२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

एसियाली क्लियरिङ युनियनको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई

Nada
२०८३ मंसिर ३ गते १६:३१
Shares
एसियाली क्लियरिङ युनियनको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सन् २०२६/२७ का लागि एसियाली क्लियरिङ युनियन (एसीयू) को अध्यक्षता पाएको छ । काठमाडौँमा नोभेम्बर १८ मा सम्पन्न एसीयू सञ्चालक समितिको ५४औँ बैठकले राष्ट्र बैंकलाई एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो ।

बैठकले सन् २०२७/२८ का लागि म्यानमारको केन्द्रीय बैंकलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरेको छ । सञ्चालक समितिको अर्को बैठक सन् २०२७ को जुनमा म्यानमारको नेपिडोमा गर्ने निर्णय पनि भएको छ ।

नेपाल राष्ट्र बैंकको आयोजनामा नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र त्यसको भोलिपल्ट सञ्चालक समितिको बैठक बसेको थियो । सञ्चालक समितिले प्राविधिक समितिका सिफारिस अनुमोदन गर्नुका साथै एसीयू महासचिवालयले तयार पारेको सन् २०२४/२५ को प्रतिवेदन ग्रहण गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण, नीतिगत सुधार तथा डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यको मार्गचित्रबारे छलफल भएको थियो । बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नरसहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक र एसीयू सचिवालयका प्रतिनिधि सहभागी थिए ।

सदस्य राष्ट्रबीचको भुक्तानी सहज बनाउन सन् १९७४ मा स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा छ । एसीयूले सदस्य राष्ट्रबीचको भुक्तानीको खुद हिसाब हरेक दुई महिनामा मिलाउने प्रणाली सञ्चालन गर्दै आएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर