२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

नवौं महाधिवेशनमा दोहोरीगीत प्रतिष्ठान

Nada
२०८३ असोज २२ गते २०:५८
Shares
नवौं महाधिवेशनमा दोहोरीगीत प्रतिष्ठान

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशनमा छ । प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती २०८३ बिहीबारबाट सुरु भएको छ । बर्दिबासस्थित गौरिडाँडा खुला मञ्चमा जारी महाधिवेशन असोज २४ गतेसम्म चल्नेछ । 

ncell

बिहीबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस भए । शुक्रबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । 

प्रतिष्ठानले आफ्नो २५ वर्षे संस्थागत यात्राको समीक्षा गर्दै महाधिवेशनको कार्य अगाडि बढाएको छ । महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब एक हजार पाँच सय जनाको सहभागिता रहेको छ । 

वि.सं. २०५७ असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि प्रतिष्ठानको संस्थागत यात्रा सुरु भएको हो । अहिले प्रतिष्ठान सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशमा समेत गरी करिब एक सय समितिमा विस्तार भएको छ । प्रतिष्ठानमा करिब चार हजार पाँच सय आजीवन सदस्यसहित हजारौँ सदस्य आबद्ध छन् ।

यही संस्थाको आगामी नेतृत्व चयनका लागि हुने महाधिवेशनमा गायक, संगीतकार तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवाले भने प्रतिष्ठानको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गायन, संगीत, कार्यक्रम प्रस्तुति र प्रतिष्ठानको संस्थागत गतिविधिमा आफूले हासिल गरेको अनुभवलाई आधार बनाएर उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

लोक तथा दोहोरी गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय बर्देवाले आफ्नो सांगीतिक तथा संस्थागत अनुभवलाई प्रतिष्ठानको नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिन लागेका हुन् । 

बर्देवाले केन्द्रीय सदस्य पदमा दाबेदारी गरेका हुन् ।

बर्देवा गायनसँगै संगीत संयोजन र कार्यक्रम सञ्चालनमा समेत परिचित अनुहार हुन् । नेपालका विभिन्न ठूला सांगीतिक कार्यक्रमको उद्घोषक तथा प्रस्तोताका रूपमा काम गरेका उनले ‘द रियल आर्टिस्ट’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विज्ञान विषयको अध्ययन गरिरहेका बेला संगीत क्षेत्रमा प्रवेश गरेका बर्देवाले त्यसपछि गायन र संगीतलाई नै आफ्नो व्यावसायिक यात्राको मुख्य क्षेत्र बनाएका हुन् । उनले विभिन्न गीतमा गायनसँगै संगीत संयोजनसमेत गरेका छन् । नेपालमा हुने सांगीतिक कार्यक्रमसँगै विदेशमा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रमहरूमा समेत उनले प्रस्तोता तथा कलाकारका रूपमा सहभागिता जनाउँदै आएका छन् ।

उनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान बागलुङ जिल्ला कार्यसमितिमा एक कार्यकाल सदस्यका रूपमा काम गरिसकेका छन् । धौलागिरि अञ्चल कार्यसमितिको सदस्य तथा सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए ।

उनी प्रतिष्ठानको उपत्यका समन्वय आजीवन सदस्य समितिको सचिव तथा सोही समितिको प्रथम उपाध्यक्ष हुन् । 

काठमाडौं उपत्यका समन्वय समितिमा सदस्य तथा सञ्चार प्रमुखका रूपमा समेत उनले काम गरेका छन् ।

प्रतिष्ठानमा रहेर संस्थागत गतिविधिमा सक्रिय रहनुका साथै बर्देवाले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन् । उनको सांगीतिक यात्रामा बेलायत, हङकङ, सिंगापुर, दक्षिण कोरिया, मलेसिया, दुबई र थाइल्यान्डलगायतका मुलुकमा भएका कार्यक्रमको सहभागिता समेटिएको छ ।

सञ्चार र सांगीतिक क्षेत्रमा समेत सक्रिय बर्देवाले धौलागिरि एफएम बागलुङ तथा एपीवान एचडी टेलिभिजनसँग आबद्ध भएर काम गरेका छन् ।  विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका उनी पछिल्ला वर्षमा नेपाल तथा विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमका परिचित प्रस्तोताका रूपमा देखिँदै आएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । बर्देवाले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

सम्बन्धित खबर