२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

जनताका समस्या समेट्दै मेची–महाकाली यात्रा

Nada
विनोद निगम
२०८३ असोज २२ गते २०:२८
Shares
जनताका समस्या समेट्दै मेची–महाकाली यात्रा

नवलपरासी : पश्चिम नवलपरासीको परासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा.अमरेश सिंहले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन् । छलफलमा संगठन निर्माण, स्थानीय तहसम्म पार्टीको उपस्थिति विस्तार तथा प्रस्तावित मेचीदेखि महाकालीसम्मको पदयात्राका विषयमा चर्चा भएको थियो ।

ncell

सिंहले पदयात्राका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, गुनासा र विकासका आवश्यकतालाई संकलन गर्ने बताएका छन् । यात्राका क्रममा दैनिक करिब पाँच घण्टा, अर्थात् २० देखि २५ किलोमिटरसम्म पैदल हिँड्ने र बाँकी समय स्थानीय जनता तथा कार्यकर्तासँग संवाद गर्ने योजना रहेको उनले जानकारी दिएका छन् । 

पदयात्राका क्रममा तराई–मधेशका करिब २० जिल्लामा संकलन हुने समस्या तथा सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने योजना छ ।

उक्त प्रतिवेदन सरकारका प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछानेलाई छुट्टाछुट्टै बुझाइने सिंहले बताएका छन् । पश्चिम नवलपरासीका बर्दघाट, प्रतापपुर, पाल्हिनन्दन र सुस्तालगायतका क्षेत्रमा नागरिकहरूले सिँचाइ, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित समस्या उठाएका छन् । 

पदयात्राका क्रममा यस्ता समस्या लिखित तथा भिडियो अभिलेखका रूपमा संकलन गरी प्रतिवेदनमा समेटिने बताइएको छ । स्थानीय नागरिकबाट प्राप्त तथ्य र सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले अभियान अघि बढाइने सिंहको भनाइ छ ।

छलफलका क्रममा सिंहले राजनीति जनताको आवश्यकता, अधिकार र सरोकारमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए । जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने, तिनको पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने कार्यलाई राजनीतिको प्रमुख जिम्मेवारीका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

रास्वपाले अघि सारेको ‘जनताका लागि राजनीति’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्न जनताको सहभागिता, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्ने सिंहको भनाइ थियो । 

उनले पार्टी संगठनलाई केन्द्रमा मात्र सीमित नराखी वडा र पालिका तहसम्म व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । स्थानीय तहमा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै उनीहरूका आवश्यकता र सरोकारलाई पार्टीको राजनीतिक कार्यदिशासँग जोड्नुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार पाँच वर्षसम्म राष्ट्रिय सभामा जान नपाउने कानुनी व्यवस्थाबारे समेत चर्चा भएको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तथा स्थानीय तहदेखि नै संगठन सुदृढ बनाउन कार्यकर्तालाई आह्वान गरिएको थियो ।

कार्यक्रममा रास्वपाका जिल्ला सभापति, विभिन्न पालिकाका सभापति तथा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय समस्या, संगठन विस्तार र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए ।

सम्बन्धित खबर