२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

दर्शकसँगै बसेर ‘आचार्य’ हेर्न एक्सन स्टार निखिल उप्रेती कतार आउँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज १२ गते १६:११
Shares
दर्शकसँगै बसेर ‘आचार्य’ हेर्न एक्सन स्टार निखिल उप्रेती कतार आउँदै

दोहा, कतार : नेपाली चलचित्रका एक्सन स्टार तथा निर्देशक निखिल उप्रेती आफ्नो पछिल्लो चलचित्र ‘आचार्य’ लिएर कतार आउने भएका छन् । अक्टोबर १ देखि कतारमा प्रदर्शन हुने चलचित्र हेर्न उनी स्वयं दर्शकमाझ उपस्थित हुने भएका हुन् । उप्रेतीले कतारमा रहेका नेपाली दर्शकलाई चलचित्र हेर्न समय मिलाएर उपस्थित हुन आग्रह गर्दै आफू पनि दर्शकसँगै बसेर ‘आचार्य’ हेर्ने बताएका छन् ।

ncell

उप्रेतीले सामाजिक सञ्जालमार्फत आउदो बिहीबार राति ८ बजे र शुक्रवार दिउँसो ३ बजे प्लाजा मलमा दर्शकसँग भेट गर्ने जानकारी दिएका छन् । उनले चलचित्र प्रदर्शनका क्रममा दर्शकसँग प्रत्यक्ष भेटेर चलचित्र हेर्ने कार्यक्रम तय भएको जनाउँदै कतारमा रहेका नेपालीलाई उपस्थितिका लागि आग्रह गरेका हुन् ।

करिब १० वर्षपछि निर्देशनमा फर्किएका उप्रेतीको निर्देशन तथा अभिनय रहेको ‘आचार्य’ नेपालमा सेप्टेम्बर २५ देखि प्रदर्शनमा आएको हो । एक्सन प्रधान चलचित्रमा नेपाली कलाकारसँगै दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करुमन्चीको समेत अभिनय रहेको छ। पूर्णिका सिजापति र सजिना श्रेष्ठले यसै चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका छन् ।

‘आचार्य’ नेपालमा प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारतर्फ पनि विस्तार भइरहेको छ। निर्माण पक्षका अनुसार चलचित्र युरोप, अमेरिका, क्यानडा, कोरिया, इजरायल, मलेसिया तथा खाडी मुलुकलगायत विभिन्न देशमा प्रदर्शन हुँदै छ । नेपालबाहिरको वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको जनाइएको छ ।

मध्यपूर्वमा ठुलो संख्यामा नेपाली श्रमिक तथा प्रवासी नेपाली रहेकाले यो क्षेत्र नेपाली चलचित्रका लागि महत्त्वपूर्ण विदेशी बजार बन्दै गएको छ । कतारमा नेपाली चलचित्रको नियमित प्रदर्शनसँगै कलाकार तथा निर्देशक स्वयं दर्शकमाझ पुग्ने क्रमले प्रवासी नेपाली समुदाय र नेपाली चलचित्र बिचको सम्बन्धलाई थप नजिक बनाउँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर