२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

सिनेमाका पोस्टर रंगाउने नाना पाटेकर, जब सिनेमाकै पोस्टरमा रंगिए

Nada
भावना पाठक
२०८३ असोज २२ गते १५:०७
Shares
सिनेमाका पोस्टर रंगाउने नाना पाटेकर, जब सिनेमाकै पोस्टरमा रंगिए

काठमाडौँ : भारतीय सिनेमा, विशेषगरी हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा कार्डियाक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरसहित बचाउने प्रयास गरे पनि उनलाई बिहीबार बिहान ५ः२० बजे मृत घोषित गरिएको हो । 

ncell

पाटेकर भारतीय सिनेमामा आफ्नो विशिष्ट अभिनय शैली, तीखो संवाद प्रस्तुति र चरित्रअनुसार आफूलाई बदल्न सक्ने क्षमताका कारण अलग पहिचान बनाएका अभिनेता थिए । करिब पाँच दशक लामो अभिनय यात्रामा उनले गम्भीर चरित्रदेखि खलनायक, सामाजिक विषयका पात्र र हास्य भूमिकासम्म निर्वाह गरे । पर्दामा संवाद बोल्ने शैली र चरित्रमा डुबेर अभिनय गर्ने क्षमता नै उनको पहिचान बन्यो ।

पाटेकरको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगड जिल्लास्थित मुरुड–जञ्जिरामा विश्वनाथ पाटेकरका रूपमा भएको थियो । आर्थिक रूपमा सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल संघर्षपूर्ण थियो । किशोरावस्थामै उनले परिवारलाई सहयोग गर्न सिनेमाका पोस्टर रंगाउने कामसमेत गरेका थिए । त्यसबेला उनले कम पारिश्रमिकमा काम गर्दै आफ्नो पढाइ र जीवन अगाडि बढाएका थिए ।

उनले मुम्बईको सर जे.जे. इन्स्टिच्युट अफ एप्लाइड आर्टबाट अध्ययन गरेका थिए । कला र चित्रकलासँग जोडिएको पृष्ठभूमिले उनलाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरित गर्‍यो । पछि उनी रंगमञ्चतर्फ आकर्षित भए । थिएटरमा अभिनय गर्दै उनले आफ्नो अभिनय क्षमता निखार्दै लगे । रंगमञ्चमा गरेको निरन्तर अभ्यास नै उनको फिल्मी यात्राको आधार बन्यो ।

पाटेकरले सन् १९७८ मा मुजफ्फर अली निर्देशित फिल्म ‘गमन’बाट चलचित्र अभिनय सुरु गरेका थिए । फारुख शेख र स्मिता पाटिल अभिनित उक्त फिल्ममा उनको भूमिका सानो थियो  । सुरुवाती चरणमा उनले हिन्दी तथा मराठी फिल्ममा साना र सहायक भूमिका गर्दै आफ्नो स्थान बनाउँदै लगे । ‘अंकुश’, ‘प्रतिघात’, ‘अन्धा युद्ध’, ‘त्रिशाग्नि’ र ‘सलाम बम्बे!’ जस्ता फिल्मले उनलाई दर्शकमाझ चिनाउन थाले ।

उनको करियरमा निर्णायक मोड भने सन् १९८९ मा आएको फिल्म ‘परिन्दा’बाट आयो । विधु विनोद चोपडाले निर्देशन गरेको उक्त फिल्ममा पाटेकरले अन्डरवर्ल्ड चरित्र ‘अन्ना’को भूमिका निर्वाह गरेका थिए । उनको अभिनयलाई दर्शक र समीक्षक दुवैबाट व्यापक प्रशंसा मिल्यो । यो भूमिकाले उनलाई बलिउडका प्रभावशाली चरित्र अभिनेतामध्ये स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

सन् १९९४ मा आएको ‘क्रान्तिवीर’ले उनको स्टारडमलाई अझ बलियो बनायो । फिल्ममा उनले निर्वाह गरेको विद्रोही र सामाजिक अन्यायविरुद्ध उभिने पात्र निकै लोकप्रिय भयो । यस फिल्मका लागि उनले उत्कृष्ट अभिनेताका रूपमा राष्ट्रिय चलचित्र पुरस्कार तथा फिल्मफेयर पुरस्कार पाए । त्यसपछि ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘शक्ति : द पावर’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘राजनीति’जस्ता फिल्ममा उनको अभिनयले चर्चा पायो ।

पाटेकर गम्भीर र शक्तिशाली चरित्रका लागि मात्र चिनिएनन्, हास्य भूमिकामा पनि उनले आफ्नो प्रभाव बनाए । सन् २००७ मा सार्वजनिक भएको ‘वेलकम’ फिल्ममा उनले निभाएको ‘उदय शेट्टी’को भूमिका निकै लोकप्रिय भयो । गम्भीर र हिंस्रक चरित्रका लागि परिचित कलाकारले हास्यप्रधान भूमिकामा पनि दर्शकलाई प्रभावित गर्न सक्ने उनको क्षमताको यो महत्वपूर्ण उदाहरण बन्यो ।

मराठी फिल्ममा पनि नाना पाटेकरको योगदान उल्लेखनीय रह्यो । सन् २०१६ मा आएको ‘नटसम्राट’मा उनले रंगमञ्चका वृद्ध कलाकारको भूमिका निर्वाह गरेका थिए । जीवनको उत्तरार्धमा आफ्नो परिवार, करियर र अस्तित्वसँग संघर्ष गरिरहेको कलाकारको चरित्रमा उनको अभिनयलाई निकै प्रशंसा गरिएको थियो । उक्त फिल्मलाई उनको करियरका महत्वपूर्ण अभिनयमध्ये एक मानिन्छ ।

करिब पाँच दशक लामो यात्रामा नाना पाटेकरले सयभन्दा बढी फिल्ममा अभिनय तथा विभिन्न भूमिकामा काम गरेका थिए। उनको फिल्मोग्राफीमा हिन्दी र मराठी दुवै भाषाका चलचित्र समेटिएका छन् । 

अभिनयबाहेक नाना पाटेकरले निर्देशनमा पनि हात हालेका थिए । सन् १९९१ मा आएको ‘प्रहार : द फाइनल अट्याक’ उनले निर्देशन गरेका थिए । फिल्ममा उनले अभिनयसमेत गरेका थिए । भारतीय सेनाप्रतिको उनको रुचि र सम्बन्ध पनि सार्वजनिक रूपमा चर्चित थियो । कारगिल युद्धका बेला सैनिकहरूसँग समय बिताएका पाटेकरले पछि भारतीय टेरिटोरियल आर्मीमा मानार्थ लेफ्टिनेन्ट कर्नलको दर्जासमेत प्राप्त गरेका थिए ।

नाना पाटेकरले भारतीय चलचित्र क्षेत्रमा गरेको योगदानका लागि विभिन्न महत्वपूर्ण पुरस्कार प्राप्त गरेका थिए । उनले ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेता र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताका रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक उनले फिल्मफेयरलगायत अन्य प्रतिष्ठित पुरस्कार पनि जितेका थिए । भारतीय कला तथा चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरेको थियो ।

चलचित्रमा मात्र हैन सामाजिक सेवामा पनि उनको सक्रियता थियो । महाराष्ट्रका किसान र ग्रामीण समुदायका समस्यामा सहयोग गर्ने उद्देश्यले उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर सन् २०१५ मा ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए । संस्थाले खडेरी प्रभावित क्षेत्र, किसान, पानी व्यवस्थापन तथा ग्रामीण विकाससँग सम्बन्धित क्षेत्रमा काम गर्दै आएको छ । 

उमेर बढ्दै गए पनि नाना पाटेकरले अभिनयबाट आफूलाई अलग गरेका थिएनन् । पछिल्ला वर्षमा पनि उनी चलचित्र र ओटीटी परियोजनामा सक्रिय थिए । ‘वनवास’ र ‘हाउसफुल ५’पछि सन् २०२६ मा उनको अभिनय रहेको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ सार्वजनिक भएका थिए । त्यस्तै उनी ओटीटी सिरिज ‘संकल्प’मा पनि देखिएका थिए । यसरी जीवनको अन्तिम समयसम्म पनि उनी अभिनय यात्रामै सक्रिय थिए ।

निधनअघि बिहीबार बिहान करिब २ः३० बजे उनले एक साथीलाई आफू अस्वस्थ भएको सन्देश पठाएको बताइएको छ । साथीले उक्त सन्देश केही समयपछि मात्र देखेपछि करिब ४ बजे गोवास्थित उनको निवास पुगेका थिए । त्यहाँ पाटेकर अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो । चिकित्सकले उपचार तथा पुनर्जीवन प्रयास गरे पनि उनलाई बचाउन नसकिएको बताइएको छ । 

नेपाली कलाकारले यसरी सम्झिए...
पाटेकरको निधनमा नेपाली सेलिब्रेटी, पत्रकार र आम मानिसले पनि दुःख व्यक्त गरेका छन् । मनिषा कोइराला पाटेकरसँग थुप्रै सिनेमामा सहकार्य गर्ने अभिनेत्री हुन् । उनले पाटेकरको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको शान्तिको कामना गरेकी छन् । 

उनले पाटेकरको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेकी छन्, ‘एक महान् अभिनेता तथा अभिनय कलाका सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ । सिनेमा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैँ स्मरणीय रहनेछ। उहाँको आत्माले शान्ति पाओस् । ॐ शान्ति ।’

मनिषा कोइराला र नाना पाटेकरले ‘खामोशी : द म्युजिकल’, ‘अग्निसाक्षी’ र ‘युग पुरुष’लगायतका फिल्ममा उनीहरूले सँगै काम गरेका थिए । 

त्यस्तै अभिनेता विजय बरालले पनि श्रद्धाञ्जली दिएका छन् । उनले आफूले नाना पाटेकरलाई जीवनमा प्रत्यक्ष भेट्न नपाएको तर सुरुआती अभिनय यात्रादेखि नै उनलाई मन पराउने गरेको बताएका छन् । बरालले आफू बस्ने मण्डला थिएटरको कोठाको भित्तामा नाना पाटेकरको तस्बिर राखेको स्मरण गरेका छन् । 

उनले नानाका फिल्म धेरैपटक हेरेको र उनको अभिनयबाट धेरै कुरा सिकेको बताएका छन् । पछिल्लो समय नानाका लामालामा अन्तर्वार्ता सुन्दा कलाकारका रूपमा मात्र नभई उनको जीवन र व्यक्तित्वबारे पनि बुझ्ने अवसर पाएको बरालले उल्लेख गरेका छन् । 

‘खबर सुन्नेबित्तिकै मन ढक्क भयो, सास फुलेझैँ लाग्यो’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर