
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गरे ।
पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदमको संज्ञा दिए । सडक बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उनले सरकारको ‘जिम्मेवार’ व्यवहारको उपजका रूपमा व्याख्या गरे ।
उनले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी कार्यको रूपमा चर्चा गरे । आफ्ना विकास निर्माणका काममाथि हुने आलोचनालाई लक्षित गर्दै उनले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषय भएको जिकिर गरे । समृद्धिको यात्राबारे प्रस्ट पार्दै अध्यक्ष ओलीले सुखी नेपाली बनाउनका लागि पहिले दुःख निवारण गर्नुपर्ने बताए ।