२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना हुँदै

Nada
२०८३ मंसिर ३ गते १५:४३
Shares
पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना हुँदै

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारसँगको सहकार्यमा आगामी पुस २० गते काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ । ‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो ।

विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एनआरएनएले पहिलोपटक विश्वस्तरीय महिला सम्मेलन आयोजना गर्न लागेको संघकी उपाध्यक्ष एवं महिला संयोजक टिका गुरुङले जानकारी दिइन् ।

एनआरएनएले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले महिला सशक्तीकरणसँग प्रत्यक्ष सरोकार राख्ने चार प्रमुख विषयमा कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा बृहत् छलफल गरिने बताइन् । उनका अनुसार सम्मेलनमा नीतिगत तथा कानुनी सुधार, सुरक्षित वैदेशिक रोजगारी तथा पुनःएकीकरण, उद्यमशीलता तथा बजार पहुँच र जलवायु न्याय तथा सुरक्षालगायतका विषयमा छलफल हुनेछ ।

‘महिला सशक्तीकरणसम्बन्धी विद्यमान ऐन, निर्देशिका, नीति तथा संस्थागत संरचनाको समीक्षा गर्दै डायस्पोरा समुदायका महिलाको अधिकार, अवसर र आवश्यक कानुनी सुधारका विषय उठाइनेछ’, गुरुङले भनिन् ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार तथा मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषयमा समेत छलफल गरिने उनले बताइन् ।

स्वदेश तथा विदेशमा रहेका महिला उद्यमीबीच व्यावसायिक साझेदारी विस्तार गर्ने, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि गर्ने, नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि महिलाको सहभागिता बढाउने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राख्नेछ ।

त्यस्तै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीजस्ता प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको प्रभाव, विपद् व्यवस्थापनमा महिलाको भूमिका तथा लैङ्गिक हिंसा र मानव बेचबिखनविरुद्धको सुरक्षाका विषयमा पनि छलफल हुने जनाइएको छ ।

एनआरएनएका अध्यक्ष हेमराज शर्माले महिला सशक्तीकरणबिना राष्ट्रको दिगो तथा समावेशी समृद्धि सम्भव नहुने मान्यताका साथ सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले सम्मेलनमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाका सफलताका कथा उजागर गरिने जानकारी दिए ।

भिडियो कन्फरेन्समार्फत नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि र बजारसँग जोड्ने सेतुका रूपमा सम्मेलनले काम गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

एनआरएनएले सम्मेलनलाई सफल र प्रभावकारी बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, महिला उद्यमी, विज्ञ, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता, सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर