२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

तीनकुने आन्दोलन : सुरक्षा अधिकारीमाथि कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

Nada
२०८३ असोज २१ गते १९:५४
Shares
तीनकुने आन्दोलन : सुरक्षा अधिकारीमाथि कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा जिम्मेवारीमा रहेका चार सुरक्षा अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

ncell

आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीमाथि कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरिएको उल्लेख छ । विश्व अधिकारी हाल डीआईजी छन् ।

आयोगका अनुसार प्रदर्शनका क्रममा सम्भावित जोखिम र आयोजकका गतिविधिको सूक्ष्म तथा वस्तुनिष्ठ मूल्यांकन गरी प्रभावकारी सुरक्षा योजना बनाउन तथा कार्यान्वयन गर्न नसकिएको देखिएको छ । त्यस्तै, जिल्ला सुरक्षा समितिबाट पारित एकीकृत विशेष सुरक्षा योजनाअनुसार आवश्यक सुरक्षा बन्दोबस्ती तथा जनशक्तिको परिचालन गर्न नसक्दा शान्ति सुव्यवस्था कायम गर्न चुनौती उत्पन्न भएको आयोगको निष्कर्ष छ ।

यही आधारमा मानव अधिकार उल्लंघन हुन नदिनुपर्ने जिम्मेवारीमा रहेका पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेको वा कर्तव्य पालनमा उदासीनता देखाएको भन्दै आयोगले उनीहरूमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

आयोगले नेपालको संविधानको धारा २४९ को उपधारा २ को (ख) बमोजिम सम्बन्धित अधिकारीसमक्ष कारबाहीको सिफारिस गरेको जनाएको छ । उक्त संवैधानिक व्यवस्थाअनुसार मानव अधिकार उल्लंघन हुनबाट रोक्ने जिम्मेवारीमा रहेका पदाधिकारीले आफ्नो जिम्मेवारी वा कर्तव्य पूरा नगरेमा सम्बन्धित निकायसमक्ष विभागीय कारबाहीका लागि सिफारिस गर्न सकिन्छ ।

ताजा खबर

सम्बन्धित खबर