२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

भोटेकोशी बाढी : आफन्तको पर्खाइमा डंग्राहीका पाँच घर

Nada
पिन्टु यादव
२०८३ असोज २० गते २२:०३
Shares
भोटेकोशी बाढी : आफन्तको पर्खाइमा डंग्राहीका पाँच घर

राजविराज : ‘ड्युटीमा जान्छु, १२ बजे खाना खान आएपछि कुरा गरौंला ।’

ncell

भदौ १० गते बिहान श्रीमान् हेमनारायण साहले फोनमा यति भनेका थिए । रन्जु साहका लागि त्यो अरु दिनझै सामान्य कुराकानी थियो । तर १२ बजे उनले श्रीमान्लाई फोन गर्दा सम्पर्क भएन । सुरुमा मोबाइलमा समस्या भएको होला भन्ने लाग्यो । पछि रसुवामा विनाशकारी बाढी आएको खबर सुनेपछि भने उनको मनमा डर पस्यो । 

त्यसयता रन्जु श्रीमान्को खबरको प्रतीक्षामा छिन् । ३० वर्षीय हेमनारायण घरको छाना फेर्ने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर रसुवा पुगेका थिए । अपर त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा दैनिक करिब आठ सय रुपैयाँ ज्यालामा काम गर्थे ।  परिवारका एक्लो कमाउने उनी सम्पर्कविहीन भएपछि ६७ वर्षीया आमा, श्रीमती रन्जु, चार वर्षीया छोरी र डेढ वर्षीय छोरा उनको खबर पर्खिरहेका छन् । 

घर चलाउने मान्छे हराएपछि परिवारको दैनिकी पनि रोकिएजस्तै भएको छ । आम्दानीको बाटो बन्द भएको छ । बालबच्चाको भविष्यको चिन्ता छ । तर यी सबैभन्दा ठूलो पीडा हेमनारायण जीवित छन् कि छैनन् भन्ने अनिश्चितता छ । 

हेमनारायणसँगै खडक नगरपालिका–१० डंग्राहीबाट रसुवा पुगेका शिवकुमार पासवानसहित अन्य चार जनाको अवस्था पनि अज्ञात छ । १९ वर्षीय शिवकुमार एसईईपछि रोजगारीका लागि रसुवा पुगेका थिए । उनी घरको आर्थिक अवस्था सुधार्ने आशामा त्यहाँ पुगेका थिए ।

शिवकुमारका काका बद्रीनारायण पासवानका अनुसार गाउँका २५–३० जनालाई जलविद्युत् आयोजनामा कामका लागि लैजाने योजना थियो । तर योजनाअनुसार सबै जान पाएनन् । हेमनारायण र शिवकुमारसहित पाँच जना भने त्यसअघि नै रसुवा पुगेका थिए । बाढीपछि पाँचै जनासँग सम्पर्क हुन सकेको छैन । 

लामो समय बितिसक्दा पनि आधिकारिक खबर नआएपछि शिवकुमारको परिवार पनि अन्योलमा छ । बद्रीनारायण भन्छन्, ‘तिहारपछि पनि सरकारले अवस्था स्पष्ट नगरे कुशको शव बनाएर वैदिक परम्पराअनुसार अन्तिम संस्कार तथा काजकिरिया गर्ने सोचिरहेका छौं ।’ 

यो डंग्राहीका पाँच परिवारको पीडा मात्र होइन । रसुवा बाढीपछि सप्तरीका ४८ जना अझै सम्पर्कविहीन रहेको इन्सेक प्रतिनिधि नवीन यादवले बताएका छन् । खडक नगरपालिकाका मात्रै नौ जना छन् । खडक–५ रञ्जितपुरका २८ वर्षीय सन्तोषकुमार चौधरीको भने मृत्यु पुष्टि भएको छ । उनकी आमा बासमती चौधरीले पोखरास्थित गण्डकी अस्पतालबाट शव ल्याएर अन्तिम संस्कार गरिन् । सन्तोषको परिवार अहिले आर्थिक संकटमा छ । परिवारले सरकारसँग क्षतिपूर्ति र रोजगारीको माग गरेको छ ।

खडक नगरपालिकाले प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख जयप्रकाश चौधरीले बताए । उनका अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँसमेत पठाइएको छ ।

इन्सेकका अनुसार मधेस प्रदेशमा प्रारम्भिक रूपमा २०७ जना सम्पर्कविहीन भएकामा ३२ जना सम्पर्कमा आएका छन् । दुई जनाको मृत्यु पुष्टि भएको छ । अझै १७३ जना सम्पर्कविहीन छन् । सप्तरीका ४८, पर्साका ४२, बाराका २३, सर्लाहीका २१, रौतहटका १२, सिरहा र महोत्तरीका १०–१० तथा धनुषाका सात जना सम्पर्कविहीन छन् । 

तर तथ्यांकभन्दा बाहिर प्रत्येक परिवारको आफ्नै व्यथा छ । कसैलाई हराएको आफन्तको खबर चाहिएको छ, कसैलाई शवको प्रतीक्षा छ । कसैका लागि घर चलाउने हात रोकिएको छ, कसैका लागि बालबच्चाको भविष्य अन्योलमा परेको छ । डंग्राहीका पाँच परिवारको प्रतीक्षा पनि त्यही अनिश्चिततामा अडिएको छ । रन्जुको कानमा भने हेमनारायणको त्यो अन्तिम आवाज अझै ताजा छ– ‘१२ बजे खाना खान आएपछि फेरि कुरा गर्छु ।’

त्यो बाचा पूरा भएन् , त्यो फोन आएन । तर रन्जु भने हेमनारायणको खबरको प्रतीक्षामा छिन् । 

सम्बन्धित खबर