२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

र्‍यापर लाहुरेको खाडी सांगीतिक यात्रा, कतारदेखि युएईसम्म प्रस्तुति दिँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज १३ गते १७:४३
Shares
र्‍यापर लाहुरेको खाडी सांगीतिक यात्रा, कतारदेखि युएईसम्म प्रस्तुति दिँदै

दोहा, कतार : नेपाली हिपहप संगीतका चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’ले कतारसहित संयुक्त अरब इमिरेट्सका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । लाहुरे र ‘ब्याड कम्पनी’ले कतारको दोहा, दुबई तथा अबुधाबीमा नेपाली हिपहपका चर्चित गीत प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो ।

ncell

इफ्लिक्स इन्टरटेनमेन्टको आयोजनामा दोहामा आगामी शुक्रबार अर्थात् अक्टोबर २ मा लाहुरेको विशेष सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । दोहाको साना सिग्नलनजिक ग्रान्ड रिगल होटेलको मिजानियन फ्लोरमा रहेको अर्मानि एक्स लन्ज एन्ड बारमा हुने कार्यक्रममा लाहुरेसँगै ‘ब्याड कम्पनी’को प्रस्तुति रहनेछ ।

नेपाली हिपहपलाई नयाँ पुस्तामाझ स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण मानिन्छ । लाहुरेको दोहा आगमनको खबरसँगै कतारमा रहेका नेपाली युवा तथा नेपाली संगीत प्रेमीहरूमा उत्साह बढेको छ । विशेषगरी नेपाली र्‍याप तथा हिपहप संगीत रुचाउने दर्शकका लागि लाहुरे र ‘ब्याड कम्पनी’को प्रत्यक्ष प्रस्तुति विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ l 

यसपछि लाहुरे र ‘ब्याड कम्पनी’ले दुबईको बुर दुबईस्थित ग्रान्ड एस्टोरिया होटेलको क्लब याक एन्ड यती एभरेस्ट क्लबमा प्रस्तुति दिनेछन् । कार्यक्रममा ‘नेपाली हिपहप’लाई केन्द्रमा राखेर लाइभ संगीत तथा मनोरञ्जन प्रस्तुत गरिने जनाइएको छ । लाहुरे ‘र्‍याप बार्ज’को र्‍याप ब्याटलमार्फत नेपाली संगीत क्षेत्रमा चर्चामा आएका हुन् । ‘मेरो सोल्टा’, ‘केस नम्बर ४२०’, ‘साइकल’, ‘नेपहपको बाटो’, ‘चुप लाग’लगायत उनका गीत नेपाली युवापुस्तामाझ लोकप्रिय छन् । उनको ‘नेपहपको बाटो’ गीतले नेपाली हिपहपको विकास र यात्रालाई विषय बनाएको छ ।

संगीतसँगै चलचित्र तथा टेलिभिजनमा समेत सक्रिय लाहुरे ‘हिमालय रोडिज’का निर्णायकका रूपमा पनि परिचित छन् । उनले आफ्नै ब्याड कम्पनीमार्फत नेपाली हिपहप संगीतलाई निरन्तर अघि बढाउँदै आएका छन् । कतारपछि दुबई र अबुधाबीमा समेत हुने प्रस्तुतिले खाडी क्षेत्रमा रहेका नेपाली हिपहप तथा र्‍याप संगीतप्रेमीलाई लक्षित गरेको आयोजक पक्षले जनाएको छ । लाहुरे र ‘ब्याड कम्पनी’ले नेपाली युवापुस्तामाझ लोकप्रिय आफ्ना चर्चित गीत तथा नयाँ प्रस्तुति प्रत्यक्ष रूपमा सुनाउनेछन् ।

ताजा खबर

सम्बन्धित खबर