
देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण फैलिएको छ । यसबाट १० हजार २१० जनामा संक्रमण पुष्टि भएको छ । सातजनाको मृत्यु पुष्टि भइसकेको छ भने थप १५ जनाको मृत्युको कारण शंकास्पद छ । स्क्रब टाइफस नेपालमा नयाँ रोग नभए पनि अहिले जुन रफ्तारमा संक्रमण फैलिइरहेको छ, त्यसले चिन्ता बढाएको छ । स्क्रब टाइफस हुँदा सामान्य ज्वरो आउँछ । टाउको र शरीर दुख्छ । कमजोरी हुन्छ । त्यसैले धेरैले यसलाई सामान्य मौसमी ज्वरो ठान्छन् । घरमै औषधि खान्छन् । स्वास्थ्य संस्था पुग्न ढिला गर्छन् । यही ढिलाइ जोखिमपूर्ण बन्न पुग्छ । समयमै उपचार नपाउँदा संक्रमण फोक्सो, मिर्गौला र मस्तिष्कसम्म पुग्न सक्छ । बिरामीको अवस्था गम्भीर बन्न सक्छ । त्यसैले ज्वरोलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन ।
स्क्रब टाइफस संक्रमित किर्नाको टोकाइबाट सर्छ । खेतबारी, झाडी, घाँसेमैदान र वनस्पतिले ढाकिएका क्षेत्रमा यसको जोखिम बढी हुन्छ । तर अहिले यो ग्रामीण क्षेत्रमा मात्र सीमित छैन । ७४ जिल्लामा संक्रमण फैलिनुले जोखिमको दायरा पनि फराकिलो भएको देखिन्छ । रोग नियन्त्रणका लागि सरकारले परीक्षण किट र औषधिको व्यवस्था गरेको जनाएको छ ।
स्वास्थ्यकर्मीलाई तालिम पनि दिइएको छ । यी प्रयासलाई अझ प्रभावकारी बनाउन आवश्यक छ । संक्रमण धेरै जिल्लामा फैलिएको अवस्थामा स्थानीय स्वास्थ्य संस्थालाई परीक्षण र उपचारका लागि सक्षम बनाउनुपर्छ । तथ्यांक व्यवस्थापनमा पनि सुधार गर्न जरुरी छ । २२ जनाको मृत्यु रिपोर्ट भएकोमा सातजनाको मात्र स्क्रब टाइफसबाट मृत्यु पुष्टि भएको छ । बाँकी १५ जनाको मृत्युको कारण खोजिँदै छ । मृत्युको वास्तविक कारण पहिचान गर्न प्रभावकारी परीक्षणको खाँचो देखिएको छ ।
रोग नियन्त्रणमा नागरिक स्वयंको भूमिका पनि महत्त्वपूर्ण छ । खेतबारी वा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा र जुत्ता लगाउनुपर्छ । घाँसमा सिधै बस्नु हुँदैन । किर्ना भगाउने विषादि प्रयोग गर्न सकिन्छ । काम सकेपछि शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा ज्वरोसँगै शरीर दुख्ने, अत्यधिक कमजोरी हुने वा किर्नाले टोकेको ठाउँमा कालो दागजस्तो घाउ देखिए तत्काल स्वास्थ्य संस्था पुग्नुपर्छ । समयमै पहिचान भए उपचार सहज र सम्भव छ । समयमै परीक्षण, सही उपचार र सामान्य सावधानी नै स्क्रब टाइफस नियन्त्रणको मुख्य उपाय हो । देशभर रोग फैलिएकाले सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने खाँचो छ । नागरिक पनि सचेत हुनुपर्छ ।