
काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले अदालतबाट उनीविरुद्ध पक्राउ अनुमति लिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला अदालतले अर्याललाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनी हाल फरार रहेको बताइएको छ ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
यसअघि पनि सीआईबीले यही प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी रहेका छन् ।