
दोहा, कतार : नेपाली चलचित्र ‘कबड्डी ५ आफ्टर द फाइनल म्याच’ आज शुक्रबारदेखि कतारका पाँच सिनेमा घरमा प्रदर्शन हुँदै छ । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको हो ।
चलचित्र कतारको दोहास्थित सिनेको एसियन टाउन, सिनेको अलखोर, नोभो सिनेमाज, सुक वाकिफ, नोभो सिनेमाज, ०१ मल र नोभो ओएसिस मलमा प्रदर्शन हुँदै छ। ‘कबड्डी’ शृङ्खलाको पाँचौं भागमा मुख्य पात्र काजीको प्रेम, परिवार, समाज र व्यक्तिगत जिम्मेवारीसँग जोडिएको कथा प्रस्तुत गरिएको छ । निर्देशक गुरुङका अनुसार प्रेम प्राप्तिपछिको व्यावहारिक जीवन र त्यसले पात्रको सम्बन्ध तथा जिम्मेवारीमा पार्ने प्रभाव चलचित्रको मुख्य विषय हो।
अभिनेता दयाहाङ राईका अनुसार यस भागमा काजीको चरित्र पहिलेका शृङ्खलाको तुलनामा परिपक्व रूपमा प्रस्तुत हुनेछ। मैयाँसँगको पुनः भेटले काजीको जीवनमा ल्याउने उतारचढावसँगै परिवार, साथीभाइ र सामाजिक सम्बन्धले उसको निर्णयमा पार्ने प्रभाव कथामा समेटिएको छ।
चलचित्रमा समसामयिक राजनीतिक परिवर्तनले समाज र नागरिकका अपेक्षामा पारेको प्रभावसमेत प्रस्तुत गरिएको छ। निर्देशक गुरुङकै कथा रहेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङलगायत कलाकारको अभिनय छ। सहायक भूमिकामा पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देल लगायत कलाकार छन्।
नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्ने तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्ने जनाइएको छ। चलचित्र नेपालमा पनि आजैदेखि प्रदर्शनमा आएको छ।