
काठमाडौं : जुम्लाको तिला गाउँपालिका–२ का सन्तोष बोहराको जीवन अहिले अन्धकारमा छ । दुईवटै आँखाको ज्योति गुमाएका उनी सामान्य हिँडडुल गर्न पनि अरूको सहारा लिनुपर्छ । एक समय वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने तयारीमा रहेका उनी अहिले परिवारको सहारामा दिन बिताइरहेका छन् ।
२४ भदौ २०८२ मा उनको जीवनमा यस्तो मोड आयो, जसले सबै सपना बदलिदियो । देशमा सुशासन र परिवर्तनको माग गर्दै भएको जेनजी आन्दोलनमा सहभागी भएका सन्तोष प्रदर्शनका क्रममा भएको झडपमा गोली लागेर घाइते भए । घटनास्थलमै ढलेका उनको टाउकोमा पनि गहिरो चोट लाग्यो । त्यस दिन देशको सत्ता परिवर्तन भयो, तर सन्तोषको जीवनमा भने कहिल्यै नमेटिने अन्धकार छायो ।
गोली लागेको एक वर्ष तीन महिना पुग्न लाग्दा पनि उनको दृष्टि फर्किएको छैन । करिब तीन महिना त्रिवि शिक्षण अस्पतालको न्युरो सर्जरी वार्डको ४१२ नम्बर बेडमा बिताए । तर, उपचारले आँखाको ज्योति फर्काउन सकेन ।
आन्दोलनमा सहभागी भएकोमा अहिले उनलाई पश्चात्ताप छ । राजनीति र नेताहरूप्रति वितृष्णा भएर परिवर्तनको आशामा आन्दोलनमा होमिएका उनी अहिले आफैंदेखि दिक्क छन् । आन्दोलनपछि देशमा के परिवर्तन भयो भन्ने कुरा उनी आफ्नै आँखाले देख्न सक्दैनन् ।
‘एउटा आँखा त गोली लाग्दा नै गुमिसकेको थियो, अर्को आँखामा पनि असर प¥यो,’ उनकी श्रीमती निर्मला खड्का भन्छिन्, ‘दुवै आँखा गुम्यो, यही कुरामा दुःख छ ।’
सन्तोषको जीवनमा अर्को ठुलो चोट अधुरो सपना हो । उनी वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने तयारीमा थिए । दसैंअघि नै विदेश उड्ने योजना थियो । सबै कुरा ठिक भएको भए अहिले उनी क्रोएसियामा हुन्थे । तर, आन्दोलनमा घाइते भएपछि विदेश जाने सपना रोकियो । अहिले उनी श्रीमती र परिवारको सहारामा छन् ।
सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक १८ हजार रुपैयाँ राहत दिँदै आएको निर्मला बताउँछिन् । तर, आर्थिक सहायता पाए पनि श्रीमान्को पुरानै अवस्था फर्काउन नसकेको पीडा उनलाई छ । श्रीमान्को हेरचाहमै उनको अधिकांश समय बित्छ । ‘मनै नपर्ने राजनीति हो । केके न होला भनेर जेनजी आन्दोलन, त्यो पनि राजनीति नै रहेछ,’ उनी भन्छिन् ।
सन्तोषको पीडा आन्दोलनका घाइतेको अवस्थाको एउटा प्रतिनिधि चित्र हो । आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार, मासिक भत्ता र पुनस्र्थापनाका कार्यक्रम घोषणा गरिएका छन् । तर, राहत पाउँदैमा घाइतेको जीवन सहज भएको छैन । कतिपय अझै उपचाररत छन् भने केहीले औषधि, उपचार खर्च र दैनिक गुजारा चलाउन आर्थिक कठिनाइ भोगिरहेका छन् ।
सरकारी तथ्यांकअनुसार गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा घाइते भएका २ हजार ५७१ जनाले अस्पतालमा उपचार पाएका थिए ।
सरकारले घाइतेको उपचार र राहतका लागि परिचयपत्र वितरण तथा आर्थिक सहायता कार्यक्रम अघि बढाएको छ । तर, उनीहरूलाई दीर्घकालीन रूपमा काममा फर्काउने, आयआर्जनको अवसर उपलब्ध गराउने र शारीरिक तथा मानसिक पुनस्र्थापना गर्ने चुनौती अझै बाँकी छ । अंगभंग भएका र लामो समय काम गर्न नसक्ने घाइतेका लागि राहतसँगै दिगो सहयोग आवश्यक छ ।
जेनजी आन्दोलनपछि देशको राजनीतिमा ठुलो फेरबदल आयो । जननिर्वाचित सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र संसद् विघटन गरियो । आन्दोलनले उठाएका माग र त्यसपछिको राजनीतिक परिवर्तनको चर्चा भइरहँदा घाइतेहरूको जीवन भने अझै सहज बन्न सकेको छैन ।
उपचार खर्च सरकारले व्यहोर्ने
स्वास्थ्यमन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
मन्त्री मेहताका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार प्रचलित कानुनी व्यवस्थाबमोजिम भइरहेको छ । उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत आवश्यक भुक्तानी तथा शोधभर्नाको प्रक्रिया अघि बढाइने उनले बताएकी छन् । आर्थिक अभावका कारण कुनै पनि घाइते आवश्यक उपचारबाट वञ्चित हुन नपर्ने उनको भनाइ छ ।
थप उपचारका लागि भारत पठाउनुपर्ने केही घाइतेको व्यवस्थापनका लागि पनि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएकी छन् । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । घाइतेको उपचार र शीघ्र स्वास्थ्यलाभ सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उनले आवश्यक उपचार, सहयोग र समन्वयमा कमी हुन नदिने प्रतिबद्धता जनाएकी छन् ।
तर, सन्तोषजस्ता घाइतेका लागि उपचार खर्चको व्यवस्था मात्र पर्याप्त छैन । गुमेको दृष्टि, रोकिएको रोजगारी र बदलिएको जीवनलाई फेरि सहज बनाउने पुनःस्थापनाको आवश्यकता छ । देशमा आएको राजनीतिक परिवर्तनको मूल्य चुकाएका उनीहरूको जीवनमा पनि परिवर्तनको अनुभूति गराउनु राज्यको जिम्मेवारी हो ।