२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा आयोग, मिति घोषणापछि प्रक्रिया अघि बढ्ने

Nada
२०८३ असोज २२ गते १५:४६
Shares
स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा आयोग, मिति घोषणापछि प्रक्रिया अघि बढ्ने

काठमाडौँ : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

ncell

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको भएको उल्लेख गर्दै तोकिएको समयमा निष्पक्ष र विवादरहित निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

निर्वाचन आयोगमा बिहीबार भएको अनौपचारिक कुराकानीका क्रममा कार्कीले आयोग निर्वाचनको तयारीमा निरन्तर सक्रिय रहने संस्था भएकाले आगामी निर्वाचनलाई लक्षित गरी आवश्यक आन्तरिक काम भइरहेको स्पष्ट पारेका छन् ।

उनले निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले निर्धारण गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मिति घोषणा भएपछि सोहीअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने बताए ।

आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने गरी सरकारले तयारी गरिरहेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा कार्कीले निर्वाचनको मितिबारे अहिले नै आयोगले कुनै निष्कर्ष सार्वजनिक गर्न नसक्ने बताए।

स्थानीय तहलाई लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने आयोगको धारणा रहेको उल्लेख गर्दै उनले त्यसैलाई ध्यानमा राखेर तयारी भइरहेको जानकारी दिए ।

आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले संवैधानिक व्यवस्थाअनुसार कार्यकाल समाप्त हुने समय आसपास निर्वाचन हुने उनको भनाइ छ । स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै पटक गर्ने सम्भावनाबारे पनि आयोगले अहिले नै कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन सञ्चालन गर्दा संवैधानिक संरचना, विद्यमान कानुनी व्यवस्था र व्यावहारिक आवश्यकतालाई ध्यान दिनुपर्ने बताए । स्थानीय र प्रदेश तहको निर्वाचन एकैसाथ हुने वा अलग-अलग समयमा सञ्चालन गरिने भन्ने विषयमा अहिले नै निश्चित रूपमा भन्न नसकिने उनको भनाइ छ ।

सरकारले आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गरेपछि सोहीअनुसार आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी अघि बढाइने उनले स्पष्ट पारेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर