२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

मेरो नाम जोडिएका उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन नबुझ्नुहोला : गगन थापा

Nada
२०८३ असोज २३ गते ०९:०३
Shares
मेरो नाम जोडिएका उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन नबुझ्नुहोला : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् । थापाले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् ।

ncell

उनले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको विषयमा ध्यानाकर्षण गराउँदै त्यस्ता सूचीबाट भ्रममा नपर्न प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

थापाले भनेका छन्, ‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोल ।’ 

उनले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

थापाले कुनै पनि अफवाह वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्यांकन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।

उनले प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचनमा भएको ढिलाइबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति थापाले क्षमासमेत मागेका छन् ।

सम्बन्धित खबर