
काठमाडौं : पर्वतारोही निर्मल पुर्जासँग सम्बन्धित मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर काठमाडौं जिल्ला अदालतले बिक्री तथा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का गरेको छ ।
कपनमा ग्यास तथा अक्सिजन सिलिन्डर विस्फोटबाट घरमा भएको क्षतिको क्षतिपूर्ति सम्बन्धी फैसला कार्यान्वयनका क्रममा अदालतले हेलिकोप्टर रोक्का गरेको हो । घरधनी टंक घिसिङ र दालमु कित्तर घिसिङले पाउनुपर्ने क्षतिपूर्ति नतिरेको भन्दै फैसला कार्यान्वयनको प्रक्रिया अघि बढेको उनीहरूका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए ।
घिसिङ दम्पतीले पाउनुपर्ने क्षतिपूर्ति एक करोड १४ लाख रुपैयाँ रहेको लुइँटेलले बताए । काठमाडौं जिल्ला अदालतको करिब दुई वर्षअघिको फैसला उच्च अदालत पाटनले समेत सदर गरिसकेको छ । त्यसपछि घिसिङ दम्पती फैसला कार्यान्वयनका लागि अदालत पुगेका हुन् । सम्बन्धित कम्पनी भने जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयको च.नं. कानुन/९५८, मिति २०८३/०६/१३ को पत्रमार्फत हेलिकोप्टर रोक्का रहेको जानकारी काठमाडौं जिल्ला अदालतलाई गराइएको छ ।
कपनको राममन्दिर–लसुनटारस्थित घिसिङ दम्पतीको घरमा २०७९ असोज ५ मा विस्फोट भएको थियो । घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको ‘निम्स दाइ’को कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रालिले अनधिकृत रूपमा राखेको ग्यास तथा अक्सिजन सिलिन्डर विस्फोट हुँदा घर पूर्णरूपमा क्षतिग्रस्त भएको दाबी घरधनी पक्षको छ ।
उक्त मुद्दामा इलाइट हिमालयन एडभेन्चरका सञ्चालक मिङमा ग्याबु शेर्पा अर्थात् मिङमा डेभिड शेर्पा र मिङमा तेन्जी शेर्पासमेत प्रतिवादी छन् । मिङमा ग्याबु शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ताप्लेजुङका समानुपातिक सांसदसमेत हुन् ।
घिसिङ दम्पतीको साविक कपन गाविस–५, हाल बूढानीलकण्ठ नगरपालिका–११ स्थित कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको करिब साढे दुईतले आरसीसी घर इलाइट हिमालयन एडभेन्चरले भाडामा लिएर कार्यालय सञ्चालन गरेको थियो ।
विस्फोटपछि घरधनीले क्षतिपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र बूढानीलकण्ठ नगरपालिकालगायतका निकायमा पहल गरेका थिए । पीडित पक्षका अनुसार सम्बन्धित कम्पनीले मौखिक तथा लिखित रूपमा क्षतिपूर्ति व्यहोर्ने प्रतिबद्धता जनाए पनि रकम उपलब्ध गराएको थिएन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत गृह मन्त्रालयलाई आवश्यक अनुसन्धान गरी उचित क्षतिपूर्तिका लागि पहल गर्न सिफारिस गरेको थियो । क्षतिपूर्ति नपाएपछि घिसिङ दम्पतीले कानुनी प्रक्रिया अघि बढाएका हुन् ।
यसैबीच, निर्मल पुर्जा ‘निम्स दाइ’को नामले चर्चित पर्वतारोही हुन् । उनी साउन १६ मा पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको समाचार सार्वजनिक भएको थियो । पुर्जाको मृत्युपछि सम्बन्धित हेलिकोप्टर बिक्रीमा रहेको चर्चा पनि सार्वजनिक रूपमा चलेको थियो ।