२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सबै दलहरू असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : अध्यक्ष लिङदेन

Nada
२०८३ असोज २७ गते १६:५२
Shares
सबै दलहरू असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एक मात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन् ।  

ncell

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको उनको भनाइ छ । उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको पनि बताए । उनले पार्टीको अगामी महाधिवेशनमार्फत पार्टीलाई पुन:जीवन दिने गरी संगठनको पुन:गठन गरेर जानुपर्ने समेत बताए ।

मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई देशको नेतृत्व गर्न सक्ने शक्तिको रूपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ । त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता कार्यकर्ताहरूलाई आग्रहसमेत गरे । उनले पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै सबैका लागि ढोका खुला गर्नुपर्ने गर्नुपर्ने समेत बताए । उनले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनाको पार्टीको एजेण्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए । 

उनले भने, ‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिराखेको छ । सबै जस्तो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइराखेका छन् । यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो । त्यस कारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब आउने चुनौतीको सामना गर्नको लागि तयार पार्ने र आगामी देशको नेतृत्व गर्ने शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तयार पार्ने हाम्रो जिम्मेवारी छ । हाम्रो कर्तव्य छ । हामी सबै कार्यकर्ताहरूको कर्तव्य छ । त्यस कारण मैले तपाईँहरूलाई भन्छु कि यो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यस्तो शक्तिको रूपमा तयार गर्नको लागि हामी परम्परागत रूपमा जसरी हिँडी राखेका छौँ, जसरी चली राखेका छौँ, त्यसले पुग्दैन । मैले पनि जे गरिराखेको छु, त्यसले पुग्दैन । तपाईँहरूले पनि जे गरिराख्नुभएको छ, त्यसले पुग्दैन । हामी सबै बदलिनुपर्छ । र हामी नयाँ ढङ्गले जानुपर्छ र यसलाई एकमुष्टमा भन्ने हो भने आउने महाधिवेशनबाट राप्रपालाई पुनर्गठित गरेर जानुपर्छ । र पुनर्गठित राप्रपा हामीले बोकेर जानुपर्छ । यसको लागि पार्टीमा सबैको लागि ढोका खोल्नुपर्छ । त्यो क्रममा कोही समस्याको रूपमा छन् भने छुट्न पनि सक्छन् । त्यसमा हामीले चिन्ता गर्न हुन्न । अहिले हामी जति छौँ, सैद्धान्तिक रूपमा ती मानिसहरू एकताबद्ध भएर जानुपर्छ । कोही पनि विचलित हुनु हुँदैन । तर व्यावहारिक हिसाबले हामीले यो कुरा पनि बुझ्न जरुरी छ । हामी अहिले जति मान्छे छौँ, त्यति मान्छे मिलेर मात्रै राप्रपा हुँदैन । हामीले अरु मान्छे नबढाउने, आम मान्छेको पार्टीको रूपमा राप्रपालाई विकसित नगर्ने, तर भएका मात्रै अङ्गालो मारेर बस्यौँ भने राप्रपा ठूलो हुन्छ त ? अरूलाई आउन नदिने ? राजसंस्था, हिन्दु राष्ट्र पुन:स्थापनाको कुरा त परको कुरा भइगयो । एउटा साइनबोर्ड मात्रै झुन्ड्याएर बसेर यी हामीले हाम्रो आदर्शहरूलाई स्थापित गर्न सक्दैनौँ । त्यस कारण मैले फेरि पनि भन्छु, हामी सबैले एउटा मनस्थिति अब बनाउन जरुरी छ । एउटा अठोट गर्न जरुरी छ र यो पार्टीलाई पुनर्गठित गरेर अघि बढाउन जरुरी छ । आउने महाधिवेशनमा यो पार्टीलाई पुनर्गठित गरेरै लाने हो, भन्ने अठोटका साथ महाधिवेशनको तयारीमा जुट्न म तपाईँहरू सबैलाई आग्रह गर्दछु ।’

आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरको उपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

सम्बन्धित खबर