
काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा विस्तार गर्ने उद्देश्यले बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ ।
भक्तपुरमा सञ्चालनमा आएको सर्भिस सेन्टरलाई सवारीसाधन बिक्री, सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानबाट उपलब्ध गराउने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टरमा आठवटा सर्भिस बे रहेका छन् । तीमध्ये पाँचवटा हाल सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा ग्राहकको आवश्यकता बढ्दै जाँदा सञ्चालनमा ल्याइनेछन् । उक्त स्थानमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।
भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानबाट प्रेरित भएर सर्भिस सेन्टरको डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ । बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणाअन्तर्गत विकास गरिएको हो ।
यसैबीच, भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ । डल्लुमा निर्माण हुने सेन्टरले काठमाडौं उपत्यकामा सर्भिस क्षमता विस्तार गर्नुका साथै ग्राहकलाई मर्मतसम्भार सेवा थप सहज बनाउने कम्पनीको विश्वास छ ।

शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी, असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङ, दक्षिण एसिया क्षेत्रका आफ्टर सेल्स प्रमुख लिउ सियाओफेङलगायत सहभागी थिए । त्यसैगरी साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको पनि उपस्थिति थियो ।
कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र भरपर्दो मर्मतसम्भार सेवाको उपलब्धता महत्वपूर्ण छ । भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा आउनु र डल्लुमा निर्माण सुरु हुनुले बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने योजनालाई थप बल पुगेको कम्पनीको भनाइ छ ।
साइमेक्स इंकले ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अर्थात् उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने अवधारणाअनुसार नेपालमा बीवाईडीको सेवा पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ । कम्पनीले नयाँ सर्भिस सेन्टरहरूबाट ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज र व्यवस्थित सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।