२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

कलाकार रीना रायँको जीवनी पुस्तक विमोचन

Nada
२०८३ असोज १२ गते १४:३९
Shares
कलाकार रीना रायँको जीवनी पुस्तक विमोचन

काठमाडौं : कलाकार रीना रायँँको जीवनी पुस्तक विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित एक कार्यक्रमका बीच 'विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी पुस्तक'को औपचारिक विमोचन गरिएको हो ।

ncell

नेपाली राष्ट्रिय समाज सेवा परिषद्ले आयोजनामा गरेको विमोचन कार्यक्रममा पत्रकार स्व. रघुनाथ प्रसाद रौनियारका जुम्ल्याहा छोरा रमेश कुमार रौनियार र उमेश कुमार रौनियारद्वारा लिखित उक्त पुस्तक विमोचन गरिएको हो ।

पुस्तकको विमोचन कलाकार टंक तिमिल्सिना, राजनीतिक अभियन्ता तथा पत्रकार प्रेम कैदी, डा. युद्ध एस. रौनियार र इनोभा हस्पिटलका चेयरमेन गोकुल पन्तले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको अध्यक्षता पत्रकार तथा राजनीतिक अभियन्ता प्रेम कैदीले गरेका थिए ।

कार्यक्रममा लेखकद्वय रमेश कुमार रौनियार र उमेश कुमार रौनियारले भारतीय कलाकार रीना रायँको जीवनी लेख्न पाएकामा खुसी व्यक्त गरे । उनीहरूले नेपालमा लेखक तथा कलाकारहरूको सम्मानमा फोटो प्रदर्शनीका लागि एक संग्रहालय स्थापना हुनुपर्ने धारणा राखे । सामाजिक सञ्जाल फेसबुकमार्फत 'प्रभु प्रसाद'ले रीना रायँको जीवनी लेख्न प्रेरणा र उत्साह दिएको उल्लेख गर्दै लेखकद्वयले कलमलाई संसार नै बदल्न सक्ने शक्तिशाली हतियारको रूपमा चित्रण गरे ।

कार्यक्रममा प्रेम कैदीले इतिहास अनुसार रौनियार जातिको सम्बन्ध हजारौं वर्ष पहिले भगवान श्री कृष्णसँग जोडिएको उल्लेख गर्दै भारतीय सुन्दरी रीना रायँको जीवनी नेपालमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।

इनोभा हस्पिटलका चेयरम्यान गोकुल पन्तले डा. प्रिन्स रौनियारको विशेष भूमिकाका कारण पुस्तक प्रकाशन सम्भव भएको भन्दै नेपालमा फिल्मी कलाकार रीना रायँको जीवनी प्रकाशित हुनु गौरवको विषय भएको उल्लेख गरे ।

कलाकार टंक तिमिल्सिनाले लेखकद्वयलाई बधाई दिँदै भारतीय फिल्मी कलाकारको जीवनी नेपालमा प्रकाशन हुनाले राष्ट्रको प्रतिष्ठा बढेको विचार व्यक्त गरे ।

यस्तै मनिष मानवले लेखकद्वयले राष्ट्रका दर्जनाैँ इतिहास लेख्दा पनि राज्य र समाजले उचित सम्मान नगरेकोमा दुःख व्यक्त गर्दै सम्मान दिलाउन पहल हुनुपर्ने धारणा राखे ।

डा. युद्ध एस. रौनियारले मानव सभ्यताको हैसियतले भारतीय कलाकारको सम्पूर्ण जीवनी कलात्मक रूपमा लेखेर नेपालमा प्रकाशन हुनु प्रतिष्ठाको विषय भएको बताए ।

कार्यक्रममा समाजसेवी रेखा रौनियारले स्वागत मन्तव्य राखेकी थिइन् भने सिमा रौनियार र मन्जु रौनियारले अतिथिहरूलाई खादा लगाएर सम्मान गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर