
काठमाडौं : कफी मेसिनको आवाज, कपमा भरिँदै गरेको कफी र ग्राहकलाई सेवा दिने व्यस्तता । सामान्यतया क्याफेमा देखिने यस्तो दृश्य अब बहिरा युवाहरूका लागि पनि नयाँ र सम्भावनाको क्षेत्र बन्दै गएको छ ।
काठमाडौंमा २० जना बहिरा युवा–युवतीले एकमहिने बारिस्टा तालिम लिएर कफी तथा अन्य पेय पदार्थ तयार गर्ने व्यावसायिक सीप सिकेका छन् । तालिमसँगै उनीहरूले रोजगारी र स्वरोजगारको सम्भावना पनि खोज्न थालेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाअन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा तालिम सञ्चालन गरिएको हो । बहिरा तथा सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिहरूको व्यावसायिक सीप विकास, सम्मानजनक रोजगारी तथा स्वरोजगारका अवसर अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
पर्यटन तथा आतिथ्य क्षेत्रमा बहिरा व्यक्तिहरूको समावेशी सहभागिता बढाउँदै उनीहरूलाई होटल, क्याफे, बेकरी तथा पर्यटन क्षेत्रका रोजगारी र स्वरोजगारका अवसरसँग जोड्ने लक्ष्य तालिमले लिएको छ ।

पहिलोपटक कफी बनाउने अवसर
काठमाडौंस्थित टिन टङ क्याफे एन्ड तालिम केन्द्रमा सञ्चालन भएको एकमहिने तालिममा सहभागी २० जना बहिरा युवा–युवतीले बारिस्टासम्बन्धी आधारभूतदेखि व्यावहारिक सीपसम्म सिकेका छन् । तालिममा कफी तथा अन्य पेय पदार्थ तयार गर्ने, कफी मेसिन तथा उपकरण सञ्चालन गर्ने, कार्यस्थलमा सरसफाइ कायम गर्ने, ग्राहक सेवा दिने र व्यावसायिक व्यवहारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
बहिरा सहभागीलाई तालिम लिन सहज होस् भनेर प्रशिक्षकसँगै नेपाली सांकेतिक भाषा दोभासेको समेत व्यवस्था गरिएको थियो । यसले प्रशिक्षकले दिने जानकारी बुझ्न र सहभागीले सिकेका विषयलाई व्यवहारमा उतार्न सहज भएको आयोजकको भनाइ छ ।
तालिममा सहभागी अनु बराईका लागि यो अनुभव नयाँ थियो । सुरुमा केही असहज भए पनि पछि तालिम प्रभावकारी रूपमा सिक्न पाएको उनले बताइन् ।
‘सुरुमा केही असहज भएको थियो । तर पछिल्लो समय एकदमै राम्रो सिक्न पायौं । यसअघि यस्तो तालिम लिन पाएको थिएन । पहिलो पटक लिन पाएकोमा एकदमै खुसी लागेको छ,’ उनले भनिन् ।
अनुका लागि यो केवल कफी बनाउन सिक्ने तालिम मात्र रहेन । यसले आगामी दिनमा सीपलाई रोजगारीसँग जोड्न सकिने सम्भावनाको ढोका पनि खोलेको छ ।
त्यस्तै, तालिममा सहभागी देवेन्द्र धामीले यसअघि यस्तो तालिम लिन नपाएको बताए । तालिम प्रदान गर्ने संस्था तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै उनले अब सिकेको सीपलाई रोजगारीसँग जोड्ने प्रयास गर्ने बताए ।
सिक्न गाह्रो, अभ्यासपछि सहज
तालिमका प्रशिक्षक सुमन खड्काले सुरुमा सिकाउन र सिक्न दुवै पक्षमा केही चुनौती भए पनि विस्तारै सहज हुँदै गएको बताए । धेरै सहभागीले कफी बनाउने सीप सिकेको उल्लेख गर्दै उनले तालिममा सिकेका विषयलाई आगामी दिनमा निरन्तर अभ्यास गर्दै व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् । ‘तालिम लिएर मात्र हुँदैन, सिकेको सीपलाई व्यवहारमा लागू गर्दै जानुपर्छ,’ उनले सहभागीलाई आग्रह गरे ।
अवसर दिने प्रतिबद्धता
टिन टङ क्याफे एन्ड तालिम केन्द्रका सञ्चालक विजय कटवालले तालिममा सहभागीले सिकेको सीपलाई व्यवहारमा उतार्न अवसरसमेत उपलब्ध गराउने बताए । उनले तालिमको समापनलाई सिकाइको अन्त्यका रूपमा नलिन सहभागीलाई आग्रह गरे । तालिममा सिकेका सीपलाई नियमित अभ्यासमार्फत थप निखार्नुपर्ने उनको सुझाव थियो । रोजगारीका लागि कुनै क्याफेमा जानुअघि आवश्यक अभ्यास गर्न चाहने सहभागीलाई सात दिनसम्म निःशुल्क सिकाउने व्यवस्था गर्न सकिने कटवालले बताए ।
सहभागीले आफ्नै क्याफे सञ्चालन गर्न चाहेमा मेसिन तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापनमा समेत सहजीकरण गर्न सकिने उनले बताए ।
आर्थिक उन्नतिको अपेक्षा
दिगो पर्यटन परियोजनाकी परियोजना सहायक मञ्जुला खत्रीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा लागू गर्दै सहभागीले आफ्नो परिवारको आर्थिक उन्नतिमा समेत योगदान गर्ने अपेक्षा गरिएको बताइन् । उनले तालिमपछि सहभागीलाई आवश्यक थप सहयोग आवश्यक परे सम्पर्क गर्न सकिने बताइन् । उनका अनुसार सीप विकासलाई रोजगारी र आम्दानीसँग जोड्न सकिएमा बहिरा समुदायका युवाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्न सक्छ ।

रोजगारीको ढोका खोल्ने प्रयास
राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सिताराम ओझाले बारिस्टा तालिमलाई बहिरा समुदायका लागि रोजगारी र आम्दानीको आधार तयार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । तालिम पूरा गरेपछि सहभागीले सिकेको सीपलाई व्यवहारमा उतार्न र रोजगारीसँग जोडिन उनले आग्रह गरे ।
ओझाका अनुसार राष्ट्रिय बहिरा महासंघले यसअघि पनि विभिन्न स्थानमा सीपमूलक तालिम सञ्चालन गर्दै बहिरा युवाका लागि रोजगारीका अवसरको ढोका खोल्ने प्रयास गर्दै आएको छ । बहिरा व्यक्तिले सञ्चालन गरेका क्याफेमा गएर सिकाइलाई थप व्यावहारिक बनाउन सकिने उनले बताए । नेपालमा मात्र नभई विदेशमा समेत बहिरा व्यक्तिले विभिन्न व्यवसाय सञ्चालन गरेर राम्रो गरेको उदाहरण रहेको उनको भनाइ छ ।
महासंघले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा बहिरा समुदायलाई स्वरोजगार तथा रोजगारीसँग जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने महासंघको तयारी छ । एकमहिने तालिमपछि बुधबार आयोजित समारोहमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । एभेन्ट लाउन्ज क्याफे एन्ड कफी ट्रेनिङ सेन्टर, जमलमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव ओझाले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
क्याफे सञ्चालक विजय कटवालले सहभागीलाई उपहारस्वरूप क्याफेको कपसमेत प्रदान गरेका थिए ।