२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

डिजिटल पर्यटनको नयाँ बाटो

Nada
सोमनाथ सापकोटा
२०८३ असोज २३ गते ०६:०५
Shares
डिजिटल पर्यटनको नयाँ बाटो

आज पर्यटन केवल कुनै गन्तव्यमा पुगेर दृश्यावलोकन गर्ने विषयमा सीमित छैन । पर्यटकले यात्रा सुरु गर्नुअघि नै मोबाइल, सर्च इन्जिन, सामाजिक सञ्जाल, डिजिटल नक्सा, अनलाइन समीक्षा र कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत गन्तव्यबारे जानकारी लिइरहेको हुन्छ । कहाँ जाने, के हेर्ने, कहाँ बस्ने, के खाने, कति खर्च गर्ने र कस्तो अनुभव प्राप्त गर्ने भन्ने निर्णयसमेत डिजिटल माध्यमबाट हुन थालेको छ ।

ncell

अब एआईले पर्यटन परिवर्तन गर्छ कि गर्दैन भन्नेभन्दा नेपालले डिजिटल परिवर्तनबाट कति छिटो र प्रभावकारी रूपमा लाभ लिनसक्छ भन्ने विषय महत्त्वपूर्ण छ । नेपालसँग विश्वलाई आकर्षित गर्ने सम्पदाको कुनै कमी छैन । सगरमाथादेखि लुम्बिनीसम्म, हिमालदेखि तराईसम्म, साहसिक पर्यटनदेखि आध्यात्मिक, सांस्कृतिक तथा वेलनेस पर्यटनसम्म नेपालसँग असाधारण सम्भावना छन् । प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, नेपाली खाना र सबैभन्दा महत्त्वपूर्ण नेपालीको मौलिक आतिथ्य हाम्रा प्रमुख शक्ति हुन् । तर आजको प्रतिस्पर्धात्मक पर्यटन बजारमा केवल सम्पदा भएर मात्र पुग्दैन । सही पर्यटकलाई सही समयमा सही सूचना र अनुभव उपलब्ध गराउन सक्नु पनि पर्यटन विकासको महत्त्वपूर्ण आधार हो । 

डिजिटल संसारमा नेपालको पहिचान

नेपालबारे विश्वले के बुझ्छ भन्ने कुरा अहिले धेरै हदसम्म डिजिटल संसारमा उपलब्ध सूचनाले निर्धारण गर्छ । पर्यटकले नेपाल आउनुअघि नै गन्तव्य, मौसम, यातायात, होटल, पदमार्ग, सुरक्षा, खर्च र स्थानीय गतिविधिबारे खोजी गर्छ । त्यसैले यी विषयमा आधिकारिक, विश्वसनीय र अद्यावधिक सूचना सहज रूपमा उपलब्ध हुनुपर्छ । 

कुनै एउटा क्षेत्रमा समस्या आउँदा त्यसलाई सम्पूर्ण नेपालकै अवस्थाका रूपमा बुझिने अवस्था सिर्जना हुनु हुँदैन । नेपाल विविध गन्तव्य भएको मुलुक हो । एउटा क्षेत्रमा अस्थायी समस्या भए पनि अन्य धेरै गन्तव्यमा पर्यटन गतिविधि सामान्य रूपमा सञ्चालन भइरहेका हुन सक्छन् । त्यसैले तथ्यमा आधारित डिजिटल सूचनामार्फत विश्वसामु स्पष्ट सन्देश पु¥याउनुपर्छ– नेपाल सुरक्षित छ, नेपाल खुला छ र नेपाल भ्रमणका लागि तयार छ ।

यसका लागि सरकारी निकाय र पर्यटन क्षेत्रले नियमित रूपमा अद्यावधिक हुने डिजिटल सूचना प्रणाली विकास गर्नुपर्छ । पर्यटकले एउटा वेबसाइट वा डिजिटल प्लेटफर्मबाट गन्तव्य, मौसम, यातायात, होटल, पदमार्ग, अनुमति, सुरक्षा र स्थानीय कार्यक्रमबारे विश्वसनीय जानकारी पाउने व्यवस्था आवश्यक छ ।

पर्यटकअनुसार डिजिटल अनुभव

डिजिटल युगमा सबै पर्यटकलाई एउटै प्रकारको प्रचार गर्ने परम्परागत शैलीबाट पनि अघि बढ्नुपर्छ । युरोपबाट आउने साहसिक पर्यटकको रुचि भारतबाट आउने पारिवारिक पर्यटकभन्दा फरक हुन्छ । चीनबाट आउने पर्यटकको प्राथमिकता फरक हुन सक्छ भने योग, ध्यान, आध्यात्मिकता वा वेलनेस खोज्ने पर्यटकको आवश्यकता अर्को प्रकारको हुन्छ ।

एआईको प्रयोगबाट पर्यटकको रुचि, समय, बजेट र यात्राको उद्देश्यअनुसार व्यक्तिगत यात्रा योजना तयार गर्न सकिन्छ । कुनै पर्यटकले ‘मसँग नेपालमा सात दिन छ, मलाई संस्कृति, प्रकृति र स्थानीय खाना मन पर्छ, म कहाँ जाऊँ ?’ भनेर सोध्यो भने डिजिटल प्रणालीले गन्तव्य, यात्रामार्ग, होटल, यातायात, गाइड, मौसम, गतिविधि र स्थानीय कार्यक्रमसमेत समेटिएको यात्रा योजना उपलब्ध गराउन सक्नुपर्छ ।

यसका लागि नेपालले एकीकृत, भरपर्दो र तथ्यमा आधारित डिजिटल पर्यटन प्रणाली विकास गर्न आवश्यक छ । यस्तो प्रणालीले पर्यटकलाई सुविधा मात्र दिँदैन, नेपालका पर्यटन व्यवसायीलाई पनि सम्भावित ग्राहक बुझ्न र सेवा सुधार गर्न सहयोग पु¥याउँछ ।

नयाँ गन्तव्यको डिजिटल प्रचार

डिजिटल प्रविधिले नेपालका नयाँ तथा कम प्रचारमा आएका गन्तव्यलाई विश्व बजारमा पु¥याउने ठुलो अवसर दिएको छ । कर्णालीका गाउँ, हिमाली तथा पहाडी पदमार्ग, स्थानीय संस्कृति, धार्मिक तथा बौद्ध सम्पदा, तराईका गन्तव्य, स्थानीय उत्सव, होमस्टे र नेपाली खानाका कथालाई डिजिटल माध्यमबाट विश्वसामु पु¥याउन सकिन्छ । यसका लागि हरेकपटक ठुलो प्रचार बजेट आवश्यक पर्दैन । राम्रो कथा, गुणस्तरीय डिजिटल सामग्री, सामाजिक सञ्जाल, एआई र स्थानीय समुदायको सहभागिताबाट प्रभावकारी प्रचार गर्न सकिन्छ ।

नेपालका गाउँ र स्थानीय समुदायसँग जोडिएका कथा विश्व पर्यटन बजारका लागि आकर्षक हुन सक्छन् । स्थानीय खाना, संस्कृति, परम्परा, पर्व, हस्तकला, कृषि, प्रकृति र समुदायको जीवनशैलीलाई डिजिटल सामग्रीका रूपमा प्रस्तुत गर्न सकिन्छ । यसले पर्यटकलाई केवल गन्तव्य होइन, अनुभव बेच्न मद्दत गर्छ । यससँगै पर्यटन गाइड, होटल तथा होमस्टे व्यवसायी, स्थानीय उद्यमी र युवालाई डिजिटल प्रविधि तथा एआई प्रयोग गर्न सक्षम बनाउनु आवश्यक छ । यसले नयाँ पुस्ताका डिजिटल पर्यटन उद्यमी तयार गर्न सहयोग पु¥याउँछ ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ रणनीति

नेपालको अन्तर्राष्ट्रिय पर्यटन बजारमा उपस्थितिलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्छ । डब्लुटिएम लन्डन, आइटिबी बर्लिन, फिटर म्याड्रिडलगायत प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मेलामा केवल स्टल राखेर फर्किनेभन्दा व्यावसायिक सम्बन्ध, भेटघाट, मिडिया पहुँच, डिजिटल प्रचार, लगानी र नयाँ पर्यटन साझेदारीका अवसर सिर्जना गर्नुपर्छ । भारत, चीन, बंगलादेशलगायत छिमेकी तथा क्षेत्रीय बजारमा लक्षित प्रचार बढाउनुका साथै सम्भावनायुक्त नयाँ बजार पहिचान गर्दै नेपालको पर्यटन बजारलाई विविध बनाउन आवश्यक छ । 

पर्यटकको बजार विविध भएमा कुनै एउटा देश वा क्षेत्रमा हुने राजनीतिक, आर्थिक वा अन्य असहज परिस्थितिले नेपालको समग्र पर्यटनमा पार्ने असर पनि कम गर्न सकिन्छ । तर बजार विस्तारका लागि प्रचार मात्र पर्याप्त हुँदैन । पर्यटक नेपाल आउन सहज हुनुपर्छ । हवाई सम्पर्क, भिसा प्रक्रिया, सूचना, यातायात, सुरक्षा र सेवाको गुणस्तर पर्यटन विकासका आधारभूत विषय हुन् । 

सुरक्षा र कनेक्टिभिटी

पर्यटन प्रवर्धनसँगै पर्यटकको विश्वाससँग जोडिएका आधारभूत विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ । विशेषगरी हवाई सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी मापदण्ड र चासोलाई गम्भीरतापूर्वक लिएर आवश्यक सुधारलाई तीव्रता दिनुपर्छ । नेपालमा थप अन्तर्राष्ट्रिय एयरलाइन्स, प्रत्यक्ष उडान र नयाँ गन्तव्यसँग हवाई सम्पर्क विस्तार गर्न आवश्यक छ । पर्यटकलाई नेपाल आउन सहज बनाउनु पनि पर्यटन प्रवर्धनकै महत्त्वपूर्ण हिस्सा हो । नेपालको पर्यटन प्रवर्धनको बजेट पनि मितव्ययी, परिणाममुखी र रणनीतिक हुनुपर्छ । डिजिटल मार्केटिङ, एआई, सामाजिक सञ्जाल, डेटा, निजी क्षेत्र र डायस्पोराको विश्वव्यापी नेटवर्क प्रयोग गरेर सीमित स्रोतबाट प्रभावकारी परिणाम हासिल गर्न सकिन्छ ।

डायस्पोरा : पर्यटक मात्र होइन, साझेदार

नेपालको पर्यटन प्रवर्धनमा नेपाली डायस्पोराको भूमिका अझ प्रभावकारी बनाउन सकिन्छ । विश्वभर रहेका नेपालीले स्वयं नेपाल भ्रमण गर्ने र आफ्ना विदेशी साथी, सहकर्मी तथा परिवारलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अभियान सञ्चालन गर्न सकिन्छ ।

भिजिट नेपाल, सेन्ड योर फ्रेन्ड टु नेपाल, नेपाल फेस्टिभल, नेपाल मेला, एभरेस्ट डेजस्ता अभियान विभिन्न देशमा सञ्चालन गर्न सकिन्छ । एनआरएनएका राष्ट्रिय समन्वय परिषद्, नेपाली समुदाय, पर्यटन व्यवसायी, स्थानीय संघसंस्था र सम्बन्धित निकायबीच सहकार्य गरेर यस्ता कार्यक्रमलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाउन सकिन्छ । डायस्पोरालाई केवल पर्यटनको उपभोक्ता होइन, नेपालका पर्यटन दूत र प्रवर्धनका साझेदारका रूपमा हेर्नुपर्छ । एकजना नेपालीले आफ्ना विदेशी साथीलाई नेपाल ल्याउनु भनेको एउटा पर्यटक थप्नु मात्र होइन, नेपाललाई प्रत्यक्ष अनुभव गर्ने नयाँ व्यक्तिलाई विश्वसँग जोड्नु पनि हो । 

तथ्यांकमा आधारित पर्यटन

डिजिटल पर्यटनको अर्को महत्त्वपूर्ण आधार तथ्यांक हो । पर्यटक कहाँबाट आउँछन्, उनीहरू के खोजिरहेका छन्, कति दिन बस्छन्, कति खर्च गर्छन् र कुन गन्तव्यमा जान्छन् भन्ने तथ्यांकका आधारमा पर्यटन नीति, बजेट, बजार रणनीति र पूर्वाधार विकासका योजना बनाउनुपर्छ । 

कुन क्षेत्रमा पर्यटन सामान्य रूपमा सञ्चालन भइरहेको छ, कहाँ अस्थायी समस्या छ र कुन वैकल्पिक गन्तव्य पर्यटकका लागि उपयुक्त हुन सक्छ भन्ने जानकारी तत्काल उपलब्ध गराउने प्रणाली पनि आवश्यक छ । एआई प्रयोग गर्दा तथ्यको शुद्धता र विश्वसनीयतालाई उत्तिकै महत्त्व दिनुपर्छ । गलत सूचना वा पुरानो तथ्यांकका आधारमा तयार भएको डिजिटल सामग्रीले पर्यटकलाई भ्रमित गर्न सक्छ । त्यसैले एआईको प्रयोगसँगै आधिकारिक स्रोतबाट तथ्य प्रमाणित गर्ने प्रणाली आवश्यक छ । व्यक्तिगत डेटा र गोपनीयताको सुरक्षालाई पनि बेवास्ता गर्न हुँदैन ।

आफ्नै कथा, नयाँ माध्यम

नेपालले अरू देशको नक्कल गर्न आवश्यक छैन । हामीसँग आफ्नै पहिचान, आफ्नै प्रकृति, आफ्नै संस्कृति र आफ्नै कथा छ । अब त्यसलाई आधुनिक प्रविधिसँग जोडेर विश्वसामु प्रस्तुत गर्ने समय आएको छ । हामी डिजिटल प्रचारबाट डिजिटल रूपान्तरणतर्फ, परम्परागत बजारबाट नयाँ बजारतर्फ, अनुमानबाट तथ्यांकमा आधारित निर्णयतर्फ र डायस्पोरालाई पर्यटकबाट पर्यटन विकासको साझेदारतर्फ अगाडि बढ्नुपर्छ ।

यसका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय तह, प्रविधि क्षेत्र र विश्वभरको नेपाली डायस्पोराबीच सहकार्य आवश्यक छ । पर्यटन विकास कुनै एउटा निकायको जिम्मेवारी मात्र होइन । सरकार नीति र पूर्वाधार निर्माणमा, निजी क्षेत्र सेवामा, स्थानीय समुदाय अनुभव निर्माणमा र डायस्पोरा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा सक्रिय हुनुपर्छ ।

नेपाललाई प्रचार गर्ने मात्र होइन, विश्वका मानिसलाई नेपालसँग जोड्ने अभियान बनाउनुपर्छ । हवाई सुरक्षा र कनेक्टिभिटी सुधारसँगै डिजिटल प्रविधि, एआई डेटा र डायस्पोराको विश्वव्यापी सञ्जाललाई एकीकृत गर्न सके नेपालको पर्यटन प्रवर्धन अझ प्रभावकारी र दिगो बन्न सक्छ ।

लेखक सापकोटा हाल एनआरएनए आइसिसीका प्रवक्ता तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष हुन् ।

सम्बन्धित खबर