प्रारम्भ गरेको हो । संयोजक प्रचण्डले नेता–कार्यकर्तालाई जनताका बीचमा विनम्र भएर जान र भाषणभन्दा कामबाट विश्वास जित्न निर्देशन दिएका छन् । नेकपाको जागरण अभियान मंसिर २५ गतेसम्म देशव्यापी सञ्चालन हुनेछ । पार्टीमा नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्विकार्दै, विगतका कमजोरीप्रति आत्मालोचित बन्ने र जनजीविकाका सवाललाई उठाउन जागरण अभियान प्रारम्भ गरेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताए । ‘राष्ट्रिय जागरण अभियान पार्टी संगठन निर्माणको अभियान हो,’ उनले भने, ‘यससँगै आगामी स्थानीय तहको चुनावसमेत जोडिएर आउँछ । जनताका सुझाव लिन र विगतका कमजोरीलाई सच्याउन अभियानले मद्दत गर्ने विश्वास छ ।’ 

नेपाली कांग्रेसले यसअघि नै १५औं महाधिवेशनमार्फत नीति र नेता बदलेर नागरिकमाझ आफूलाई नयाँ र भरोसायोग्य बनाउने प्रयास गरेको छ । महाधिवेशनले कांग्रेसलाई पूर्ण रूपमा पुस्तान्तरण र रूपान्तरण गरेको देखाएको छ । यद्यपि कांग्रेसको पुराना पुस्ताको एउटा समूह भने अझै बाहिरै छ । पार्टीको मूल नेतृत्वदेखि केन्द्रीय समितिमा आएका अनुहारमा युवा र विज्ञहरूको वर्चस्व देखिन्छ । ‘परम्पराको सम्मान, परिर्वतको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको कांग्रेसप्रति नागरिकको मन फर्किएको कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले बताइन् । यसले कांग्रेसलाई नागरिकको भरोसायोग्य पार्टी बनाउन सफल हुने उनको दाबी छ । ‘कांग्रेस बोलीमा मात्रै होइन, व्यवहारमा पनि रूपान्तरण र पुस्तान्तर भइसकेको छ,’ उनले मध्यान्हसँग भनिन्,  ‘सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढ्दै गएको अवस्थामा कांग्रेसको १५औं महाधिवेशनले तय गरेका नीति कार्यक्रमले अबको विकल्प कांग्रेस हो भन्ने बनाएको छ । यसलाई अभियानका रूपमा लान्छौं ।’ 

पार्टी सभापति गगन थापाले कांग्रेस विगतमा जस्तो सत्तामुखी नभई जनमुखी भएर नागरिकको सेवा गर्न तयार रहेको बताउँदै आएका छन् । उनले चुनाव हारे पनि कांग्रेसलाई विगतदेखि नै एउटा राजनीतिक दल मात्रै नभई राष्ट्रिय शक्ति भएको दाबी गर्दै आएका छन् । गत प्रतिनिधिसभाको निर्वाचनमा अकल्पनीय हार व्यहोरेको कांग्रेसले केन्द्रीय समितिको पदस्थापनालगत्तै बैठक बसेर आगामी स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा जनमत जित्ने योजनासहितका रणनीति तय गर्ने जनाएको छ । 

आगामी जेठमा गर्ने स्थानीय तहको निर्वाचन केही समय अघि गर्ने सरकारको तयारी छ । सोहीअनुसार निर्वाचन आयोगले समेत फागुन÷चैतभित्रै निर्वाचन गराउन सक्ने बताएको छ । यही निर्वाचनलाई लक्षित गर्दै दलहरू तातेका हुन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव केन्द्रित अभियानलाई दसंैंसँगै गाउँ केन्द्रित गरिसकेको छ । कांग्रेस र नेकपाले पनि आफ्नो तयारी अघि बढाउँदै गर्दा नेकपा एमाालेले पनि पार्टीपंक्तिलाई स्थानीय चुनावी अभियानमा होमिन निर्देशन दिएको छ । जिल्ला तहका नेता–कार्यकर्तालाई जनतासँग पुगेर स्थानीय अवस्था र आवश्यकताका आधारमा रणनीति तय गर्न निर्देशन गरेको नेकपा एमालेकी सचिव पद्मा अर्यालले बताइन् । ‘चुनावको तयारीका निम्ति पुस मसान्तभित्र देशभरका सबै स्थानीय तह र वडाहरूको अधिवेशन एकैसाथ सक्नेगरी तयारी गरेका छौं,’ उनले भनिन्, ‘जनतासँग एमालेको पुरानै अभियानलाई निरन्तरता दिएका छौं । अरू नयाँ कार्यक्रम भनेर पार्टी केन्द्रले केही तय गरेको छैन ।’ 

सरकार नागरिकका पक्षमा काम गर्नेभन्दा पनि एमालेलगायत जनताका पक्षमा अभियान चलाउने राजनीतिक दलहरूप्रति राजनीतिक प्रतिशोध साध्ने काममा तल्लीन भएको उनले दाबी गरिन् । ‘आगामी स्थानीय तहको निर्वाचनमा मतदाताले रास्वपालाई बहिष्कार गर्ने र विगतदेखि जनताको सेवामा लागेका दलका प्रतिनिधिलाई मतदान गर्ने पक्का छ,’ उनको भनिन् । एमालेलाई जनताको माया कायमै रहेकाले आगामी चुनावी रणनीतिभन्दा जनताका समस्याका विषयमा एमालेले कार्यक्रम ल्याउने अर्यालको भनाइ छ ।      

‘फेस टु फेस’को रणनीतिमा कांग्रेस 

असोजको अन्तमा पार्टीको १५औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले नागरिकसँग ‘फेस टु फेस’को राजनीतिक रणनीति बनाउँदै छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत लोकप्रियतावादी बन्ने राजनीतिक परिदृश्यहरू छन् । यसले नागरिक तहको संवाद र समस्या बुझ्नेभन्दा पनि एल्गोरिदमकै आधारमा उम्मेदवार नचिनी मतदान गर्नेहरू गराउने लहड चलेको राजनीतिज्ञहरू बताउँछन् । जसबाट नागरिकका समस्या समाधान नहुने नेताहरूको दाबी छ । ‘कांग्रेस फेसबुके राजनीति गर्दैन, फेस टु फेसको राजनीति गर्छ,’ उपसभापति मधु आचार्यले भने । १५औं महाधिवेशनले कांग्रेसको नीति र नेताको निर्णय गरेको भन्दै उनले यो महाधिवेशनलाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका रूपमा समेत लिएको बताए ।  

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनलाई महाधिवेशनले पारित गरेको थियो । सोही राजनीतिक प्रतिवेदनमा समेटिएका नीति नै पार्टीको मूल नीति भएको कांग्रेसको दाबी छ । उपसभापति आचार्यले कांग्रेस राजनीतिक दल दर्ताका हिसाबले २००३ सालको भए पनि २०८३ को राजनीतिक चेतसहितको कर्म लिएर अघि बढेको बताए । ‘कांग्रेस जन्मका हिसाबले २००३ साल भए पनि राजनीतिक चेत र कर्मका आधारमा सबैभन्दा नयाँ पार्टी हो,’ उनले भने, ‘२००३ सालदेखिको राजनीतिक अनुभव र ०८३ को राजनीतिक चेतसहितको नयाँ नेतृत्वले कांग्रेसको इतिहासलाई सँगै लिएर भविष्य निर्माण गर्नेछ ।’ पार्टीका नवनिर्वाचित केन्द्रीय समितिको शपथलगत्तै बैठक बसेर आवश्यक रणानीति तय गरी स्थानीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियान लिएर जनतामाझ जाने उनले बताए । कांग्रेसले कात्तिक १२ मा केन्द्रीय समितिको शपथग्रहण कार्यक्रम तय गरेको छ । १५औं महाधिवेशनले तय गरेका नीति कार्यक्रमले देशको मूल राजनीतिक शक्ति नेपाली कांग्रेस भएको सन्देश दिएको नेताहरूको दाबी छ । 

राष्ट्रिय जागरण अभियानमा नेकपा 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महाधिवेशन छाडेर जागरण अभियानमा लागेको छ । २४ वटा वाम घटकबीच एकता र तालमेलपश्चात् गत असोजमै गर्ने भनेको पार्टीको महाधिवेशन अलपत्र पारेको छ । महाधिवेशनको कुनै निर्णय नगरेको नेकपाले राष्ट्रिय जागरण अभियान थालेको हो । 

नेकपाले पार्टीको महाधिवेशनभन्दा आगामी निर्वाचनलाई प्राथमिकता दिएको देखिन्छ । सोही निर्वाचनलाई लक्षित गरेर नेकपाले आफ्नो महाधिवेशनभन्दा मौज्दात महाधिवेशन संयोज समितिबाटै स्थानीय तहको निर्वाचन तयारी गर्ने रणनीतिमा रहेको नेताहरू बताउँछन् । नेकपाले अभियानमार्फत संविधान र लोकतन्त्रको रक्षा गर्न, महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आह्वान गरेको छ । 

‘हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठुलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ,’ पार्टी संयोजक प्रचण्डले एक अपिलमार्फत भनेका छन्, ‘महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौं कठिनाइ भोगिरहेका छन् । जनजीविकाका आधारभूत प्रश्न झन् जटिल बन्दै गएका छन् ।’

अभियानमार्फत जनताले भोगेका समस्या स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पु¥याएर समाधानका लागि पहल गर्ने नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताए । पुराना दल र नेताहरूले देशमा केही गरेनन् भन्ने भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने उनको भनाइ छ । २०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले गरेका कामको विस्तृत विवरण सार्वजनिक गर्ने उनले घोषणासमेत गरेका छन् ।  राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेर जनचेतना र जागरण फैलाउन अभियान सुरु गरिएको उनले बताए । नेकपाको पार्टी महाधिवेशन भने अन्योलतातर्फ धकेलिएको छ । पार्टीको महाधिवेशनका सन्दर्भमा पछिल्लो कुनै निर्णय नभएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताए ।

सम्बन्धित खबर