
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगन कुमार थापा अत्यधिक मतसहित विजयी भए । लामो विराशत बोकेको कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले १५औं महाधिवेशन गरेर बैधानिकरूपमा चार वर्षका लागी पार्टी सत्तामा आएका हुन् ।
उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन् । कुल ५४ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।
यो महाधिवेशनबाट नेपाली कांग्रेसले नयाँ जीवन पाएको नेताहरूले प्रतिक्रिया दिएका छन । ‘लामो बिराशत र इतिहासलाई साक्षी राखेर मुल नेतृत्वमा युवा पुस्ताको जवरजस्त उदयले कांग्रेस पार्टीमा जनलहर बढेको छ,’ नेता प्रदीप पौडेलले बताए । उनले नव युवाहरूको भावना समेटेर थापासँग लामो सहकार्य गने बताए । थापा कुनै राजनीतिक लिगेसी र पारिवारिक विराशत भन्दा बाहिरबाट पहिलो पुस्ताकारुपमा पार्टी नेतृत्वमा पुगेका हुन् । लामो राजनीतिक संघर्ष र लिगेसीकै आधारमा नेतृत्व लिदै आएका पुराना नेताहरु यो महाधिवेशनबाट जबरजस्त बाहिरिए ।
महाधिवेशन उद्घाटन समारोहमा नआएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका केही नेताहरु फरक बाटोमा लागेका छन् । तर पार्टीको मुल बाटोबाट चार वर्षकम लागी सभापति बनेका थापाकासामु आन्तरिक मेलमिलापसँगै जनअपेक्षा अनुसार पार्टी हाक्नुपर्ने चुनौति छ । पूर्वसभापति गिरीजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालाबाहेक कांग्रेसको विराशत धानेका र संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूले महाधिवेशन बहिस्कार नै गरे । तर उनिहरुलाई यस अघिनै जनताले बहिस्कार गरिसकेका कारण पार्टीभित्र समेत कम महत्वकासाथ हेर्न थालिएको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको लिगेसीबाट आएका नेता पूर्वसभापति शेरबहादुर देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्ले महाधिवेशनमा भाग नलिएर सामनान्तर महाधिवेशनतिर लागेका छन् । त्यस्तै संस्थापक नेताहरू बिपी कोइराला र गणेशमान सिंहका पुत्र डा. शशांक कोइराला र प्रकाशमान सिंहपनि त्यतै लागेका छन् । विपीपुत्र शशांकले समानान्तर महाधिवेशनमो नेतृत्व गरेर कांग्रेस विभाजनको बाटोलाई फराकिलो बनाएर आरोप समेत लाग्दै आएको छ ।
गणेशमासिंह पुत्र प्रकाशमान उनकै मुख्य सहयोग बनेका छन भने गिरीजाप्रसाद कोइरालासँग नजिक रहेर काम गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र कोइरालाको लिगेसी धान्न तयार भएका नेता डा.शेखर कोइराला समेत यो महाधिवेशनमा सहभागी नहुँदा कांग्रेस पार्टीमा संस्थापक नेताहरुको लिगेसी, विराशत अन्त्य भएको हो । अहिले गगन थापा, विश्प्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे र पुष्पा भुसालले कांग्रेसको पहिलो पुस्ताको नेतृत्व गर्न पुगेका छन् । यसले कांग्रेसको नीति र नेतृत्वमा पूरै नयाँपन आएको छ ।
यद्यपि कांग्रेसका संस्थापक र शीर्ष नेताको लिगेसी बोकेका नेताहरूले महाधिवेशन बहिष्कारो सन्देशले १५औं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको पुष्टि गरेको छ । एउटै दलको साझा महाधिवेशन गर्न नसकेपछि पार्टी औपचारिक फुटमा पुगेको छ । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलले समेत जति बोलाउँदा पनि नआउने देउवालाई छाडेर अघि बढ्न सुझाव दिएका थिए । सभापति गगन थापाले पनि बिपी र गणेशमानले नागरिक स्वतन्त्रताको आवाज उठाएको खुलामञ्चमा पार्टीको महाधिवेशन उद्घाटन हुँदै गर्दा बिपी र गणेशमानको आत्मा आफ्ने पक्षसँग रहेको दाबी गरे ।
सोहीक्रममा उनले नेताका छोराहरूको समेत खोजी गरेका थिए । आफ्नै पुर्खाले बनाएको र आफ्नो जीवन लगानी गरेको पार्टीको महाधिवेशन छाडेर अन्यत्र अल्मलिएको प्रति महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले गुनासो गरे । सभापति थापाले कांग्रेसका सबै गुट भत्कीएको र अबको कांग्रेस गुटरहित हुने दाबी समेत गरेका छन् ।
यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रूपमा मात्रै नलिन आग्रह गर्दै उनले यसै भेलाबाट केही संकल्प गर्ने दाबी गरेका छन् । पूर्वसभापति देउवालाई लिनका लागि पार्टीका नेताहरू कतिपटक जाने र कसरी जाने ? भन्ने प्रश्न गर्दै उनले भने, ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं । तर आउनुभएन । कतिपटक जाने हो, लिन कसरी जाने हो ?’
पार्टी सभापति थापाले भने कांग्रेसका पुराना नेताहरूले कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा स्पष्ट उत्तर दिनुपर्ने बताए । ‘केही साथीहरू छाडेर जानुभएको छ । उहाँहरूलाई कांग्रेसले छाडेको हो । यो पनि हामीले भन्नुपर्नेछ । यसको उत्तर अब दिनुपर्छ,’ थापाले प्रश्न गरे ।
गत पुसमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापाले पार्टी १५औं महाधिवेशनबाट समेत भारी मतकासाथ निर्वाचित भएपछि पार्टी मिलाएर लाने जिम्मेवारी आफ्नो भएको बताएका छन् । उनी १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका उनी त्यसअघि केन्द्रीय सदस्य हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भएका थिए । विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका थापा लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण, संगठन सुधार र आन्तरिक लोकतन्त्रका विषयलाई उठाउँदै आएका नेता हुन् । उनले पार्टीको नेतृत्व र उम्मेदवार छनोट प्रक्रियामा तल्लो तहका सदस्यको सहभागिता बढाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टी सभापति समेत प्रत्यक्ष मतदानबाट चयन गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव आगामी दिनमा छालफलको विषय बनाईन थापाले बताएका छन् ।
थापाको राजनीतिक यात्रा
सभापति थापाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनसँग जोडिएको छ । कक्षा ९ मा अध्ययनरत रहँदा आन्दोलनमा सहभागी भएका उनले सोही वर्ष बालकांग्रेसको सदस्य बनेर औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए ।
२०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं वडा नम्बर ३३ को सचिव बनेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य निर्वाचित भए । २०५३ सालमा स्ववियु सचिव र २०५५ सालमा सभापति बनेका उनले विद्यार्थी राजनीतिमा आफ्नो पकड विस्तार गरे ।
२०५५ सालमै त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा २०५७ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री निर्वाचित भए । विद्यार्थी राजनीतिमा सक्रिय रहँदा उनले राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
२०६१ सालको आन्दोलनका क्रममा उनीमाथि राजद्रोहको मुद्दा लागेको थियो । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो। २०६२÷६३ सालको जनआन्दोलनमा लोकतन्त्र र गणतन्त्रको पक्षमा सक्रिय भएपछि उनी राष्ट्रिय राजनीतिमा थप परिचित बने ।
२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थापाले संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा काम गरे । २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि उनी संविधान निर्माण प्रक्रियामा सक्रिय रहे। २०७१ सालमा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा योगदान पुर्याए ।
२०७३ सालमा स्वास्थ्य मन्त्री बनेका थापाले आफ्नो नौमहिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए । त्यसपछि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै उनले संसद्मा शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय उठाउँदै आए । २०७८ सालमा कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गरे । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता र संगठनात्मक परिवर्तनको विषय उठाउँदै उनले महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व सम्हालेका थापा नौ महिनापछि भएको १५औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।
राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न थापाले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने विषयलाई आफ्ना प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सार्दै आएका छन् । विद्यार्थी राजनीतिबाट संसदीय अभ्यास, मन्त्री पद र पार्टीको शीर्ष नेतृत्वसम्म पुगेका थापाको नेतृत्वलाई कांग्रेसको संगठनात्मक सुधार, नीतिगत दिशा र नयाँ पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ ।